सदस्यसचिवको नियुक्ति राजनीतिक दलकै चाहनामा हुने !

सदस्यसचिवको नियुक्ति राजनीतिक दलकै चाहनामा हुने !


चर्चा पूर्व र पश्चिमका दुई विष्टको

राखेपको सदस्यसचिवका लागि मन्त्रालयले दर्खास्त आह्वान गरे पनि नियुक्ति भने निकै पेचिलो बन्दै गएको छ । सदस्यसचिवको नियुक्ति सम्बन्धमा केही व्यक्तिले भ्रम फैलाउने कार्य गरे पनि त्यस्तो किसिमको कुनै गतिविधि नभएको खेलकुद महासंघका एक अधिकारीले बताएका छन् । भन्छन्- ‘अहिलेसम्म यहाँबाट सदस्यसचिवको लागि कुनै सिफारिस भएको छैन, यो खुला प्रतिस्पर्धा हो, जो योग्य र सक्षम छ त्यही ब्यक्ति सदस्यसचिव नियुक्ति हुनेछ ।’
  • श्रीविक्रम भण्डारी

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवको नियुक्तिका लागि दर्खास्त आह्वान गरेको छ । मन्त्रालयले यही मङ्सिर ४ गते सूचना प्रकाशित गर्दै योग्यता पुगेकाहरूलाई एक साताको समय-सीमा तोकेर मङ्सिर १० गतेसम्म सिफारिस समितिको कार्यालयमा दर्खास्त पेश गर्न सूचना जारी गरेको हो । मन्त्रालयले सदस्यसचिवको नियुक्तिको प्रक्रियालाई अगाडि बढाएसँगै अब मङ्सिरको तेस्रो साताभित्रै राखेपले नयाँ सदस्यसचिव पाउने निश्चितप्रायः भएको छ । मन्त्रालयले सदस्यसचिवका नियुक्तिका लागि राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार प्रक्रिया अगाडि बढाए पनि सदस्यसचिवको नियुक्ति भने राजनीतिक दलको चाहनामा हुने पक्का छ । यस्तो अवस्थामा राखेपको सदस्यसचिवको लागि कति गैरराजनीतिक र राजनीतिक व्यक्तिले दर्खास्त दिन्छन्- यो अहिले चासोको विषय बनेको छ ।

सदस्यसचिवको नियुक्तिको प्रक्रिया खुला प्रतिस्पर्धा भनिए पनि त्यो हात्तीको देखाउने दाँत मात्रै हो । यो तथ्यलाई निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवाललाई तत्कालिन सरकारले गरेको नियुक्ति नै काफी छ । र पनि, सदस्यसचिवको ओहदाको कल्पना गरेर मुख मिठ्याउनेहरूको कमी खेलकुदमा छैन, उनीहरू आफ्नो योग्यताको बलमा लड्ने र लोकसेवा आयोगका कर्मचारीले त्यसमा लालमोहर लगाउने कुरामा विश्वस्त छन् । यत्रतत्र राजनीतिले गाँजेको मुलुकमा योग्यता शक्तिको अगाडि जुनकिरी मात्रै हो, त्यसको ज्ञान हुनु जरुरी छ । अन्यथा खेलकुद ऐनमा सदस्यसचिवको नियुक्ति प्रक्रियामा लोकसेवाको कुनै दायित्व र भूमिका नहुनुको तात्पर्य के हो ? सोझै अनुमान लगाउन सकिन्छ । यहाँ जनताको आँखामा छारो हाल्न राजनीतिक दलहरूले भ्रमको खेती मात्रै गरेका हुन् भन्दा अतिशयोक्ति नहोला । यदि यसो नहुँदो हो त खेलकुदमा खेलकुद हाँक्ने जति पनि ब्यक्ति छन्, उनीहरूको योग्यता, अनुभव र क्षमता पनि त्यत्तिकै छ । आखिर यिनीहरूले किन अवसर पाउँदैनन् त ? प्रश्न गम्भीर भए पनि राजनीतिक दलहरू योग्यलाई नभइ आफ्ना मालदार कार्यकर्तालाई मात्र चिन्छन् र सोहिबमोजिम निर्णय गर्छन् । यो नेपालको मौलिक संस्कृति र परम्परा जस्तै बनिसकेको छ । यस्तोमा चुनौती पेश गर्नु हाँसोको पात्र बन्नु मात्रै हो ।

