१३ मंसिर २०७८, सोमबार

ओलीलाई चुनौती दिन दुई नेता अग्रसर : केपी ‘एकलौटी’ नेता

  प्रकाशित मिति
८ मंसिर २०७८, बुधबार ०३:५०


एमालेको पन्ध्र पदाधिकारीभित्र पर्न यसपटक भीम रावल र घनश्याम भुसालले गर्नुभएको कसरत असफल हुने स्पष्ट हुँदै गएको छ । कदाचित दुवै नेताहरू पदाधिकारी बन्न असफल भएमा उहाँहरू माधव नेपालतिर फर्कनुहोला या एमालेमै रहनुहोला भन्ने जिज्ञाशा एमाले पङ्क्तिभित्र प्रकट हुन थालेको छ ।


प्रमुख विपक्षी दल नेकपा एमालेको दशौँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रीत हुने भएको छ । माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम पार्टीबाट बाहिरिएपछि केपी शर्मा ओली एमालेको एकछत्र नेता बन्नुभएको छ र, महाधिवेशनमा ओली अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुहुने विश्वास गरिएको थियो । तर भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएपछि ओली निर्विरोध निर्वाचित हुने सम्भावना करिब अन्त्य भएको छ । रावललाई उपाध्यक्षको जिम्मेवारी पुनः दिन सकिने भएमा मात्र ओली निर्विरोध बन्न सक्नुहुने अवस्था छ ।

केपी शर्मा ओली अध्यक्ष बन्ने निश्चित भए पनि उपाध्यक्ष, महासचिव र सचिवलगायतका पदहरूमा भने नेताहरू बीच चर्को प्रतिष्पर्धाको स्थिति देखापरेको छ । पदको सङ्ख्या भन्दा ज्यादा नेताहरूको सङ्ख्या भएपछि चर्को प्रतिष्पर्धाको स्थिति पैदा भएको हो । पार्टीमा वरिष्ठ उपाध्यक्ष पदका निम्ति सुवास नेम्वाङ र ईश्वर पोखरेलबीच प्रतिष्पर्धा चलिरहेको छ । उक्त पदीय जिम्मेवारीका निम्ति नेम्वाङ्गले रहर गर्नुभएको भए पनि उहाँलाई उक्त पद मिल्ने स्थिति छैन । सर्वसम्मति या निर्वाचन जे भए पनि वरिष्ठ उपाध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई नै मिल्ने पक्कापक्की मानिएको छ । उपाध्यक्षहरूमा सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेलको चयन हुन सक्ने प्रवल सम्भावना छ । पाण्डे र पौडेललाई सम्भावित महासचिवका रूपमा समेत हेरिएको छ ।

भनिन्छ, विष्णु पौडेल महासचिव पदमा दोहोरिन चाहनुहुन्छ । तर केपी ओली शङ्कर पोखरेललाई महासचिव बनाउने पक्षमा भएको बुझेर पौडेलले मुख खोल्न नसक्नुभएको बताइन्छ । अध्यक्ष ओलीले ‘माया गरेको’ कारणले शङ्करको हैसियत बढेको भए पनि एमालेभित्र सुरेन्द्र पाण्डे र विष्णु पौडेलको स्थिति अलिक भिन्न छ । महासचिव पदका लागि सुरेन्द्र पाण्डेलाई उपयुक्त ठान्नेहरूको सङ्ख्या एमालेभित्र अधिक रहेको बुझिन्छ । तर, पौडेल झैँ पाण्डे पनि अध्यक्ष ओलीको इच्छाबेगर महासचिवमा उम्मेदवारी दिने स्थितिमा नरहनुभएको देखिन्छ । यदि ओलीले खुला प्रतिष्पर्धाका निम्ति ढोका खोलिदिनुभएको अवस्थामा महासचिव पदमा पाण्डे, पौडेल र पोखरेलबीच प्रतिष्पर्धा हुने अवस्था बन्न सक्छ । होइन भने पोखरेल संस्थापन पक्षबाट उम्मेदवार बन्ने र घनश्याम भुसालले शङ्कर पोखरेलसँग चुनावी प्रतिष्पर्धा गर्ने परिस्थिति निर्माण भएको छ ।

