जब उडेका चरा पनि जमिनमा खस्न थाले

जब उडेका चरा पनि जमिनमा खस्न थाले


(प्रथम विश्वयुद्धका कारणहरूबारे ‘इपर’विशेष)

जर्मनी सेनाले विषालु ग्यासद्वारा आक्रमण शुरु गरेको कुरा इतिहासमा छ । भनिन्छ विषालु ग्यासका सिलिन्डर फुटेका कारण युद्ध लडिरहेका सैनिक मात्र मरेनन्, उडेका चराहरू धमाधम खस्न थाले । जङ्गली जनावर र चौपायाहरू पनि भटाभट मर्न थाले ।

  • डिल्ली अम्माई

आधुनिक युगमा युद्धलाई अपराधको रूपमा मानिन्छ । तर विश्वमा भएका दुई ठुला आपराधिक युद्धहरूको बारेमा नपढि इतिहासको पढाइ पूरा हुँदैन । पहिलो र दोस्रो युद्धका कारण र युद्धका असरबारे लिएका जानकारीले मानवको भविष्यप्रतिको चेष्टालाई बदलिदिन्छ । हामी नेपाली आफ्नो सरकारको आदेशले विश्वका कुनै पनि ठुला युद्धमा सहभागी भएनौँ । तर हाम्रा नागरिक रोजगारीको सिलसिलामा बेलायती भाडाका सिपाही बनेर युद्धमा सहभागी भए । साम्राज्यवादी देशहरूले हाम्रा नागरिकलाई संसारका अप्ठ्यारा र खतरनाक युद्धहरूमा लड्न पठाए । अकारण हाम्रा नागरिकहरूले कसैमाथि गोली दागे । आफू पनि अरुको स्वार्थको लागि मारिए । बेलायतसमर्थित राष्ट्रमण्डल (कमनवेल्थ)को नेतृत्वमा हजारौँ नेपालीले आफ्नो ज्यान गुमाएको स्थानमध्ये म्यान्मार, मलाया, अर्जेन्टिनाको फोकल्याण्ड लगायत युरोपको बेल्जियममा अबस्थित इपर पनि एक मानिन्छ । यस्ता युद्धका अनगिन्ती अन्य मोर्चा हुन सक्छन् जसमा गोर्खालीहरू लडेका थिए । अब चर्चा गरौँ प्रथम विश्वयुद्धको निर्णायक स्थान बेल्जियमको इपरवरपर भएको भयानक युद्धको ।

बेलायतको नेतृत्वमा रहेको मित्रराष्ट्र मण्डलको रेकर्डमा भएको तथ्यांकअनुसार २७ अगष्ट २०१४ लाहोरबाट ब्रिटिस इन्डिया कम्पनीको एक बटालियन त्यही लडाइँको लागि युरोपतर्फ लागेको विवरण भेटिन्छ । तात्कालिन भारतबाट युरोप लगिएको त्यही बटालियनमा नेपाली मूलका सैनिकहरू पनि सामेल थिए ।

