पोल्याण्ड-बेलारुसको सीमाक्षेत्र र फ्रान्समा पनि भेटियो ओमिक्रोन

पोल्याण्ड-बेलारुसको सीमाक्षेत्र र फ्रान्समा पनि भेटियो ओमिक्रोन



दक्षिण अफ्रिकाका राष्ट्रपतिद्वारा प्रतिबन्ध हटाउन आग्रह

पोल्याण्ड र बेलारुसको सिमा क्षेत्र तथा फ्रान्समा पनि कोरोना भाइरसको नयाँ संस्करण ओमिक्रोनबाट सङ्क्रमित भेटिएका छन् । फ्रान्सका स्वास्थ्य मन्त्रीले आइतबार राती ओमिक्रोनबाट सङ्क्रमित शंकास्पद बिरामी भेटिएको जानकारी दिएका छन् ।

पछिल्लो १४ दिनमा अफ्रिकाबाट आएकाहरुमा परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको उहाँको भनाइ छ । सङ्क्रमित भएकामध्ये ८ जनामा कोरोनाभाइरसको नयाँ सङ्क्रमण ओमिक्रोन नै हुन सक्ने उनले बताएका सिन्ह्वाले जनाएको छ ।

त्यसैगरी पोल्याण्ड र बेलारुसको सीमा क्षेत्रमा रहेको आप्रवासी शिविरमा पनि कम्तीमा दुई जनामा कोरोनाभाइरसको नयाँ संस्करण देखिएको छ ।बेलारुसको ग्रोड्नो क्षेत्रका गभर्नर भ्लादिमिर कारानिकले आफ्नो देशमा पनि ओमिक्रोन भेटिएको पुष्टि गरेका छन् । “हाम्रो स्वास्थ्य प्रयोगशालाले पनि उनीहरुमा ओमिक्रोन भेटिएको पुष्टि गरेको छ, उनीहरुको थप उपचार भइरहेको छ, थप फैलिन नदिनका लागि हामीले उच्च सतर्कता अपनाउनु पर्नेछ” उनको भनाइ छ ।

युरोपेली मुलुक प्रवेश गर्नका लागि हजारौ शरणार्थीहरु पोल्याण्ड र बेलारुसको सीमा क्षेत्रमा शरणार्थीको रुपमा बसेका छन् । उनीहरुका कारण अरुलाई पनि कोरोनाभाइरसको महामारी फैलिन सक्ने खतरा रहेको भन्दै अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

उता दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आफ्नो देशमा प्रतिबन्ध लगाउने देशहरुलाई तत्काल बन्द गर्न आह्वान गरेका छन् । रामाफोसाले यात्रा प्रतिबन्धको कदमलाई अनुचित भन्दै तत्काल हटाउन आह्वान गरेका हुन् । यस प्रतिबन्धको कारण आफू गहिरो रूपमा निराश भएको समेत उनले बताएको एएफीले जनाएको छ ।

कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण विश्वभरका थुप्रै देशहरुले दक्षिण अफ्रिका र उसका छिमेकीविरुद्ध यात्रा प्रतिबन्ध लगाएका छन् । दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाउनेमा अमेरिका, बेलायत , युरोपेली संघलगायत अन्य देशहरू रहेका छन् । दक्षिण अफ्रिकाको धेरै जनसंख्या रहेको खाउतेङ प्रान्तमा विगत दुई सातामा यो भेरिएन्ट धेरै देखिएको थियो र अहिले अन्य प्रान्तमा पनि देखिएको छ ।

डब्लुएचओले देशहरूले हतारमा यात्रा प्रतिबन्ध लगाएको बारे सचेत गराउँदै ती देशहरूले निर्णय गर्दा ‘जोखिम र वैज्ञानिक आधार’ हेर्नुपर्ने बताएको छ । यद्यपि, यो नयाँ भेरिएन्टबारे चिन्ता बढिरहँदा हालैका दिनमा थुप्रै प्रतिबन्धहरू लगाइएका छन् । आइतबार रामाफोसाले गरेको एक भाषणमा यात्रा प्रतिबन्ध लगाउँदा कुनै वैज्ञानिक आधारमा नलगाइएको र दक्षिण अफ्रिका अनुचित विभेदको पीडित भएको उल्लेख गरेका छन् । नयाँ भेरिएन्टको फैलावट रोक्नका लागि प्रतिबन्धहरु प्रभावकारी नहुने उनको तर्क रहेको छ ।

यात्रामा लगाइने रोकले गर्ने एउटा मात्रै काम भनेको प्रभावित देशको अर्थतन्त्रलाई थप खराब पार्ने मात्र हो र महामारीविरुद्ध प्रतिक्रिया जनाउने क्षमतालाई कमजोर पार्ने मात्रै हो भन्ने उनको धारणा छ ।