उत्तरी पेरूमा ७.५ रेक्टर स्केलको भूकम्प

उत्तरी पेरूमा ७.५ रेक्टर स्केलको भूकम्प


पेरूमा ७.५ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समयअनुसार आइतबार बिहान ५ः५२ बजे गएको उक्त भूकम्पको धक्का पेरूको उत्तरी र मध्य क्षेत्र र छिमेकी मुलुकहरूमा समेत महसुस गरिएको थियो ।

पेरूको भौगर्भिक अध्ययन संस्थाका अनुसार भूकम्प १३१ किलोमिटर (८१ माइल) गहिराइमा गएको थियो ।

यस भूकम्पको केन्द्रविन्दू पेरूको अमेजनमा ‘सान्ता मारिया डे निवा’ सहरबाट ९८ किलोमिटर पूर्वमा रहेको बताइएको छ । यो पेरूको थोरै जनसङ्ख्या भएको क्षेत्र हो जहाँ अमेजन आदिवासीहरू बसोबास गर्छन् ।

यस गहिरो भूकम्पले तटीय तथा एन्डियन क्षेत्रहरू र राजधानी लिमालगायत देशको झन्डै आधा भागलाई प्रभावित पारेको एएफपीले जनाएको छ ।

पेरूको नागरिक रक्षा मामिला हेर्ने ‘नेसनल इन्स्टिच्यूट अफ सिभिल डिफेन्स’ले अहिलेसम्म कुनै क्षति भएको जानकारी आइनसकेको आफ्नो पहिलोे रिपोर्टमा उल्लेख गरेको छ ।

संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणले केही सम्भाव्य घाइते तथा क्षति हुने पूर्वानुमान गरे पनि ठूलो क्षति भने नभएको जनाएको छ ।

समाचारमा जनाइएअनुसार भूकम्पको केन्द्रविन्दू रहेको स्थानबाट करिब एक हजार किलोमिटरभन्दा बढी दक्षिणमा पर्ने लिमामा यो कम्पन कम तीव्रताका साथ महसुस गरिएको थियो । यद्यपि लिमामा पनि केही मानिसहरू सडकमा निस्किएका थिए ।

१० लाख जनसङ्ख्या भएको पेरूको राजधानीमा यसअघि केही घण्टा पहिले पनि ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो ।

ज्ञातव्य छ, पेरू प्रत्येक वर्ष कम्तीमा पनि ४०० ग्रहणशील भूकम्पले हल्लिन्छ, किनकी यो ‘प्यासिफिक रिङ अफ फायर’मा अवस्थित छ । यो व्यापक भूकम्प जाने क्षेत्र हो जुन अमेरिकी महाद्वीपको पश्चिमी तटमा फैलिएको छ । भूकम्पपछि सुनामीको कुनै सम्भावित चेतावनी जारी गरिएको छैन ।