भ्रामक प्रचारबाजीबाट ‘मातृभूमिका लागि नेपाली’ आश्चर्यचकित !

भ्रामक प्रचारबाजीबाट ‘मातृभूमिका लागि नेपाली’ आश्चर्यचकित !



‘मातृभूमिका लागि नेपाली’ले विवेकशील साझा नामक पार्टीद्वारा गरिएको भ्रामक प्रचारबाजीबाट संगठन आश्चर्यचकित भएको जनाएको छ । केही महिनाअघि नै सङ्गठनबाट हटाइएका व्यक्तिहरूको नाम जोडेर विवेकशील साझाले ‘मातृभूमिका लागि नेपालीका नेताहरू आफ्नो पार्टीमा प्रवेश गरेका’ भन्दै वक्तव्य जारी गरेपछि सङ्गठनका महासचिव गणेश बन्जाराले प्रेस वक्तव्य मार्फत् यथार्थ स्पष्ट पारेका हुन् ।

मातृभूमिका लागि नेपाली संगठन स्वधर्म संस्कृतिको रक्षा राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, शान्ति र समृद्धिका निमित्त स्थापित नागरिकहरूको संगठन रहेको जनाउँदै बन्जाराद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘यो संगठन राजनैतिक दल नभएको सबैमा स्पष्ट नै छ । हाम्रा मूल्य-मान्यता र प्रतिबद्धताप्रति इमानदार नरहने मानिस संगठनमा रहन नसक्ने पनि स्पष्ट नै छ ।’

‘कुनै समय यस संगठनमा जोडिएका तर गम्भीर प्रकृतिका नकारात्मक गतिविधिमा सरिक रहेको पाइएपछि गत भाद्र महिनामै संगठनबाट हटाइएका पूर्व सह-संयोजक (पर्वत), पूर्व महासचिव (पाल्पा), पूर्व युवा विभाग प्रमुख (रामेछाप) लगायतका व्यक्तिहरूलाई यस संगठनको सदस्यका रूपमा प्रचार गरिनुलाई हामीले हास्यास्पद ठानेका छौँ । मातृभूमिका लागि नेपाली संगठनको उपाध्यक्षमा टुंगराज पाठक, महासचिवमा गणेश बन्जारा र युवा विभाग प्रमुखमा नमराज भण्डारीले कुशलतापूर्वक गत भाद्रदेखि आफ्नो जिम्मेवारी निर्वाह गर्दै आउनुभएको ब्यहोरा स्पष्ट गर्दछौँ ।’