दशौँ महाधिवेशनको मञ्चबाट प्रचण्डलाई केपीको सुझाव- ‘पावर देखाउनुस् प्रचण्ड !’

दशौँ महाधिवेशनको मञ्चबाट प्रचण्डलाई केपीको सुझाव- ‘पावर देखाउनुस् प्रचण्ड !’



देश बनाउन एमालेको एकल बहुमत आवश्यक रहेको जिकिर

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणका लागि एमालेले बहुमत ल्याउने गरी जनताका बीचमा जाने बताएका छन् । चितवनको नारायणी नदी किनारमा आयोजित एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा उनले आफ्नो नेतृत्वको सरकारले ताजा निर्वाचनमा जान गरेको प्रस्तावलाई त्यसबेला अन्य दलले स्वीकार नगरे पनि अब चाँडै मुलुक निर्वाचनमा जाने भएकाले त्यसको तयारी गर्दै एमालेले बहुमत ल्याउने गरी जनताका बीचमा जाने बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले देशमा समृद्धि, सार्वभौमिकता, लोकतन्त्र र संविधानको रक्षाका लागि एमालेको एकल बहुमत आवश्यक रहेको जिकिर गर्दै देशलाई मिलेर अघि बढाउन एमालेमा सामेल भएर आउन अन्य दलमा रहेका नेता कार्यकर्तालाई आग्रह गरे । ‘एमालेले आउँदो फागुनसम्म देशभर पार्टी प्रवेशका व्यापक कार्यक्रम आयोजना गर्नेछ, एमाले गफ गर्ने पार्टी होइन, देश र जनताका लागि काम गर्ने पार्टी हो’, ओलीको कथन थियो ।

अध्यक्ष ओलीले महाधिवेशनपछि आफ्नो पार्टीले माओवादीका पूर्वलडाकुहरूको व्यवस्थापन गर्ने दाबीसमेत गरेका छन् । दशौँ हजार पूर्वलडाकुहरू एमालेमा प्रवेश गर्ने तयारीमा रहेको खुलासा पनि उनले गरे ।

आफ्ना लडाकुहरूको व्यवस्थापन गर्न प्रचण्डले नसकेको भन्दै उनले भने, ‘अहिलेसम्म पनि शान्ति प्रक्रिया टुंगिएको छैन । प्रचण्डजीहरू अहिलेसम्म पनि शान्ति प्रक्रिया किन टुंगो लगाउनुहुन्न ? किन घाइतेहरूको उपचार हुँदैन ? किन झूटा मुद्दा खारेज हुँदैन ? किन बहिर्गमित लडाकुको व्यवस्थापन हुँदैन ? मन परेका मान्छेलाई १०-१० हजार बाँडेर यो समस्या समाधान हुन्छ ?’

‘हिजो प्रधानमन्त्रीले गर्न दिएन भनेर भाषण गर्नुहुन्छ, आज प्रधानमन्त्री नभए पनि सरकार मेरै कठपुतली हो, म नचाइदिन्छु भन्नुहुन्छ, पावर देखाउनुस् प्रचण्ड, समस्या समाधान गर्नुस् लडाकुका’- ओलीले भने ।

‘हिजो केका लागि बलिदान दिनुभएछ देखिहाल्नुभयो । कसलाई मेयर बनाउन रहेछ । कसलाई मन्त्री बनाउन रहेछ देख्नुभयो । कुल्ली दाइले बाटो बनायो, तर गाडी अर्कैंले कुदायो’- अध्यक्ष ओलीले ब्यङ्ग्यमिश्रित भावमा भने ।

पूर्वलडाकुहरूलाई सम्बोधन गर्दै केपी ओलीले अगाडि भने- ‘नेकपा एमाले तपाईंहरूको पार्टी हो । हिजो गल्तीले अलमलमा पर्नुभो । अब नपर्नुस् । एमाले द्वन्द्वका घाउहरू समाप्त पार्न चाहन्छ । शान्ति प्रक्रिया टुंग्याउन चाहन्छ । मलाई लाग्छ प्रधानमनत्री चाहनुहुन्छ भने पनि अहिलेको सरकारले सक्दैन । यो हामी गर्नेछौं ।’

अध्यक्ष ओलीले एमालेले छिमेकी र अन्य मुुलुकसँग पारस्परिक लाभ, आपसी समानता र सार्वभौमिकताका आधारमा सम्बन्ध विकास गर्न चाहेको उल्लेख गर्दै आफू नेतृत्वको सरकारले पृथकतावाद र हिंसात्मक गतिविधिमा संलग्न पक्षहरुलाई शान्तिपूर्ण राजनीतिको मूल प्रवाहमा ल्याएकाले अब कुनै हिंसाको वातावरणको काम नरहेकाले विदेशीहरुले लगानी गर्ने वातावरण रहेको जिकिर गरे ।

