नेताका स्तर र नागरिकको मानसिकता

नेताका स्तर र नागरिकको मानसिकता


नेपालमा दलको नेता, मन्त्री, प्रधानमन्त्री हुन कुनै योग्यता आवश्यक पर्दैन ! शासन-प्रणाली, नीति-नियम, ओहदाअनुसारको अनुशासन, मर्यादा, दायित्व वा जिम्मेवारीबारे जानिफकार बनिरहनै पदैन ! पदमा पुगेपछि मै ठूलो – अरु सब तुच्छ, आफूले जे गरे पनि मान्य हुन्छ भन्ने विकृत मनोग्रन्थी दिमागमा हुर्काउन सके पुग्छ ! सोझो लवजमा भन्नुपर्दा शर्म पचाउन सके नेता बनिन्छ नेपालमा !

केही दिनअघि आफ्नो दलको सङ्गठन विस्तारको सिलसिलामा आकाश मार्ग भइ माधव नेपाल दार्चुला पुगे । हेलिकप्टरबाट उत्रनेवित्तिकै आफूले टेकेको जमिनतर्फ सङ्केत गर्दै उनले एक सुरक्षाकर्मीलाई प्रश्न गरे- ‘यो नेपाल नै हो ?’ आफू कुन भूमिमा उभिएको छु भन्ने सामान्य ज्ञान पनि त्यसबेला उनलाई भएन । नेपाली व्यवसायीले सञ्चालन गरेको कम्पनीको हेलिकप्टर चढेर दार्चुला उत्रिएका नेता नेपालका अघिल्तिर नेपाली सुरक्षाकर्मीहरू, उनलाई स्वागत गर्न बसेका पार्टी-कार्यकर्ता तथा दर्शकको रूपमा उभिएका दर्जनौँ नेपाली नागरिक थिए । कुनै पराया मुलुकमा विनाअनुमति हेलिकप्टर उत्रन सक्दैन, नेपाली सुरक्षाकर्मीले अर्को मुलुकमा ‘ड्युटी’ निर्वाह गरिरहेको हुँदैन र, आफ्ना नेताको प्रतीक्षा नेपाली जनताले पराइभूमिमा उभिएर गरिरहेका थिएनन् भन्ने हेक्का कुनैबेला देशको प्रधानमन्त्रीसम्म बनिसकेका नेतालाई भएन । कति लज्जाजनक सन्दर्भ !

उच्च नेतृत्वतह या देश सञ्चालनको दायित्व बोकेका नेपाली नेताहरूको औकात, सोच-शैली, विवेकको स्तर, पदीय मर्यादा पालनाप्रतिको लापर्वाही, जनता र देशभन्दा आफूलाई उच्च सम्झिने मैमत्तपनका उदाहरण असङ्ख्य भेटिन्छन् । पछिल्लो एक गम्भीर उदाहरण हो- भारतका योगगुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जली कम्पनीले काठमाडौंमा नेपालको सञ्चारसम्बन्धी कानुन पालना नगरी सञ्चालनमा ल्याएको ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नाममा दुई टेलिभिजन च्यानलको उद्घाटन बहालवाला प्रधानमन्त्रीबाट गरिनु । गत शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाबाट उक्त अवैधानिक टिभी च्यानलहरूको उद्घाटन गरिँदा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसमेतको उपस्थिति थियो । उल्लिखित सबै वर्तमान सत्ता-गठबन्धनका शीर्ष पत्रहरू हुन्, अर्थात् नेपालका वर्तमान शासक हुन् ।