२१ अक्टोबर २०१४ मा बेल्जियमको अन्तिम सामरिक किल्ला इपर कब्जा गर्न जर्मन सैनिकहरूले पहिलोपल्ट आक्रमण शुरु गरे । भीषण युद्ध आरम्भ भयो । सयौँ टन बमहरू पड्किए । त्यो कालो दिन बमसँगै हजारौँको शरीर धुजा-धुजा भयो । सुरुङबाट एक इन्च टाउको देखियो कि दुश्मन सैनिकको गोलीले ठहरै हुने ! शान्त इलाका कोलाहलयुक्त भयो । केही छिनमै घरहरू भग्नाशेषको रूपमा परिणत भए । कयौँ दिनको युद्धमा कसैले जित्न सकेनन्, मात्र हजारौँले वीरगति प्राप्त गरे । २९ अक्टोबर २०१४ मा हिटलर कार्यरत १६औँ वियर्स रिजर्भ फोर्स समेतले यो युद्धको साक्षीको रूपमा वेष्ट थोकमा आक्रमण गरेका थिए । त्यतिबेला बेल्जियममा क्याथोलिक लिबेरल पार्टीका नेता चार्ल्स द ब्रुकोएभीले (Charles de Broqueville) प्रधानमन्त्री थिए भने अल्बर्ट प्रथमचाहिँ राजा थिए । इतिहासमा २४ अगष्ट २०१५ भने कसैले बिर्सन नसक्ने कालो दिन रह्यो । पश्चिम भलान्दरको सामरिक केन्द्रलाई जसरी पनि कब्जामा लिनुपर्ने आदेश बर्लिनबाट आएपछि जर्मनी सेनाले विषालु ग्यासद्वारा आक्रमण शुरु गरेको कुरा इतिहासमा छ । भनिन्छ विषालु ग्यासका सिलिन्डर फुटेका कारण युद्ध लडिरहेका सैनिक मात्र मरेनन्, उडेका चराहरू धमाधम खस्न थाले । जङ्गली जनावर र चौपायाहरू पनि भटाभट मर्न थाले ।

संसारमा पहिलो पटक युद्ध प्रयोजनको लागि विषालु ग्यासको प्रयोग भएको थियो । तात्कालिक युद्धको रेकर्डअनुसार प्रथम विश्वयुद्धमा करिव एक लाख नेपाली मूलका सैनिक सहभागी भएको अनुमान गरिन्छ ।

दुवै विश्वयुद्धमा नेपाल र नेपालीले भाग लिनुपर्ने कुनै कारण थिएन, त्यो हाम्रो रोजीरोटीको बाध्यता थियो । ती ठुला युद्धमा विशेषगरी शक्तिराष्ट्रका आफ्ना स्वार्थहरू थिए । उनीहरूका निजी कारणहरू थिए । उनीहरूका सामरिक, व्यापारिक र औपनिवेशिक स्वार्थाका कारणले ती बिनासकारी युद्ध भए ।

भरपर्दो एकिन तथ्याङ्क नष्ट भएको भएता पनि भेटिएसम्मको रेकर्ड कमनवेल्थ वारकमिसनसँग छ । जति भेटिए तिनैलाई आधार मान्ने हो भने ब्रिटिश भारतीय आर्मीको पहिलो, चौथो गोर्खा रेजिमेन्टलगायत अन्य रेजिमेन्टमा रहेका दर्जनौँ नेपाली नाम इपरस्थत मेनन स्मारक गेटमा भेटिन्छ । मेननगेट अर्थात् इपर क्षेत्रमा वीरगति प्राप्त गरेका हज्जारौँको नाम उल्लेख भएको युद्धमा मारिएका सहिद सैनिक स्मारक !

त्यहाँ नेपाली पुर्खाहरूको नाम र वतन (ठेगाना) भेटिएपछि बेल्जियममा भएका नेपालीहरूको मन श्रद्धाले नझुक्ने कुरै भएन । त्यतिबेलाका तमु समाजका अगुवा, पत्रकार महासंघ युरोप शाखाका प्रथम अध्यक्ष महेश थापालगायतको अध्ययन टिमले तयार पारेको रिपोर्ट नेपाली राजदूतावासमा बुझाइयो । तत्पश्चात इपरको मेनन गेटमा गोर्खाली अग्रजहरूको सम्मानमा स्मारक बनाउने पहल शुरु भएको हो । तर त्यसमा पनि स्मारक कसले बनाउने भन्ने बारेमा विवाद शुरु भयो । पछि नेपाली राजदूत लोकबहादुर थापाको सुझबुझ र सरसल्लाहका कारण बेल्जियममा विभाजित नेपाली समाज पुनः एकपल्ट एकजुट भए । यो शालिकलाई प्रवासमा नेपालीको पहिचानको रूपमा अङ्गिकार गरे ।

