दरबार त्यागेकी जापानी राजकुमारी बन्ने भइन् अमेरिकाबासी !

दरबार त्यागेकी जापानी राजकुमारी बन्ने भइन् अमेरिकाबासी !


  • टोकियो प्रतिनिधि

प्रेमका लागि दरबार त्यागेकी जापानकी पूर्वराजकुमारी माको कोमुरो अमेरिका प्रस्थान गरेकी छन् । सर्वसाधारण नगारिकसँग प्रेमविवाह गरेकी कोमुरो गत आइतबार बिहान पतिसँगै अमेरिका गएकी हुन् ।

आइतबार बिहान टोकियोको हानेदा विमानस्थलबाट माको र उनका पति केइ कोमुरो अमेरिका प्रस्थान गरेको जापानको सरकारी समाचारमाध्यम एनएचकेले जनाएको छ । नवविवाहित जोडी न्युयोर्कमा एक अपार्टमेन्ट भाडामा लिएर बस्ने बताइएको छ ।

पूर्वराजकुमारी माकोका पति वकिल हुन् र उनले न्युयोर्कस्थित एक ‘ल फर्म’मा काम गर्छन् । माकोले आफ्ना सर्वसाधारण प्रेमी कोमुरोसँग गत महिना विवाह गरेकी थिइन् । कोमुरोसँग विवाह गरेपछि उनको शाही ओहदा गुमेको छ ।

चार वर्षअघि कोमुरो र माकोबीच ‘इन्गेजमेन्ट’ भएको थियो । दुवैले सन् २०१८ मा बिहे गर्ने योजना बनाएका थिए, तर जनस्तरबाट विरोध र कोमुरोकी आमाको आर्थिक काण्डको समाचार बाहिरिएपछि उनीहरुको प्रेमसम्बन्ध विवाहमा परिणत हुन ढिलाइ भएको थियो ।

सर्वसाधारण व्यक्ति राजकुमारीको श्रीमान् हुन अयोग्य हुने भन्दै कतिपय जापानीले विरोध गरेका थिए । यस्तै, केही मिडिया रिपोर्टमा कोमुरोले पैसाका लागि माकोसँग प्रेमसम्बन्ध गाँसेको भन्दै उनलाई ‘गोल्ड डिगर’को रुपमा चित्रण गरेका थिए ।

गत महिना कोमुरोसँग बिहे गर्दा माकोले परम्परागत शाही विधि अपनाइनन् । त्यस्तै, राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगदसमेत माकोले अस्वीकार गरिन् ।

कतिपयले माको र कोमुरोको विवाहलाई बेलायती राजकुमार ह्यारी र मेगन मर्केलबीचको विवाहसँग तुलना गर्छन् । सन् २०१७ मा राजकुमार ह्यारीसँग मर्केलको ‘इन्गेजमेन्ट’ भएपछि विवाद निम्तिएको थियो ।