यसअघि उपाध्यक्ष रहेका युवराज ज्ञवाली र सुवास नेम्वाङलाई कहाँ कसरी ‘सेटल’ गरिने हो सो स्पष्ट हुन सकेको छैन । भीम रावलले अध्यक्षमा उम्मेदवारी नदिएको भए रावललाई उपाध्यक्ष दिनुपर्ने बाध्यता आइलाग्न सक्थ्यो, रावल हिँडेपछि ओलीलाई सजिलो भएको बुझिन्छ । उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ या प्रदीप ज्ञवालीमध्ये एकले मौका पाउने देखिएको छ । सम्भावित सचिवहरूमा गोकर्ण विष्ट, भीम आचार्य, लालबाबु पण्डित, गोकुल बास्कोटा, योगेश भट्टराई र रघुवीर महासेठको नाम अगाडि आएको छ । बास्कोटाले सचिवमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ । प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङमध्ये एउटाले उपमहासचिव पद प्राप्त गरेको अवस्थामा अर्कोले सचिव पदमा सीमित हुनुपर्ने हुन्छ । उता किरण गुरुङ र महेश बस्नेत पनि सचिव बन्ने दाउ हेर्दैछन्, तर गुरुङ र बस्नेत यसपटक आफ्नो उद्देश्यमा सफल बन्ने सम्भावना अत्यन्त न्यून मात्र देखिन्छ ।

एमालेको पन्ध्र पदाधिकारीभित्र पर्न यसपटक भीम रावल र घनश्याम भुसालले गर्नुभएको कसरत असफल हुने स्पष्ट हुँदै गएको छ । कदाचित दुवै नेताहरू पदाधिकारी बन्न असफल भएमा उहाँहरू माधव नेपालतिर फर्कनुहोला या एमालेमै रहनुहोला भन्ने जिज्ञाशा एमाले पङ्क्तिभित्र प्रकट हुन थालेको छ । दशौँ महाधिवेशनले केपी शर्मा ओलीलाई थप बलवान बनाउने देखिएको, तर केपीको उत्तराधिकारी को बन्लान् भन्ने विषय भने निकै पेचिलो हुँदै गएको छ ।

एमाले केन्द्रीय समितिमा पन्ध्र पदाधिकारी र ६२ केन्द्रीय सदस्यहरूको चयन विशेष महत्वको मानिन्छ । सम्भावित पदाधिकारीहरूको स्थिति चित्रण गर्न सकिए पनि ६२ केन्द्रीय सदस्यहरूमा कस्ता व्यक्तिहरूको चयन होला भनी यकीन गर्न सकिने अवस्था छैन । केपी शर्मा ओली प्रधानमन्त्री रहँदा सल्लाहकारको जिम्मेवारीमा रहेर ‘कार्यकारी’ भूमिका निर्वाह गर्ने विष्णु रिमाल र राजन भट्टराईले आफ्नो उचाइ निकै बढिसकेको हुनाले पदाधिकारीमै पर्न केपी ओलीसँग एक प्रकारले जिद्दी गरिरहेका छन् । तर रिमाल र भट्टराईले खुला प्रतिष्पर्धा गरेर बैसठ्ठी जना केन्द्रीय सदस्यभित्र आफूलाई पार्न सक्ने विश्वास गरिएको छैन । केपीले विशेष बल लगाएको अवस्थामा मात्र रिमाल र भट्टराईले केन्द्रीय समितिभित्र पाइला हाल्न पाउने सम्भावना रहेको छ ।

ओलीको उत्तराधिकारी को ?