दुवै विश्वयुद्धमा नेपाल र नेपालीले भाग लिनुपर्ने कुनै कारण थिएन, त्यो हाम्रो रोजीरोटीको बाध्यता थियो । ती ठुला युद्धमा विशेषगरी शक्तिराष्ट्रका आफ्ना स्वार्थहरू थिए । उनीहरूका निजी कारणहरू थिए । उनीहरूका सामरिक, व्यापारिक र औपनिवेशिक स्वार्थाका कारणले ती बिनासकारी युद्ध भए । प्रथम विश्वयुद्धको चरणमा शक्तिराष्ट्रहरू भर्खर औद्योगिक क्रान्तिको चरणमा थिए । उनीहरूलाई उत्पादित सामान बेच्ने बजार, इन्धन र कच्चा पदार्थ आफ्नो नियन्त्रणमा लिन चाहन्थे । त्यसैले अनेक कारणहरूको बीचमा फिटिएर विश्वयुद्ध शुरु भएको थियो । कारणहरू अनगिन्ती हुन सक्छन् तर यहाँ केही मुख्य कारणहरू जसले प्रथम विश्युद्धलाई जन्माएको थियो बारे छलफल गर्न खोजिएको हो ।

तात्कालिक परिस्थितिमा युद्धका कारणहरूको आधारभूमिबारे :

रोमन साम्राज्यको पतन तथा जर्मनीहरूद्वारा स्थापित साम्राज्यले विकास गर्दै गएको अवस्थामा युरोपको भविष्य जर्मनीहरूद्वारा निर्देशित हुने परिस्थिति सृजना भयो । युरोपमा राजनैतिक अस्थिरताका चार दशकपछि जर्मनीप्रतिको युरोपियन अपेक्षामा बढोत्तरी भयो । त्यो अवस्थामा युरोपियन प्रभुत्वको लागि फ्रान्सले जर्मनीविरुद्ध रुससँग घनिष्ट सम्बन्ध बनाएर अगाडि बढ्ने निर्णय गऱ्यो । तर प्रारम्भमा बेलायतले भने युरोपियन महादेशमा सबैसँग समान दूरीको सम्बन्ध बनाइरह्यो ।

तर जर्मनीको विशाल नौसेनाको विकास र आधुनिक हतियार निर्माणको तीव्रताले बेलायत झस्कनु स्वाभाविक थियो । त्यसैको परिणामस्वरुप बेलायती सरकारले फ्रान्स-रुस समूहसँग घनिष्ट सम्बन्ध बनाउने नीति लियो । जर्मन सम्राट विलियम द्वित्तीयको साम्राज्य बिस्तार योजनाले जर्मनीलाई युरोप र एसियानजिकका सामुन्द्रिक बन्दरगाहहरू आफ्नो नियन्त्रण गर्ने अभियानतर्फ उत्प्रेरित गऱ्यो, जसले गर्दा बेलायत, जापान र अमेरिका जर्मनीका स्थायी दुश्मन बन्न पुगे ।

अर्कोतर्फ बेलायतलाई कुनै पनि बेला जर्मनी सेनाले आक्रमण गरेर आफ्नो देश जर्मन साम्राज्यमा बिलय हुन सक्ने डर थियो । त्यसैले उसले आफ्नो असंलग्न नीतिमा पुनर्विचार गर्दै फ्रान्स रुस गठबन्धनमा लाग्यो । युरोपियन देशहरूले एकआपसमा गोप्य सम्झौता गरेर आन्तरिक सक्ति संचय गरिरहेका थिए । त्यो देखेर बेलायतले आफ्नो नियन्त्रण क्षेत्रमा हस्तक्षेप नगर्न जर्मनी सरकारसमक्ष सन्धिको प्रस्ताव गऱ्यो । तर जर्मनीले बेलायतको उक्त प्रस्तावलाई अस्विकार गरिदियो ।

अन्तमा बेलायतले १९०२ ई.सं.मा जापानसँग, १९०४ मा फ्रान्ससँग र १९०७ ई.सं.मा रुससँग सुरक्षा तथा सहयोग आदानप्रदानको लागि सम्झौता गऱ्यो । यसरी त्रिराष्ट्रिय सम्झौताको माध्यमबाट एउटा शक्तिशाली मित्रमण्डलीको जन्म भयो । त्यसपछि युरोप परस्पर विरोधि दुई गुटमा विभाजित भयो ।

