मंसिरको जाडोमा तातेको चितवन !

मंसिरको जाडोमा तातेको चितवन !


मङ्सिर १० गते नारायणीको तटबाट ओलीले प्रचण्डलाई नमिठो शब्दमा भन्नेछन्- ‘प्रचण्डजस्तो अराजकतावादी, षड्यन्त्रकारी र हिंसावादी स्वार्थी नेता चितवनलाई चाहिँदैन । बाँदरमुढेका नाइके चितवनलाई चाहिँदैन । यो पटक मतपत्र चपाएर निल्न दिइँदैन । आदि-आदि…
  • उत्तम देवकोटा

मंसिरको महिना अनि नारायणीको तीर । यसका बाबजुद देशकै केन्द्र चितवन यतिबेला राजनीतिक सरगर्मीको पारोले तातेको मात्र छैन, यसको रापले देश अनि विदेशलाई पनि तताएको छ । एकातिर नेकपा एमालेको महाधिवेशन, अर्कोतर्फ नेपाली काङ्ग्रेसको जिल्ला अधिवेशन अनि त्योभन्दा बढी माओवादीका अध्यक्ष प्रचण्डको चिड्चिडाहट र छटपटी । यो सरगर्मीलाई मलजल गरेको छ नेपाली काङ्ग्रेसको जिल्ला अध्यक्ष जीतनारायण श्रेष्ठको अभिव्यक्तिले । चितवनको यो सरगर्मी निर्वाचन नसकिएसम्म निरन्तर कायम रहने पक्का छ ।

नेकपा एमालेको यही मंसिर १० गते चितवनमा शुरु हुने महाधिवेशन एक सामान्य महाधिवेशन होइन । यो महाधिवेशनबाट नेकपा एमालेले एकै पटक चार ओटा सन्देश दिन खोज्दै छ, जुन उसको महाधिवेशन तयारी र घटनाक्रमले देखाएको छ । एक, पार्टीमा फुटको असर छैन वा अति नगन्य मात्र छ । दुई, अब पार्टीम गुट-उपगुटको अस्तित्व छैन अनि पार्टीमा ओली सर्वमान्य नेता हो । तेस्रो, प्रचण्डलाई चितवनबाट चुनाव जित्न दिइने छैन । चौथो अनि महत्वपूर्ण सन्देश दिन चाहन्छ कि पार्टी सरकारबाट बाहिरिए पनि पार्टीप्रतिको जनसमर्थन घटेको छैन ।

महाधिवेशनमा पाँच लाख मानिस उतार्ने घोषणा र देशभरिबाट कार्यकर्ताको चहलपहलबाट उसले शक्ति प्रदर्शनको तयारी गरेको बुझ्न गारो छैन । जिल्लाका नेताहरूमा काम गरेर देखाउने र ओलीको मनमा छाप छोड्ने होड्बाजी जस्तै देखिएको छ । जसले गर्दा तयारी बेजोड गतिमा भइरहेको देखिन्छ । कोरोना महामारीबाट सजक हुनुपर्ने समयमा यो तडकभडकको सोझो अर्थ हो कि उ आफ्नो पर्टी विभाजनबाट अविचलित छ र पार्टीमा विभाजनको असर न्युन छ भन्ने देखाउन चाहन्छ ।

साथै, एमाले यो पनि देखाउन चाहान्छ कि अब पार्टीभित्र कुनै गुट-उपगुटको अस्तित्व छैन र ओली यो पार्टीको एक मात्र सर्वमान्य र निर्विकल्प अध्यक्ष हुन् । पार्टीका पहिलो पुस्ताका नेताहरू नेपाल, खनाल र गौतम नभएपछि ओलीले हाइसन्चो भएको जस्तो देखाउन खोज्दै छन् । त्यसैले ओली एमालेका नेता, कार्यकर्ता र मिडियामार्फत सन्देश दिँदैछन् कि यो पटक नेतृत्व सर्वसहमतिबाट चुनिने छ ।

तेस्रो सन्देश हो चितवनमा प्रचण्डको चुनावीक्षेत्र सुरक्षित हुने छैन । एसअघि ओलीको कृपाबाट पार्टी र आफ्नो सिट सुरक्षित गरेको र पछि नेपालसँग मिलेर आफू र आफ्नो सत्तालाई दुःख दिएको बुझाइ ओलीमा छ । त्येसैले प्रचण्डलाई उनकै क्षेत्रमा गएर ओली गतिलो जवाफ दिन चितवन ओर्लिएको कुराको भेउ प्रचण्डले पाइसकेका छन् । त्यसैले उनको छटपटी र चिडचिडाहट असरल्ल भएको छ । प्रचण्डको छट्पटी नै ओलीको लागि खुशीको कुरा भएको भान हुन्छ । ओली र प्रचण्डबीच चलेको वाकयुद्ध मात्र महाधिवेशनको स्थानसँग सीमित हुनुबाट यो बुझ्न सकिन्छ कि ओली चितवन गएर प्रचण्डको आँगनबाट भन्न चाहन्छन्- ‘प्रचण्ड अराजकतावादी, षणयन्त्रकारी र हिंसावादी स्वार्थी नेता हुन् !’ यो ओलीको नवीन धारणा होइन र थिएन । माओवादी युद्धकालभरी ओलीले यो धारणालाई निरन्तर प्रेसित गरेका हुन् । तर २०७४ मा ओलीलाई सत्ताप्राप्तिको रहर र प्रचण्डलाई आफू र आफ्नो पार्टीको अस्तित्वा रक्षा गर्नुपर्ने बध्यताबाट यी दुईको स्वार्थको मिलनबाट पार्टी एकीकरण हुन पुगेको थियो । क्षणिक रूपमा दुवैको उद्देश्य पूरा भए पनि यो दीगो एकीकरणको आधार थिएन जुन दुवै जनालाई राम्रोसँग थाहा थियो । अब ओली प्रचण्डलाई रुखो शब्दमा उनकै क्षेत्रमा गएर भन्न खोज्दै छन् कि तिमीले मलाई सत्तामा दुःख नदिएको भए तिमीलाई फेरि अस्तित्व रक्षाको पीर हुने थिएन । प्रचण्डलाई चितवनमा चुनावमा पराजित गराएर खुच्चिङ भन्न चाहन्छन् ओली । त्यसैले ओली शक्ति प्रदर्शनमार्फत चितवनमा प्रचण्ड र उनको शक्तिलाई मनोवैज्ञानिक दबाबमा राख्न चाहन्छन् ।