नेपालको राजनीतिक संस्कार यस्तो भए पनि अहिले सदस्यसचिवको नियुक्ति सम्बन्धमा जुन चर्चा चलेको छ, त्यसले खेलकुदमा नौलो रक्तसञ्चार गरिदिएको छ । सदस्यसचिवको आकाङ्क्षी त यतिबेला थुप्रै देखिएका छन्, अब उनीहरूले दरखास्त दिन्छन् या दिँदैनन् त्यसबाट थाहा हुनेछ । प्राप्त जानकारीअनुसार गठबन्धन सरकारका वरिष्ट नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा, अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले यो पटक सदस्यसचिवको लागि बेग्लै साझा धारणा बनाएको बुझिएको छ । अब जुन दलको खेलकुदमन्त्री त्यसैको सदस्यसचिव हुने परम्परालाई तोड्दै योग्य र सक्षम व्यक्तिलाई सदस्यसचिव बनाउने कुरामा वरिष्ठ नेताहरूबीच सहमति बनेको स्रोतको दाबी छ । यही कुरालाई मध्यनजर गर्दै केही योग्य ब्यक्तिले दर्खास्त दिन लागेको पनि जानकारीमा आएको छ । दरखास्तको लागि समयसीमा मङ्सिर १० गतेसम्म भएकोले अन्तिम समयमा मात्र त्यस्ता व्यक्तिहरूले दरखास्त दिने स्रोतकोे दाबी छ । बताइएअनुसार त्यस्ता व्यक्तिहरूमा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव केशवकुमार विष्ट र कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट हुन सक्ने स्रोतले अनुमान गरेको छ ।

सुत्रका अनुसार दीपक विष्टले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर आफू राखेपको सदस्यसचिव बन्न इच्छुक भएको प्रस्ताव राखेको बुझिएको छ । योग्य पात्रको खोजीमा रहेका नेतात्रय विष्टको प्रस्तावमा सकारात्मक देखिए पनि कुनै ठोस निर्णयमा पुग्न नसकेको स्रोतको दाबी छ । दीपक विष्ट राष्ट्रिय खेलकुद परिषदको कर्मचारी भएको कारण जबसम्म नेतात्रयले उनलाई हरियो झण्डा देखाउँदैनन् तबसम्म उनले सदस्यसचिवका लागि दखास्त दिने सम्भावना देखिँदैन, अर्थात् सम्भावना एकदमै न्युन छ । यसर्थमा कि सदस्यसचिवका लागि दखास्त दिँदा विष्टले आफ्नो जागिरबाट राजीनामा दिनुपर्छ । यदि भोलि सदस्यसचिव नपाए भएकै जागिर पनि जाने सन्त्रासका कारण उनी मौखिक नभइ लिखित रूपमै पहिल्यै ग्यारेन्टी चाहन्छन् । सदस्यसचिवको चर्चाको बारेमा दीपकसँग सम्पर्क गर्दा उनले भने- ‘मेरो योग्यता पुग्ने भएकै कारण मैले वरिष्ठ नेताहरूलाई भेटेर आफ्नो इच्छा प्रकट गरेको हुँ, त्यसैले चर्चा चलेको हो । सदस्यसचिव बन्न चर्चा चलेर मात्र हुँदैन, त्यसको लागि ठोस निर्णय हुनुपर्छ । हचुवाको भरमा जागिर दाउमा लगाएर दर्खास्त दिने कुरै आउँदैन ।’

