‘भारतपरस्त गठबन्धन’का अश्लील तमासाहरू !

‘भारतपरस्त गठबन्धन’का अश्लील तमासाहरू !


रामदेव अहिले प्रचण्डका महान् ‘क्रान्तिकारी’ गुरु बनेका छन् । वास्तवमा यो त्यति उदेकलाग्दो कुरा होइन किनभने यी दुवैजना व्यक्तिगत फाइदाको लागि जे पनि गर्न सक्ने र मानवजीवनको मूल्यप्रति कहिल्यै संवेदनशील नहुने ब्यक्ति हुन् ।

  • डा. श्याम उपाध्याय, भियना

आजकल बाटोमा भेटिएका कोही पनि सर्वसाधारण नेपालीलाई वि.स. २०७७ जेठ ३१ गतेको दिन नेपालको इतिहासमा किन उल्लेखनीय छ भनेर सोध्नुभयो भने शायदै जवाफ पाउन सक्नुहुन्छ । अब त संसदभित्र सोधे पनि यो प्रश्नको जवाफ पाउन मुस्किल भइसकेको छ । कतिले यो बिर्से र कतिले यसलाई बिर्साउनु नै आफ्नो ‘राजनीति’ र ‘लाजनीति’को मुख्य ध्येय ठाने र त्यही दिशामा सम्पूर्ण शक्ति लगाए ।

स्मरण रहोस्, त्यसदिन कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको नेपालको नयाँ नक्सा निशानछापमा राख्ने गरी संविधान संशोधन गर्न पेश गरिएको विधेयकलाई प्रतिनिधिसभाले एक मतले अनुमोदन गरेको थियो । पहिले संविधानकै विरोधमा मतदान गरेकाहरूले पनि उक्त संशोधन विधेयकको पक्षमा मतदान गरेका थिए । त्यस दिन नेपाली राजनीतिमा राष्ट्रिय सवालमा सबै शक्तिहरू एक हुन सक्छन् भन्ने आशलाग्दो दृश्य प्रदर्शन भयो । तत्कालिन प्रधानमन्त्री केपी ओलीले नेपालविरुद्ध भएको भारतीय नाकाबन्दीकालमा जुन राष्ट्रवादी छबी बनाएका थिए , त्यसलाई मूर्त रूप दिँदै अनुमोदित नयाँ नक्सामार्फत नेपाल आफ्ना ठूला छिमेकीहरूसँग एउटै उचाइमा रहेर आपसी समस्या समाधान गर्न दृढ छ भन्ने सन्देश प्रवाह गरेका थिए । लिपुलेक मामिला भारत र चीनले नेपाललाई अलग राखेर व्यापार-मार्ग बनाउन गरेको द्विपक्षीय सहमतिको विषयसँग जोडिएकोले प्रतिनिधिसभाको उक्त निर्णयले चीनलाई पनि के स्पष्ट सन्देश दिएको थियो भने लिपुलेकमा कुनै पनि बाह्य हस्तक्षेप नेपाललाई ग्राह्य हुने छैन । तर, जे कुराको लागि त्यस दिन नेपाली जनताले अभूतपूर्व एकता प्रदर्शनका साथ दीपावली गरे त्यसैबाट त्रसित भएर केपी ओलीका प्रतिद्वन्द्वीहरूले एक ठूलो षडयन्त्रको बिजारोपण गरे, जसको परिणाम आज समस्त जनतासामु छर्लङ्ग देखिएको छ ।