महाधिवेशनको बन्द सत्रले उच्चस्तरमा सहमति, एकता र लोकतान्त्रिक अभ्याससहित विशेष उदाहरणीय र उल्लासपूर्णरुपमा सम्पन्न भएर सफलताको सूचनासहित यही मङ्सिर १३ गते पत्रकार सम्मेलनबाट घोषणा गर्ने अध्यक्ष ओलीले बताए । उनले एमाले र अर्को पाँच वर्ष देशलाई नै हाँक्न सक्ने नेतृत्व चुन्नु महाधिवेशनको कार्यभार भएकाले सानातिना अन्तरविरोधमा नअल्मिएर देश निर्माणका भावना र उचाइका आधारमा अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे ।

एमालेको महाधिवेशनलाई शुभकामना दिँदै प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र स्थापनाका लागि ओलीसहित धेरै वामपन्थी नेताहरूसँगै आफू पनि जेल बसेको स्मरण गरे । एमालेका अध्यक्ष केपी शर्मा ओली र आफू ‘जेलमेट’ भएको सन्दर्भ कोट्याउँदै उनले भने- ‘केपी ओलीजीलगायत धेरै वामपन्थी साथीहरू र हामी सँगै जेलमा थियौँ । हामी जेलमेट पनि हौं । हामीले सँगै दुःख भोगेका हौँ । हिजोका दिनमा हामीले भोगेका दुःख सम्झेर भोलिका दिनमा कुनै नेपालीले दुःख नपाउन् भन्नेमा हामी केन्द्रित हुनुपर्छ ।’

pict:rss

नेपालका राजनीतिक दलहरूले मिलेरै संविधानसभाबाट संविधान जारी गरेको स्मरण गराउँदै देउवाले राजनीतिक असहमतिहरूको समाधान संविधानप्रदत्त विधिबाट खोजिनुपर्ने बताए । हाम्रा असहमतिहरूलाई संविधानले निर्धारण गरेका विधिबाटै टुंग्याउनुपर्दछ, त्यसलाई हामी सबैले स्वीकार्नुपर्दछ भन्दै प्रधानमन्त्री देउवाले कांग्रेस एमालेमा वैचारिक भिन्नता भएकैले अलग-अलग पार्टी रहेको भन्दै जनताका सवाल, राष्ट्रियता र राष्ट्रहितका विषयमा भने सहमति र सहकार्य हुनुपर्ने बताए ।

सो अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनसँग जोडिएका माग पूरा गराउन अधिकतम प्रयास गरेकोमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिए । शुभकामना मन्तव्य दिदैं ठाकुरले मधेश आन्दोलनका दौरान भएका सम्झौता कार्यान्वयनका लागि गरेको प्रयासका लागि ओलीको प्रशंसासहित उनलाई धन्यवाद दिए ।

‘ओलीजीको पालोमा हाम्रा केही साथीहरू रिहा हुनुभयो । हाम्रो माग पूरा गर्न गरेको प्रयासका लागि धन्यवाद । अब देउवाजी प्रधानमन्त्री हुनुभएको छ । बाँकी माग पूरा गराउन म देउवाजीलाई आग्रह गर्न चाहन्छु’, ठाकुरले भने ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेले देश र जनताको पक्षमा आफूलाई उभ्याउनुपर्ने सुझाव दिए भने नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले कम्युनिष्ट एकताको आवश्यकताले आज विभक्त मनहरु पुनः एकताबद्ध हुने धारणा राखे ।

‘हाम्रा आग्रह र संकिर्णताले आज जितेजस्तो देखिए पनि, आज हाम्रो आन्दोलन अल्मलिए जस्तो देखिए पनि आज विभक्त मनहरु पक्कै भोली फर्कनेछन्, एकता, संघर्ष र सहकार्य संस्कृतिको साझा प्रयास जारी राख्नुपर्छ’, पोखरेलले भने ।

शुभकामना सन्देश दिँदै राप्रपा अध्यक्ष कमल थापाले महत्वपूर्ण दुई कामका लागि मुलुकले केपी शर्मा ओली र नेकपा एमालेलाई स्मरण गरिरहने बताए । थापाले सिके राउतको पृथकतवादी आन्दोलन र विप्लवको सशस्त्र आन्दोलनलाई शान्तिपूर्ण अवतरण गराउनु ओली र एमालेको पहिलो सफलता भएको तर्क गरे । त्यस्तै लिम्पियाधुरासहितको चुच्चे नक्सालाई संविधानको अंग बनाउने काम अर्को महत्वपूर्ण र स्मरणीय योगदान भएको बताए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि शुभकामना सन्देश दिएका थिए ।

pict:rss