१३ मंसिर २०७८, सोमबार

पुनः सञ्चालनको सुरसारमा मोमेन्टो

  प्रकाशित मिति
९ मंसिर २०७८, बिहीबार ०१:५४



भद्रपुर (झापा)/ १० वर्षदेखि बन्द रहेको गार्मेन्ट उद्योग (मोमेन्टो एपरेल्स प्रालि) फेरि सञ्चालन गर्ने सुरसार गरिएको छ । मोमेन्टोमा अब विदेशी साझेदार भित्र्याएर सञ्चालन गर्ने प्रक्रिया अघिबढाइएको उद्योगपति चण्डीराज ढकालले हालै जनाएका हुन् ।

‘दुबईको पर्फेक्ट इण्ड्रष्टिजलाई साझेदार बनाउनेगरी सम्झौता पनि भइसकेको छ र अब अन्य सबै प्रक्रिया फटाफट सकेर सम्भवतः २०७९ सालको बैशाखदेखि मोमेन्टो एपरेल्स पुनः सञ्चालन गर्ने लक्ष्य रहेको’ उनको कथन छ ।

यसबारेमा मोमेन्टोका तत्कालीन प्रबन्ध निर्देशक, उद्योगपति चण्डीराजका भाइ एवम् हाल नेपाल उद्योग वाणिज्य महासंघका १ नं प्रदेश अध्यक्ष टीकाराज ढकालले पनि भद्रपुरको साबिक स्थानमै पुनः गार्मेन्ट उद्योग सञ्चालनका लागि आवश्यक प्रक्रिया र व्यवस्थापनको काम गम्भीरतापूर्वक अघि बढिरहेको पुष्टि गरेका छन् ।

गत २०५२ सालमा स्थापना गरिँदा एसियाकै ठूलो तयारी पोशाक निर्माता उद्योगका रूपमा कहलिएको यो गार्मेन्ट उद्योग माओवादी द्वन्द्व, मजदूर आन्दोलन, व्यावसायिक मन्दी र व्यवस्थापनगत कमी-कमजोरीका कारण २०६८ सालदेखि बन्द भएको थियो ।

उद्योगको पुनर्संरचना गर्न लाग्ने २० करोड रुपैयाँका साथै तत्कालै निम्नतम ३० करोड रुपैयाँ आवश्यक रहेको ढकालले बताएका छन् । त्यस बाहेक ५० करोड रुपैयाँ जति विदेशी लगानी भित्र्याएर उद्योग सञ्चालन गर्ने आफ्नो प्रयास जारी रहेको चण्डीराजले बताएका छन् ।

दुबई र इण्डियामा विभिन्न उद्योग सञ्चालन गरिरहेको पर्फेक्ट इण्ड्रष्टिजले नेपालमा पनि मोमेन्टोलाई पुनः सञ्चालन गर्न सकिन्छ कि भनेर २ वर्षदेखि अध्ययन गरिरहेको बताइएको छ ।

उद्योग पुनः सञ्चालन गर्नका लागि केही मेसिनहरू थप्नुपर्ने, केही मर्मत गर्दा हुने र अन्य संरचना भने मर्मत-सम्भार गरेपछि उपयुक्त हुने देखिएको लगानीकर्ताको ठहर छ ।

मोमेन्टो एपरेल्स अवस्थित चण्डीराज ढकालको सम्पत्ति राष्ट्रिय वाणिज्य बैंकको नाममा छ । उक्त सम्पत्ति धितो राखेर पहिल्यै उनले बैंकबाट २९ करोड रुपैयाँ ऋण लिएका थिए । उक्त सम्पत्ति फुकुवा हुनका लागि बैंकको ऋण तिर्नुपर्ने हुन्छ । तर, यसबीच ढकालले विदेशी साझेदार भित्र्याएर फेरि गार्मेन्ट उद्योग चलाउने भन्दै सोही बैंकमा प्रस्ताव दिएपछि ‘डुबेको व्यक्तिले उद्योग चलाउनको लागि लगानी ल्याउँछु भन्दा एक पटकका लागि सहयोग गर्न सकिन्छ कि भनेर बैंक व्यवस्थापन सकारात्मक भए पनि त्यसका लागि प्रत्याभूति चाहिरहेको बताइँदैछ ।

वाणिज्य बैंकले २०७६ सालसम्म साँवा बराबर ब्याज अर्थात ५८ करोड रुपैयाँ तिर्न ताकेता गरेको र ढकालले ५० करोड रुपैयाँ तिर्छु पनि भनेर समझदारी निर्माणको प्रयास जारी रहेको भनिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहिसकेका उद्योगीवृत्तका चल्तापूर्जा चण्डीराज ढकालको शाख यही बैंक ऋण प्रकरणसित जोडिंदा धुमिल हुन पुगे पनि उनी आफूप्रतिको सोचलाई पुनः सकारात्मक तुल्याउन तल्लीन रहेको बताउँछन् ।

उद्योगी ढकाल तर्क गर्छन्– ‘मेरो उद्योग बन्द भएपछि पनि मैले एनसीसी बैंक, एनबी बैंक र लुम्बिनी बैंकको करीब २ अर्ब रुपैयाँ ऋण तिरेको छु । आजको दिनमा मेरो ऋण वाणिज्य बैंकमा मात्र हो । अब भने मेरो पहिलो उद्देश्य भनेको मोमेन्टो जसरी भए पनि चलाउने हो । त्यो उद्योगबाट जति गुमाएँ, त्यसलाई रिकभर गरेर पुनः उद्योगलाई उचाइमा पु¥याउने छु ।’

मोमेन्टो एपरेल्स सञ्चालन हुँदाताका ३ हजार बढी नेपाली महिला कामदार, ३ सय जति पुरुषका अलावा केही विदेशी प्राविधिकहरू समेत कार्यरत थिए । यति ठूलो रोजगारदाता उद्योग मोमेन्टो सञ्चालन भएको बेला भद्रपुर निकै गुल्जार थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच आइतबार भेट भएको छ । मुख्यमन्त्री कार्यालयमै दिउँसो

झापाको कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार १००मा कारोबार

गणेशराज वस्ती भारी बोक्ने दाइहिँड्नुहोस् रमाइ-रमाइ !उकालोमा आफ्नै कपाल समाइओह्रालोमा खुट्टा कमाइ-कमाइ !तिम्रो जिन्दगीन बन्धकी न त राजीनामा !त्यसैले त-पातिघारी