आफ्नो चारवर्षे कार्यकालमा खेलकुदमा उत्कृष्ट कार्य गरेर चर्चामा आएका राखेपका पूर्व सदस्यसचिव केशवकुमार विष्ट पुनः राखेपको सदस्यसचिव बन्ने चर्चा चलेको छ । हुन त विष्टले अहिलेसम्म सदस्यसचिवको लागि उनले दर्खास्त दिएका छैनन् तर दर्खास्त दिए विष्ट नै सदस्यसचिव बन्ने लगभग पक्का छ । यसर्थमा कि दलिय सहमतिविना विष्ट पनि दर्खास्त दिने पक्षमा छैनन् । सदस्यसचिव हुने पक्का भएपछि मात्रै विष्टको दखास्त पर्नेछ । खेलकुदमा विष्टले आफ्नो चारवर्षे कार्यकालमा दुई वटा राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरेर कीर्तिमान कायम गरेका थिए । खेलकुदको मेरुडण्ड मानिने राष्ट्रिय प्रतियोगिता आफैमा चुनौती बनिरहेको अवस्थामा विष्टले सीमित साधन-स्रोतका बाबजुद सफल आयोजना गरेर खेलाडीको हौसला बढाउनुका साथै नयाँ खेलाडी उत्पादन गर्नमा विशेष भूमिका निभाएका थिए । त्यस्तै, इण्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुद प्रतियोगिता नेपाललाई दोश्रो पटक ऐतिहासिक रजत पदक जिताउन विष्टले खेलेको भूमिका आफैमा अविष्मणीय छ । साथै आफ्नो कार्यकालमा खेलकुदलाई साझा थलोको रूपमा विकास गरेका कारणले पनि विष्टलाई शीर्ष नेतात्रयले पत्याउने सम्भावना त्यत्तिकै बलियो देखिन्छ । विष्टले पनि सदस्यसचिवमा दर्खास्त दिने चर्चा चलिरहँदा उनीसँग सम्पर्क गर्दा प्रतिक्रिया थियो- ‘दर्खास्तको चर्चा चल्नुको कारण मैले राखेपको सदस्यसचिव हुँदा राम्रो काम गरेकै प्रभावस्वरुप होला । त्यसैले सबैको चाहना भए मैले दर्खास्त हाल्ने हो, अवसर पाए पुनः राखेपको जिम्मेवारी सम्हाल्न तयार छु । यसमा लुकाएर कुरा गर्नुपर्ने केही छैन ।’

पछिल्लो समय राखेपको सदस्यसचिवको नियुक्ति सम्बन्धमा केही व्यक्तिले भ्रम फैलाउने कार्य गरे पनि त्यस्तो किसिमको कुनै गतिविधि नभएको माओवादीनिकट खेलकुद महासंघका पदाधिकारीले बताएका छन् । ती पदाधिकारीले भने- ‘अहिलेसम्म यहाँबाट सदस्यसचिवको लागि कुनै सिफारिस भएको छैन, यो खुला प्रतिस्पर्धा हो, जो योग्य र सक्षम छ त्यही ब्यक्ति सदस्यसचिव नियुक्ति हुनेछ ।’ साथै यतिबेला गठबन्धनको सरकार भएकोले जुनसुकै पार्टीको योग्य व्यक्ति सदस्यसचिव हुनसक्ने उनले तर्क गरे । ‘पार्टीका नेताको घरदैलो चाहेर मात्रै हुँदैन, आफू पनि योग्य हुनुपऱ्यो । आफ्नो योग्यता प्रमाणित गर्न चाकरी चाप्लुसी गरेर होइन योग्यताले नै देखाउनु पऱ्यो । त्यसको लागि खुला दर्खास्त आह्वान गरिएको छ, त्यसमा प्रतिस्पर्धा गर्नुपऱ्यो, सबैभन्दा उत्कृष्ट सावित हुनुपऱ्यो’- ती पदाधिकारीले भने ।

यसरी मन्त्रालयले सदस्यसचिवका लागि दर्खास्त आह्वान गरे पनि सदस्यसचिवको नियुक्ति भने निकै पेचिलो बन्दै गएको छ । अब योग्यता र दक्षताको लडाइँमा कसले बाजी मार्छ त्यसको प्रतीक्षा गर्नु नै उचित होला ।