भुइँमान्छेहरूको जिन्दगी ..!

भुइँमान्छेहरूको जिन्दगी ..!


  • देवकी तिमल्सिना


एकोहोरो झरिरहेको छ वर्षात्
नपत्याउने गरि घरी-घरी
डुबान र पहिरोमा पुरिएका छन् बस्ती
बालीनाली सबै सखाप पारेको छ
कहिल्यै नभेटिने गरी
हराएका छन् मानवहरू !
जिन्दगीका असीम आशाहरू
टुक्रिएका छन् सिसासरी
न किनार, न छाल रोकिएको छ
जमिनका धाँजा फटाउँदै कुँदेको छ
एक तमासले नदी
खै ! कुन नशामा मस्त छन् देश बनाउँछु भन्नेहरू
र, फलाकिरहेकाछन् बिनातयारीका योजना ।
सिङ्गै पहाड गर्लम्मै भत्किएर
विवेकहीन आतङ्क मच्चाइरहेछ
पूरै बस्तीका आँखाभरिका सपनाहरू
नियति बन्दै बगिरहेका छन्
कहालीलाग्दो ज्वारभाटासँगै
अनगिन्ती यादहरू छातीभरि बोकेर ।
मौसम पुर्वानुमान सुनाइएकै छ
विपत पूर्वतयारीका आश्वासनहरू
बग्रेल्ती छरिएकै छन्- आँखामा छारो हाल्दै
जो जाग्न पर्ने हो ऊ सुतिरहेकै छ
जो उठ्नपर्ने हो ऊ बसिरहेकै छ
विगत लामो समयदेखि मुकदर्शक भएर ।
बाढीले डुबिरहेको छ तराई
पहिरोले पुरिरहेको छ पहाड
टुटेफुटेका छरपस्ट सामानहरू
यत्रतत्र छरिएका छन्
कोकोहोलो गरी चिच्चाइरहेका छन्
एक हुल मान्छेहरू
गाँस, बाँस र निकास खोज्दै
अपुरणीय क्षति ब्यहोरेर
बाध्य छन् सुस्ताउन
आकाशको छतमुनि ।
भत्किएपछि जोड्न नमिल्दो रहेछ– धर्ती
रात गएपछि देखेको सपनाजस्तै
पटकपटक टुटेको जिन्दगी
जोड्न गाह्रो भएजस्तै
त्यसैले,
नदीले कटान गरेजस्तै गरि
भताभुङ्ग भएर भत्किएको छ ।