नेपाली चलचित्र उद्योगले बिर्सन नसक्ने अभिनेत्री : ह्याप्पी बर्थ डे सन्नी !

नेपाली चलचित्र उद्योगले बिर्सन नसक्ने अभिनेत्री : ह्याप्पी बर्थ डे सन्नी !


सन्नी नेपाली चलचित्र क्षेत्रबाट पर भएको धेरै वर्ष बितिसक्यो । नेपाली चलचित्रमा उनको प्रत्यक्ष सहभागितामा कमी आइसकेको छ या उपस्थिति नै छैन भन्दा हुन्छ । तैपनि उनको २६ वर्ष अगाडिको त्यो गरिमामय उपस्थिति, प्रभाव र नेपाली सिनेमा विधामा सन्नीले हासिल गरेको उचाई तेस्रो पुस्तासम्म आइपुग्दा पनि चर्चामै छ ।
  • राजन घिमिरे

कलाकारिताको नाममा उल्टासुल्टा हर्कत गरेर आफ्नो अस्तित्व दर्शाउन खोज्ने प्रवृत्ति आज मात्र नभइ पहिलेदेखि नै चलिआएको छ । आफ्नै छवि धुमिल्याएर या साख गिराएर पनि चर्चामा रहन खोज्ने प्रवृत्ति धेरै कलाकर्मीमा देखिन्छ । तर, यसरी सस्तो चर्चाको साथ कहिल्यै चाहिएन अभिनेत्री सन्नी रौनियारलाई । उनले आफ्नो कलाकारिता जीवनमा मुस्किलले आधा दर्जनजति चलचित्रमा मात्र काम गरिन्, तर आज २६ वर्ष बितिसक्दा पनि कलाफाँटमा सन्नीको व्यक्तित्वको चर्चा र उनको प्रतिभा-क्षमताको तारिफमा कमी आएको छैन । चलचित्र ‘प्रेमपिण्ड’मा पहिलो पटक क्यामेरा ‘फेस’ गरेकी सन्नीले पहिलो चलचित्रबाटै चर्चा, सफलता र सम्मान हात पारेकी थिइन् ।

चलचित्र ‘प्रेमपिण्ड’को मूल पात्र या प्रमुख चरित्रको रुपमा प्रभावशाली छाप छोड्न सफल सन्नीलाई खासगरी निर्देशक यादव खरेलको रचना, शम्भुजित बासकोटाको संगीत र आशा भोषलेको आवाज रहेको ‘गैह्री खेतको शिरै हान्यो..’ गीतले अविष्मरणीय रुपमा स्थापित गराएको थियो, जुन गीतकै कारण सन्नी रौनीयारलाई आज तेस्रो पुस्ताले पनि भुलेका छैनन् । जब यो गीत कहीँकतै सुनिन्छ तब दर्शक श्रोताको आँखामा सन्नीको मोहक नृत्य आइहाल्छ । यादव खरेलको निर्देशनमा बनेको उक्त कालजयी चलचित्र र गीत रचना अनि शंभूजित बासकोटाको सदाबहार संगीतले चलचित्र प्रेमपिण्डलाई युगौँसम्म सम्झाइरहनेछ भन्ने कुरा अकाट्य नै हो ।

‘गैह्रीखेतको शिरै हान्यो..’ गीतको सफलता र प्रशंसापछि सन्नीले कहिल्यै पनि पछाडि फर्केर हेर्नु परेन । आजसम्म पनि सन्नी र गैह्रीखेतको शिरै हान्यो… एकअर्काको पर्यायवाची नै बनेर रहेका छन् ।

सन्नी नेपाली चलचित्र क्षेत्रबाट पर भएको धेरै वर्ष बितिसक्यो । नेपाली चलचित्रमा उनको प्रत्यक्ष सहभागितामा कमी आइसकेको छ या उपस्थिति नै छैन भन्दा हुन्छ । तैपनि उनको २६ वर्ष अगाडिको त्यो गरिमामय उपस्थिति, प्रभाव र नेपाली सिनेमा विधामा सन्नीले हासिल गरेको उचाई तेस्रो पुस्तासम्म आइपुग्दा पनि चर्चामै छ । आगामी कति पुस्ताले अझै ‘गैह्री खेत…’ गाउने हुन् भन्न सकिन्न । यो गीत जसले जतिबेला गुन्गुनाए पनि, गाए पनि उक्त गीतसँग जोडिएकी सन्नीलाई नसम्झि सुखै छैन । सन्नी जस्ती कालजयी अभिनेत्रीको आज जन्म दिन…। सन्नी रौनियारलाई जन्मदिनको मुरी-मुरी शुभकामना…!!