पूर्व न्यायाधीशका छोरा बलात्कार आरोपमा पक्राउ

पूर्व न्यायाधीशका छोरा बलात्कार आरोपमा पक्राउ



अर्बपति ब्यापारी मनोज अधिकारी बलात्कारको आरोपमा पक्राउ परेका छन् । एक समयका बहुचर्चित एवम् प्रतिष्ठित न्यायाधीश भुपध्वज अधिकारीका छोरा मनोज कार्गोलगायतका व्यापार-व्यवसायमा संलग्न रहँदै आएका थिए ।

काठमाडौंको एक रेष्टुरेण्टमा काम गर्ने सोह्र वर्षीया युवतीलाई मनोजले ललाइफकाइ शारीरिक सम्बन्ध राख्न खोजेको र युवतीले अस्वीकार गरेपछि बलात्कार गरेको अनुसन्धानबाट देखिएको छ । बलात्कार गरेपछि केही नगद युवतीको शरीरमा फालिदिएर घर फर्किएका मनोजका विरुद्ध पीडित युवतीले कमलपोखरीस्थित प्रहरी परिसरमा पुगेर उजुरी दिएपछि निजलाई पक्राउ गरी प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

यस सम्बन्धमा काठमाडौं प्रहरी परिसरमा प्रमुख अशोक सिंहसँग सम्पर्क गर्दा उहाँले मनोज अधिकारी बलात्कारको अभियोगमा पक्राउ परेको र उमेर नपुगेकी किशोरीलाई राजीखुशीमै यौन सम्पर्क राखेको भए पनि बलात्कार ठहरिने कानूनी व्यवस्था छ । तर यहाँ बालिका आफैंले मनोजविरुद्ध उजुरी दिइसकेको हुनाले उनलाई बलात्कार मुद्दा चल्ने जानकारी उहाँले दिनुभएको छ ।

मनोज अधिकारी आफ्नो व्यवसायमा अत्यन्त सफल व्यवसायी मानिन्छन् । एक समय उनले बोरामा नगद राख्ने गरेको भनेर पनि व्यापारिक समुदायमा चर्चा चल्ने गर्दथ्यो । तर युवतीहरूप्रति उनको आशक्तिलाई देखेर उनी कुनै दिन नराम्रोसँग फस्ने अनुमान मनोजका हितैषीहरूले गर्दै आएका थिए ।

सर्वोच्च अदालतको बार एशोसिएसन परिसरमा एक जना पूर्वन्यायाधीशका छोराले निर्दोष वकिलमाथि हातपात गरेको घटना सेलाउन नपाउँदै अर्का पूर्व न्यायाधीशका पुत्र बलात्कारको आरोपमा पक्राउ परेको घटना न्यायिक क्षेत्रमा दुःखद् चर्चाको विषय बनेको छ ।