उक्त टिभी च्यानल दर्ता नै नभइ या आवश्यक कानुनी प्रक्रिया पूरा नगरी कसरी सञ्चालनमा आए भन्ने सवालमा यतिबेला सरोकारवाला निकायले छानबिन शुरु गरेको सन्दर्भ चर्चामा छ, यसभन्दा बढी चासो, चर्चा र चिन्ताचाहिँ राज्य सञ्चालनको दायित्व बोकेका नेताहरूबाट यति कच्चा र देशघाती कर्म कसरी गरियो भन्ने सवालमा भइरहेको छ । यी सन्दर्भहरूले स्पष्ट जनाइरहेका छन् कि नेपालमा मन्त्री, प्रधानमन्त्री, दलको नेता हुन सम्बन्धित मामलामा कुनै योग्यता आवश्यक पर्दैन ! शासन-प्रणाली, नीति-नियम, ओहदाअनुसारको अनुशासन, मर्यादा, दायित्व वा जिम्मेवारीबारे जानिफकार बनिरहनै पदैन ! पदमा पुगेपछि मै ठूलो – अरु सब तुच्छ, अब आफूले जे गरे पनि मान्य हुन्छ भन्ने विकृत मनोग्रन्थी दिमागमा हुर्काउन सके पुग्छ ! सोझो लवजमा भन्नुपर्दा शर्म पचाउन सके नेता बनिन्छ नेपालमा ! यहाँ उल्लेख गरिएका दुई सन्दर्भले यही पुष्टि गर्छ । र, नेपाल कस्ता पात्रको हातमा छ भन्ने पनि छर्लङ्ग तुल्याएको छ ।

तर विडम्वना ! यस्ता अक्षम पात्रहरूबाट शासित भइरहनुमा मज्जा मान्ने प्रवृत्ति आमरूपमा व्याप्त छ । अभाव छ, पीडा र असन्तुष्टि छ, तर दूरावस्था बिर्सिएर यिनै अक्षम पात्रहरूको भाषणमा भुल्ने, ताली बजाउने आदत परेको छ आमनेपालीमा ! विरोध गर्छन् तर तिनकै पछि लाग्छन् । तिनैलाई भोट हालेर जिम्मेवारी सुम्पन्छन् अनि तिनका कार्यकालभरी पीडित बनेर सत्तोश्राप गर्दै समय कटाउँछन् । राजनैतिक दलका युवाहरूमा पनि आफ्नो नेतृत्वमाथि प्रश्न गर्ने र पार्टी तथा संगठनलाई सही बाटोमा हिँडाउन प्रयत्न गर्ने प्रवृत्ति नै देखिएन । फलतः राजनीतिलाई पेशा बनाएका यी पात्रहरूको हौसला बुलन्द छ । नागरिकलाई रैतीभन्दा तल झारेर व्यवहार गर्न यिनले रत्तिभर हिच्किचाहट नमान्नुको खास कारण आमनागरिकमा स्वाभिमान र हिम्मत नहुनु नै त हो !

कुनै पनि लोककल्याणकारी राज्यव्यवस्था भएको मुलुकमा नेताको गरिमा मात्र उच्च नभइ नागरिकले शिक्षा, स्वास्थ्य जस्ता जीवनका अति महत्वपूर्ण पक्षप्रति चिन्ता गर्नु नपर्ने अवस्था सिर्जना गरिएको हुन्छ । त्यस्ता मुलुकका सरकारले शिक्षा, स्वास्थ्यलगायतका महत्वपूर्ण एवम् आधारभुत आवश्यकताका सवाललाई अहम् प्राथमिकता दिने र त्यसको बोझ राज्यले नै उठाउने हुँदा आफ्ना सन्ततिको शिक्षा, स्वास्थ्यलगायतका दायित्वप्रति नागरिक चिन्तित हुनु पर्दैन । त्यस्तो अवस्थामा राजनीतिक विषय वा गतिविधिप्रति व्यक्तिलाई त्यति चासो पनि हुँदैन । सरकार या सरकारी निकायहरूमा जो रहे पनि विधिविधानअनुसार जनताप्रतिको दायित्व संवेदनशीलताका साथ निर्वाह गर्ने हुँदा राजनीतिक विषयमा नारा जुलुस प्रदर्शन गरिरहनै पर्दैन । ‘म नभए, मेरो नेतृत्व नरहे पार्टी चल्दैन, देश चल्दैन’ भन्ने अहङ्कार देश र नागरिकप्रति उत्तरदायी शासकले राख्दैन । कदाचित त्यस्तो भावबाट प्रेरित भइ अघि बढ्न खोजे स्वतः पदच्युत हुने अवस्थामा पुग्छ, या उसको पतन हुन्छ । अनुशासित र सभ्य मुलुकको प्रणाली नै त्यस्तो साँचोमा ढलेको हुन्छ । आफूलाई अब्बल सावित गर्ने स्वस्थ प्रतिष्पर्धामा नेताहरू लागेका हुन्छन्, न कि व्यक्तिगत लाभका निम्ति ! यस्तो आदर्श मुलुकको रूपमा नेपाल उठ्ने कहिले ?