विधेयक पारित भएको एक महिना पनि नपुग्दै अर्थात् २०२० जुलाई ९ तारिख तदनुसार २०७७ असार २५ गतेको अङ्कमा भारतीय समाचार पत्र ‘टाइम्स अफ इण्डिया’मा तत्कालिन नेकपाका प्रचण्ड, माधव नेपाल र झलनाथ खनालको हवाला दिँदै नयाँ नक्सा अनुमोदन गराउने ओलीको कदमलाई ओलीइतर नेताहरूले ‘राजनीतिक रूपले गलत र कुटनीतिक रुपले अनुपयुक्त’ ठहर गरेको भन्ने समाचार प्रकाशित भयो । देशभित्र नेकपाका पञ्चभलादमी (प्रचण्ड, माधव, झलनाथ, नारायणकाजी र वामदेव) ले ओलीको तत्काल राजीनामाको माग गरे र सो मागमा खुलाइएका कारणहरूमध्ये एक ‘ओलीले नेपालको नयाँ नक्सा प्रकाशित गरेर अनुचित जश लिने प्रयास गरेको’ भन्ने थियो र, त्यो भाषा टाइम्स अफ इण्डियामा प्रकाशित समाचारभन्दा भिन्न थिएन । ओलीविरुद्ध भारतीय सञ्चारमाध्यमद्वारा गरिएका अतिरञ्जित प्रचारको प्रतिकारमा नेपालकै स्याटेलाइट टिभी सञ्चालकहरू पनि उत्रन बाध्य भएका थिए र उनीहरूले दूरदर्शन बाहेक सबै समाचार च्यानलहरू बन्द गरेका थिए । भारतले पुनः आर्थिक नाकावन्दी लगाउन सक्ने संभावनाको अड्कल काटियो, तर २०७२ सालमा ओली नै प्रधानमन्त्री हुँदा नेपालीहरूले गरेको कडा प्रतिवाद सम्झेर भारतीय पक्षले त्यो दुस्साहस गर्न सकेन । जुनकुरो भारतीय राजनीतिको शक्तिशाली संस्थापन पक्षले गर्ने आँट गरेको थिएन, सोही कुरा प्रचण्ड-माधव गुटले देशभित्रैबाट गरिदिए । नेपालस्थित पूर्व भारतीय राजदूतहरू र भारतीय संस्थापनका वैचारिक गुरु एस.डी. मुनी आदिका नेपालविरोधी लेख र रचनाहरूको शृङ्लावद्ध प्रकाशन सुरु भयो । बाबुराम भट्टराइले भारतलाई नेपालमा हस्तक्षेप गर्न आमन्त्रण गरेर अङ्ग्रेजीमा लेखेका ट्वीटहरू निरन्तर प्रकाशित हुन थाले । नेकपाका ‘पञ्च भलादमीहरू’ उत्तेजित हुन थाले र उनको पक्षमा सिर्जित यस नयाँ वातावरणबाट हौसिएर आफैले दिने गरेका राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको नारालाई सत्ताप्राप्ति र व्यक्तिगत महत्वाकाङ्क्षासँग सट्टापट्टा गरे । संसद्को पहिलो पुनःस्थापनाको आदेश आएको समाचार माधव नेपालले तुरुन्तै दिल्लीलाई सुनाएको दृश्य पत्रकारहरूको क्यामेरामा पऱ्यो । पहिलो प्रहारबाट ओली ढलेनन् । त्यसपछि दोस्रो र तेस्रो प्रहारमा अदालत र माफिया वकिलहरूको गठबन्धनले भूमिका खेल्न थाल्यो र षडयन्त्रकारीहरू सफल भए । यी सबै सर्वविदितै तथ्य हुन् र यसको सविस्तार वर्णन आवश्यक छैन ।

सुग्रिब र उनका बाँदर जस्तै गठबन्धनका पात्रहरूले के कुराको आँकलन गर्न सकेका छैनन् भने एक दिन क्रोधले उन्मत्त लक्ष्मण प्रकट हुनेछन् र यी बाँदरहरू वास्तवमा कुन कामको लागि खटिने हुन् भनेर तिनको असली ठेगाना बताइदिने छन् ।

हाल नयाँ अवस्था छ । केपी ओलीलाई अपदस्थ गरेर सर्वोच्च अदालतको हाल विस्तारै खुल्दै गएको रहस्यमय परमादेशद्वारा प्रचण्डको पूर्व घोषणाअनुसार बनेको ‘भारतको लागि कम्फर्टेबल’ सरकार सत्तासीन भइसकेको छ । पहिला नेकपा र पछि एमालेबाट ओलीलाई पदच्युत गर्ने सबै प्रयास असफल भएपछि माधव नेपाल आफ्नै पार्टीको सरकार ढालेर गठबन्धनमा सामेल भएका छन् । झण्डै तीन महिना लगाएर मन्त्रिपरिषद् विस्तार पनि पूरा भएको छ । अहिले गठबन्धनका पात्रहरू ‘बालिबध’पछि रमाइरहेका सुग्रिब सेनाका बाँदरजस्ता देखिएका छन् । सुग्रिबलाई जस्तै यिनलाई पनि कुन कुराको स्पष्ट ज्ञान छ भने उनीहरू आफैसँग बालिलाई हराउने सामर्थ्य थिएन । उनले यो सत्ता काकतालीमा पाएका हुन् । त्यसरी नै सुग्रिब र उनका बाँदर जस्तै गठबन्धनका पात्रहरूले के कुराको आँकलन गर्न सकेका छैनन् भने एक दिन क्रोधले उन्मत्त लक्ष्मण प्रकट हुनेछन् र यी बाँदरहरू वास्तवमा कुन कामको लागि खटिने हुन् भनेर तिनको असली ठेगाना बताइदिने छन् । तर त्यो नहुँदासम्म किष्किन्धामा जस्तै खुमलटार दरबार र सेरोफेरोमा प्रचण्ड तथा उनका भक्तहरूको क्रिडा चलिरहनेछ । यो क्रिडाको लागि पौराणिक किष्किन्धाकै नजिक पर्ने ठाउँबाट एक जना रामदेव नाम गरेका चटके झिकाइएका छन् । यी चटकेसँग प्रचण्डको क्रिडा अश्लील हुँदै गएको छ । यो भन्दा पनि बढी चिन्ताको विषय के छ भने यस क्रिडामा देशकै बहालवाला प्रधानमन्त्रीसमेत सहभागी भएका छन् र उनले प्रचलित कानुनको उल्लंघन गर्ने गरी रामदेवलाई दिइने विशेष सहुलियतसम्बन्धी निर्णयहरू सुनाएका छन् ।