नेकपा एमालेमा केपी शर्मा ओलीको एकलौटी नेतृत्व कायम भएको र, दशौँ महाधिवेशनले ओलीलाई थप बलशाली बनाउने निश्चित भए पनि उहाँको उत्तराधिकारी भने अझै अनिश्चित छ । एमालेमा केपीपछिका नेताहरूमा सुरेन्द्र पाण्डे, ईश्वर पोखरेल, भीम रावल, विष्णु पौडेल, सुवास नेम्वाङ र शङ्कर पोखरेलको नाम लिने गरिन्छ । वरियताका दृष्टिले ईश्वर पोखरेल र सुवास नेम्वाङ्ग अगाडि देखिए पनि उल्लिखित दुवै नेताहरू उमेर हद (७० वर्षे) का कारण अर्को महाधिवेशनमा नेतृत्व लिनबाट वञ्चित हुनेछन् ।

प्राप्त जानकारीअनुसार केपी ओली शङ्कर पोखरेललाई आफ्नो उत्तराधिकारी बनाउन चाहनुहुन्छ, तर शङ्कर पार्टीभित्र लोकप्रिय हुनुहुन्न र सबैलाई समेटेर अघि बढ्ने क्षमता पनि उहाँमा नरहेको महसूस समकालिक नेता र कार्यकर्ताहरूले गरेका छन् । भीम रावलले भिन्न मार्ग अवलम्बन गरेको हुँदा उहाँ केपीको उत्तराधिकारीका रूपमा स्वीकार्य हुनुहुन्न । यसर्थमा सुरेन्द्र पाण्डे र विष्णु पौडेलले केपीको उत्तराधिकारी बन्न पाउने स्थिति देखिएको छ । यद्यपि शङ्कर पोखरेल ‘उत्तराधिकारी’ बन्नै नसक्ने भने होइन, त्यसनिम्ति उहाँले आफ्नो सोच र शैलीमा ब्यापक परिवर्तन गर्नुपर्ने हुन्छ, तर शङ्कर आफूलाई बदल्न तयार रहने गतिशील मानिसमा पर्नुहुन्न । विष्णु रिमाल र राजन भट्टराई जस्ता ‘नेता रिझाएर आफ्नो स्पेस बनाउन खोज्नेहरूले मात्र’ यतिबेला शङ्करलाई केपीको उत्तराधिकारी बनाउन जोडबल लगाइरहेका छन् ।

ज्ञातव्य छ, नेकपा एमालेमा पार्टीको नेतृत्व लिन सत्तरी वर्षभन्दा कम उमेरको व्यक्ति हुनुपर्छ । सत्तरी नाघेका व्यक्ति स्वतः अवकाश हुनेछन् । स्वयम् केपी ओली पनि अहिले महाधिवेशन नभएको भए अध्यक्षको उम्मेदवार बन्न पाउनुहुने थिएन । उहाँ आगामी फागुन ११ गतेदेखि सत्तरी वर्ष पूरा हुनुहुनेछ । त्यसपछि महाधिवेशन भएको भए उहाँले प्रत्यक्षदर्शीको भूमिका मात्र निर्वाह गर्नुपर्ने हुन सक्थ्यो । सत्तरी वर्ष पुग्नुभन्दा तीन महिनाअगाडि मात्र अध्यक्ष निर्वाचित भए पनि केपीले पूरा कार्यकाल काम गर्न पाउनुहुनेछ । सत्तरी वर्ष पूरा नहुँदै लिएको जिम्मेवारी पदावधि कायम रहिन्जेल कायम रहने व्यवस्था एमालेको विधानले गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा

थाइल्याण्डबाट उपचारार्थ चीन पुऱ्यााइएका नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार देखिएको छ । गत

शहीद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारीमा गरिने पीसीआर परीक्षण शुल्क अन्य सरकारी अस्पतालसरह रु एक हजार कायम गरिएको छ । सरकारी

तस्बिर : रासस नेकपा (एमाल) को अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । एमालेको