यी सन्धिहरू सुरक्षाको अनुभूतिका लागि गरिएका थिए तर सन्धिको असरले झन् तीव्र गतिमा युद्धको वातावरण बनाउन थाल्यो । उता जर्मनी, अष्ट्रिया र रुसको पुरानो मैत्री सन्धि थियो । जर्मनीले हंगेरीसँग पनि सन्धि गरेको थियो । जसमा इटाली पनि मिल्न आउँदा अर्को गुटले जन्म लियो ।

जर्मनी एकीकरणका महानायक विस्मार्क सत्तामा रहुन्जेल रुसले जर्मनीको साथ छोडेन । विस्मार्कको पतनपछि रुस बेलायती खेमामा गयो । खिचातानीको यो विषम परिस्थितिमा फ्रान्सले पनि इटलीसँग गोप्य सम्झौता गरेर आफ्नो सुरक्षा स्थितिलाई सहज बनायो । पछि १९१२–१३ ई.मा बाल्कन युद्धको कारणले अष्ट्रिया र रुसको बीच सत्रुता बढ्दै गयो । जसको कारण विश्वयुद्धलाई झन् सन्निकट तुल्याइदियो ।

इतिहासविदहरूले १९१४ ई.बाट शुरु भएको युद्धका धेरै कारणमध्ये बेलायत, जर्मनी र फ्रान्सको साम्राज्यवादी नीतिलाई मुख्य कारण मान्दछन् । १८७० ई.पछि जर्मन चान्सलर विस्मार्कले फ्रान्सलाई एक्लो बनाउन युरोपेली राष्ट्रहरूसँग गोप्य सन्धिहरू गर्न शुरु गरेका थिए । प्रथम विश्वयुद्धको अर्को कारण युरोपले अँगालेको अन्धराष्ट्रवादी नीति पनि हो । जर्मनी र इटालीले आफ्नो देशको एकीकरण अभियान पूरा गरेपछि रचनात्मक राष्ट्रियताको पूर्ववत नीतिबाट पछि हट्दै उग्र राष्ट्रवादी नीति अँगाले । प्रत्येक राष्ट्रले आफ्नो सभ्यता, संस्कृति, धर्म र भाषालाई अरुको भन्दा श्रेष्ठ ठान्ने नीतिले कट्टरतालाई जन्म दियो र त्यही कट्टरतापछि युद्धको कारण बन्ने स्तरमा पुग्यो ।

त्यस्तै १८औँ शताब्दिमा भएको औद्योगिक क्रान्तिले उत्पादनलाई गुणात्मक रूपमा विकास गऱ्यो, त्यसपछि बजार कब्जा गर्ने होडबाजी शुरु भयो । सस्तो मूल्यमा कच्चा पदार्थ जम्मा गर्ने र उत्पादित बस्तुको अधिक मुल्यमा बिक्री गर्ने औद्योगिक पुँजिवादको त्यही चरणमा शुरु भएको मानिन्छ । त्यही कारण युरोपियनहरूले संसारका धेरै महादेशहरूलाई आफ्नो उपनिवेश बनाए । बेलायत, फ्रान्स र रुसले आफ्ना उपनिवेशहरू बढाउँदै लागेको देखेर इटाली, पोर्तुगल, स्पेन र जर्मनीले पनि आफ्नो औपनिवेशिक अभियानमा तिव्रता दिए ।