को हुन् रामदेव ? रामदेव एक धुर्त व्यापारी हुन् र उनी आफ्नो उत्पादनको औषधी बिक्री गर्ने उद्देश्यले चिकित्सा विज्ञानविरुद्ध अनर्गल प्रचार गर्दै हिँड्छन् । भारतमा कोरोना महामारी खतरनाक अवस्थामा पुगेको बेला उनले आधुनिक औषधी प्रयोग गरेको कारणले नै कोरोनाबाट हजारौँ मानिसको मृत्यु भएको भ्रामक दाबी गरे र अक्सिजन हावामा निःशुल्क उपलब्ध भएकोले सिलिण्डरको अक्सिजन वहिष्कार गर्न आव्हान गरे । रामदेवको यस्तो निराधार प्रचारको भारतीय मेडिकल एसोसिएसनले ‘जनमानसप्रति असंवेदनशील र गैर-जिम्मेवारीपूर्ण कार्य’ भनेर भत्सर्ना गऱ्यो । त्यसपछि रामदेवले उनको पतञ्जली आयुर्वेदले उत्पादन गरेको कोरोनिल नामक औषधी कोरोनाविरुद्धको उपचारको लागि विश्व स्वास्थ्य संघबाट प्रमाणित भएको भनेर झूटो प्रचार गरे । विश्व स्वास्थ्य संघले सो दाबीको तत्कालै खण्डन गऱ्यो र उक्त संस्थाले कोरोनाविरुद्ध उपचारको लागि कुनै पनि परम्परागत औषधी प्रमाणित नगरेको भनेर विज्ञप्ति जारी गऱ्यो । भारत सरकारले त्यसअघि नै कोरोनिलले कोरोना निको पार्छ भन्ने रामदेवको दाबीलाई अस्वीकार गरेर उक्त औषधीको प्रचारप्रसार रोकिदिएको थियो । भारतका अस्पतालहरूमा लाखौँ मानिस जीवन र मरणको सङ्घर्षमा रहेको बेला रामदेव यस्तो असंवेदनशील र अमानवीय कार्यमा लागेकाले भारतीय युवा र चिकित्सकहरूले सामाजिक संजालमा उनको कडा प्रतिवाद गरे । अहिले पनि ट्वीटर खाता #ArrestRamdev #India_Against_Ramdev चालु अवस्थामा छ र, कोही पनि इच्छुकले ती खातामा राखिएका टिप्पणी या प्रतिक्रियाहरू पढ्न सक्छन् । यिनै रामदेव अहिले प्रचण्डका महान् ‘क्रान्तिकारी’ गुरु बनेका छन् । वास्तवमा यो त्यति उदेकलाग्दो कुरा होइन किनभने यी दुवैजना व्यक्तिगत फाइदाको लागि जे पनि गर्न सक्ने र मानवजीवनको मूल्यप्रति कहिल्यै संवेदनशील नहुने ब्यक्ति हुन् ।

