एक पटक भनिहाल न भरिया दाइ !

एक पटक भनिहाल न भरिया दाइ !


  • गणेशराज वस्ती

भारी बोक्ने दाइ
हिँड्नुहोस् रमाइ-रमाइ !
उकालोमा आफ्नै कपाल समाइ
ओह्रालोमा खुट्टा कमाइ-कमाइ !
तिम्रो जिन्दगी
न बन्धकी न त राजीनामा !
त्यसैले त-
पातिघारी सरी छ यहाँ
कतिलाई भएको छ यो लुक्ने ठाउँ
कतिलाई त यो बिष्ट्याउने ठाउँ
तिम्रो त यही होला है
नेप्किन चेप्किन पेपर ?
वा, पेपर टावेल !
ती लुर्का कपाल
भए होलान् उकालोका सहारा !
कमजोरीले कमाएर थरर्र खुट्टा,
हिँड्नु छ ओरालो वा पहरा
रङ्गीचङ्गी जीवनमा,
तिमीले कुनै रङ्ग भरेकै छौ !
हाम्रा लागि कमाल गरेकै छौ !
तिमी,
कति सुखी छौ वा दुःखी ?
बुझौँ म कसोरी ?
तिम्रो तिघ्राले
मलाई के भन्छ ?
तिमीलाई थाहा छ ?
तिम्रो लुर्का कपालले
हावासँग साउती मार्दा !
तिम्रो पसिना,
शिर हुँदै पाउ झर्दा !
म,
कता-कता निसासिन्छु !
म किन यस्तो भएँ ?
तिमीलाई चिन्न सकेँ त मैले ?
तिमीलाई बुझ्न सकेँ त मैले ?
आज तिमीले सोचेको कुरा
पत्ता लगाएँ त मैले ?
तिम्रो खुशीलाई नाप्न सकेँ त मैले ?
तिम्रो दुःखलाई देख्न सकेँ त मैले ?
म जति खुशी छु
त्यही नापो तिमीलाई राखेँ कि मैले ?
यौटै बाटोमा म र भरिया दाइ !
यौटै पाटोमा हामी दुई भाइ !
के हिँडेका छौँ त उस्तै सोची ?
उस्तै रमाएर ?
एक पटक भनिहाल न भरिया दाइ !