यसरी प्रथम विश्वयुद्धको प्रमुख कारण उत्पीडित राष्ट्रको कच्चा पदार्थ हडप्ने प्रतिस्पर्धा हो । त्यसको लागि जर्मनीले टर्कीका सुल्तानसँग मित्रता कायम गर्दै जर्मनीदेखि बग्दादसम्म रेलमार्ग बनाउने प्रस्ताव गऱ्यो । यो प्रस्तावले बेलायत हायलकायल भयो । यो प्रस्तावबाट बेलायतले आफ्नो भारतीय उपनिवेशका लागि खतरा देख्न थाल्यो । त्यहि कारणले नै निशस्त्रीकरणका लागि १९०७ ई.मा आयोजना गरिएको हेग सम्मेलन असफल पारियो । त्यसपछि प्रायः सबै युरोपेली देशहरूले अनिवार्य सैनिक सेवा गर्नुपर्ने नीति ल्याए । यसरी १८७१ देखि १९१४ ई.सम्मको युगलाई युरोपको सशस्त्र शान्तिको युग भनिन्छ ।

जर्मनी र फ्रान्सको १ सेप्टेम्बर १८७० ई.मा युद्ध भयो । फ्रान्सका सम्राट नेपोलियन तृतीयले ८३ हजार सैनिकसहित जर्मनी सेनासँगको युद्ध हारे र आत्मसमर्पण गरे । नेपोलियन तृतीयलाई जर्मनले युद्धबन्दी बनायो । त्यसको लगत्तै १० मई १८७१ मा फ्र्याङफोर्डमा सन्धि भयो । उक्त सन्धिअनुसार फ्रान्सले फलाम र कोइलाखानी भएको आफ्नो महत्वपूर्ण भूभाग जर्मनलाई बुझाउनुपर्ने भयो । फ्रान्सले त्यो अपमानलाई बिर्सन सकेन र बदलाको समय कुरेर बसिरह्यो । त्यो सम्झौता पनि प्रथम विश्वयुद्धमा यौटा कारण बनेर रहेको थियो ।

त्यस्तै अर्कोतिर अष्ट्रियाका टेण्टिनो, ट्रित र इष्ट्रिया जस्ता इटालियनहरू बस्ने इलाकाहरूमा इटालीको दाबी थियो । त्यो दाबीलाई अष्ट्रियाले अस्विकार गरेपछि इटालीसँग भएको मैत्री सन्धि भङ्ग भयो । त्यसपछि इटाली फ्रान्ससँग आएको हो । यसले पनि छिमेकी देश अष्ट्रिया र इटालीबीच युद्धको आधार तयार पारेको हो ।

अर्को जटिल समस्या बोस्निया र हर्जगोभिनाबीच रहेको थियो । बर्लिन सन्धिअनुशार बोस्निया र हर्जगोभिना अष्ट्रिया-हंगेरीका थिए । तर यी दुवैलाई सासन गर्ने स्वायत्त अधिकार दिइएको थियो । त्यस सन्धिलाई भङ्ग गर्दै १९०८ ई.मा यी दुवै प्रान्तहरूको शासन गर्ने स्वायत्त अधिकार खोसी अष्ट्रिया-हंगेरीले आफ्नो हातमा लिए । सर्भियाले अष्ट्रिया-हंगेरीको उक्त कदमको विरोध गऱ्यो । त्यसको बदलामा स्लाभ जातिलाई एक सुत्रमा बाँध्न सर्भियाले दिमित्री जेभिजको नेतृत्वमा ‘ब्ल्याक ह्याण्ड’ नामक भूमिगत समिति बनायो । त्यही भूमिगत गिरोहको योजनामा अष्ट्रियन युवराज फ्रान्सिस फर्डिनाण्ड र उनकी पत्नीको हत्या भएको थियो ।

अष्ट्रिया र हंगेरीले त्यो हत्या योजनाको दोष सर्भियामाथि लगायो । तत्काल कडा सर्तहरू राखेर सर्त पूरा नगरे २८ घण्टाभित्र युद्ध गर्ने धम्की दियो । सर्भियाले अष्ट्रिया-हंगेरीको उक्त चेतावनीलाई अस्विकार गऱ्यो । अन्त्यमा २८ जुलाई १९१४ मा दुई देशबीच घमासान युद्ध सुरु भयो । त्यही युद्ध जेलिएर पछि विश्वयुद्धको रूप लिएको हो ।