यस्ता गलत कामका बाबजुद भारतमा रामदेवको व्यवसायिक साम्राज्यको विस्तार कसरी सम्भव भयो त ? ‘घुमीफिरी रुम्जाटार’ भनेजस्तै यो हुनुको कारण फेरि राजनीति नै हो । रामदेव नरेन्द्र मोदीका अनुयायी हुन् र उनी मोदीकै एजेण्डा बोकेर ‘हिन्दूत्व’को प्रचारको लागि नेपाल आएका हुन् । यो कुरा ‘कम्फर्टेबल सरकार’लाई राम्रोसँग थाहा छ । त्यसैकारण गठबन्धनका बहालवाला र पूर्व गरी तीन-तीन जना प्रधानमन्त्री मालिकको सेवामा हाजिर भएका हुन् र गुरुदक्षिणाको रूपमा भूमिदानको घोषणा गरेका हुन् । अन्यथा यस्ता गेरु बस्त्रधारी जोगीहरू शिवरात्रीको समयमा पशुपतिनाथको परिसरमा बाहेक अन्यत्र देखिँदैनथे । जोगीद्वारा प्रदान गरिने विषाक्त मनोरञ्जन र अश्लील तमासाहरूको प्रदर्शनको लागि, जसको विरोधमा स्वयम् भारतीयहरू उत्रिएका छन्, नेपालको प्रचलित कानुनको बर्खिलाप गर्दै प्रधानमन्त्रीले टिभी स्टेशनको उद्घाटन समेत गरिदिएका छन् ।

बाहिर रंगमंचमा प्रस्तुत क्रिडासँगै गठबन्धनले लिपुलेक-लिम्पियाधुराको सवाललाई काम्लोमुनि घुसार्ने प्रयास गरिरहेको छ । यसको जिम्मा परराष्ट्रमन्त्री नारायण खड्कालाई दिइएको जस्तो देखिन्छ । पहिले, उनले भारतअधीनस्थ नेपाली भू-भागमा जनगणना हुन नसक्ने भनेर अत्यन्त विवादास्पद वक्तब्य जारी गरे जुन उनको प्राविधिक ज्ञान र प्रशासनिक नियन्त्रणभन्दा बाहिरको कुरा हो । केन्द्रीय तथ्यांक विभागले जनगणनामा कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिने भनेर पहिल्यै नै घोषणा गरिसकेको थियो । गणना कार्य एक नितान्त प्राविधिक विषय भएको र तथ्यांक विभाग पराराष्ट्र मन्त्रालयअन्तर्गत नपर्ने भएकोले उनीबाट यस्तो अवाञ्छित वक्तव्य गठबन्धनको राजनीतिक दबाबमा परेर आएको जस्तो लाग्छ । दोस्रो पटक, उनले नेपाल सरकारसँग सन् १८१६ को सुगौली सन्धि र सन् १९५० को नेपाल-भारत मैत्री-सन्धिका सक्कल प्रति नै छैनन् भनेर अधीनस्थ भू-भागप्रति नेपालको दाबीबाट अलग हुने प्रयास गरे । यी सन्धी र अन्य प्रमाणहरूको खोजी गरिने प्रतिबद्धतासम्म जाहेर गर्न पनि उनी हिच्किचाए । वास्तवमा ‘कम्फर्टेबल’ सरकारले नेपाली भू-भाग फिर्ता गर्नेतर्फ कुनै सक्रियता देखाउन नसक्ने कुरा त उसको गठन र सहभागी घटकहरूको पृष्ठपोषण कताबाट भइरहेको छ भन्ने कुराबाट नै थाहा थियो । गठबन्धनको साझा कार्यक्रममा नेपालको भौगोलिक अखण्डता जस्तो समवेदनशील सवाललाई केवल ‘सीमा समस्या’को रूपमा अवमुल्यन गरिसकिएको छ ।

प्रचण्डले अनित्य र आकस्मिक रूपमा प्रयोग गरेका शब्दहरू पशुपतिका बाँदरले भिन्दाभिन्दै यात्रुहरूलाई हानेका रुद्राक्षका दाना जस्तै लाग्छन् । सबै जम्मा गर्ने हो भने ती दाना कसैबाट चोरिएको एउटै मालाबाट चुँडालिएको रहेछ भन्ने थाहा हुन्छ । उनले भन्ने गरेका शब्दहरू ‘कम्फरटेबल सरकार’, ‘क्रान्तिकारी रामदेव’, ‘आत्महत्या गर्ने अभिलाषा’ आदिको केही अर्थ लाग्दैछ र पूरा अर्थ खुलाउन उनीबाट अझै केही थप शब्द आउने अपेक्षा गर्न सकिन्छ । अहिलेलाई उनी किष्किन्धा दरबारको जस्तै एक चटकमा व्यस्त छन् जहाँ उनका प्रियपात्र रामदेव मुरली बजाउँदै छन् । तर रात धेरै ढलिसकेको छ र चाँडै हुने सूर्योदयले उनको नाटकको पटाक्षेप र विसर्जन दुवै गरिदिनेछ ।

नोभेम्बर २४, २०२१