प्रचण्डको छट्पटीको आगोमा घिउ थप्ने काम काङ्ग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठको पछिल्लो समयमा उनको भाषाणले पनि गरेको छ । अब काङ्ग्रेसले रुखबाहेक अन्त भोट हाल्दैन र चुनावी समीकरण चितवनमा हामी मान्दैनौँ भन्ने अभिब्यक्तिले पनि प्रचण्डको मनमा चिसो पसेको हुनुपर्छ । तर जितनारायणको यो विचार काङ्ग्रेसको अधिवेशनको पूर्वसन्ध्यामा मात्र आएको र यो नितान्त कार्यकर्तालाई अल्मल्याउन आएको हो भन्ने कुरा बुझ्न प्रचण्डलाई गाह्रो नहोला । किनकि, छोरी रेणुलाई मेयर बनाउन काङ्ग्रेस र काङ्ग्रेसको जिल्ला नेताहरूलाई कसरी दुरुपयोग गर्न सकिएको थियो भन्ने प्रचण्डलाई राम्ररी थाहा छ । काङ्ग्रेस कार्यकर्ताको भावनालाई कुल्चिएर जिल्ला नेतामार्फत छोरी रेणु मेयर बनाउन सकेको सम्झेका प्रचण्ड केन्द्रमा देउवासँग नै सत्ता साझेदारी गर्दा काङ्ग्रेसको भोटमा चुनाव जित्न सकिन्छ कि भन्ने झिनो आशमा जित्नारायणको भाषणले प्रचण्डको मनमा थोरै चिसो पक्कै थपेको हुनुपर्छ । त्योभन्दा ठुलो प्रचण्डको चिन्ता भनेको चितवनमा काङ्ग्रेसको नयाँ नेतृत्व कसको हुनेछ ? र, अबको नेतृत्वलाई अघिल्लोपटक जस्तै सजिलै दुरुपयोग गर्न सकिएला कि नसकिएला भन्ने नै हुनेछ ।

नेकपा एमाले महधिवेशनको चौथो र महत्वपूर्ण सन्देश भनेको पार्टीप्रतिको जनसमर्थन कायम छ भनेर देखाउनु हुनेछ । माधव नेपालले पार्टी विभाजन गरेपछि र ओली केन्द्रिय सत्ताबाट तथा मुख्यमन्त्रीहरू प्रदेश सत्ताबाट च्युत भएपछि जनमानसमा परेको हुन सक्ने मनोवैज्ञानीक क्षतिलाई परिपुरण गर्न शक्ति प्रदर्शनबाट देखाउन चाहन्छ कि पार्टीप्रति जनसमर्थन उत्तिकै छ । र, यस पार्टीमा विभाजनको गुन्जायस कम छ । शक्ति प्रदर्शनमार्फत ओली कार्यकर्तालाई भरथेक गर्न चाहन्छन् भने उनले भन्ने गरेको देशी-विदेशी शक्तिलाई आफू अझै दह्रो राजनैतिक शक्ति रहेको र चुनावमार्फत फेरि सत्तारोहण गर्न सक्ने सन्देश दिन चाहन्छन् ।

चितवन यो मङ्सिरको चिसोमा राजनीतिको सरगर्मीले तातेको छ । एमालेले सबै राजनैतिक र आर्थिक शक्तिको परिचालनबाट तडकभडक देखाएको छ भने प्रचण्डको हुटहुटीले मिडिया र सामाजिक सञ्जाल तातेको छ । काङ्ग्रेसको जिल्ला अधिवेशन एमालेको महाधिवेशनको छायामा परेजस्तो भए पनि प्रचण्ड र ओली दुवैको लागि चासोको विषय भएको छ । प्रचण्ड र ओलीको गोरु जुधाइमा काङ्ग्रेसको नयाँ जिल्ला-नेतृत्वले ठुलो फरक पार्ने छ । फेरि पनि अपरिपक्व र बिकाउ नेतृत्व आयो भने ओलीले जति रिस गरे पनि प्रचण्ड चितवनमा भविष्य खोजिरहने छन् भने काङ्ग्रेसमा परिपक्व र पार्टीको मत जोगाउन सक्ने नेतृत्व आयो भने प्रचण्डलाई चितवन फलामको चिउरा हुनेछ र प्रचण्डले नयाँ ठाउँमा फिरी लगाउन जानुपर्ने हुनेछ ।

मङ्सिर १० गते नारायणीको तटबाट ओलीले प्रचण्डलाई नमिठो शब्दमा भन्नेछन्- ‘प्रचण्डजस्तो अराजकतावादी, षड्यन्त्रकारी र हिंसावादी स्वार्थी नेता चितवनलाई चाहिँदैन । बाँदरमुढेका नाइके चितवनलाई चाहिँदैन । यो पटक मतपत्र चपाएर निल्न दिइँदैन । आदि-आदि !