‘उमेर र अवस्था विचार गरी देउवाजीले छोडिदिनु राम्रो’

‘उमेर र अवस्था विचार गरी देउवाजीले छोडिदिनु राम्रो’


रेवतीप्रसाद भुसाल
(काङ्ग्रेस नेता एवम् पूर्व पर्यटन राज्यमन्त्री)

० काङ्ग्रेस पार्टीभित्र एक इमानदार पुराना नेताको रूपमा चिनिनुहुने तपाईं पछिल्लो चरणमा पार्टी-राजनीतिबाट ओझेल पर्नुभएको महसूस गरिएको छ । तपाईंले सक्रिय राजनीतिक जीवन परित्याग गर्नुभएको हो कि अझै राजनीतिमै हुनुहुन्छ ? वास्तवमा यतिबेला तपाईं के गरिरहनुभएको छ ?
– मेरो पारिवारिक विरासद या संस्कारका कारण म नेपाली काङ्ग्रेसमा आवद्ध भएको हुँ र, अहिले पनि उत्तिकै सक्रिय राजनीतिमा छु । वि.सं. २०२५ मा काठमाडौंमा अध्ययन गर्ने क्रमदेखि म राजनीतिमा लागेको थिएँ र राजनीतिबाट अहिले पनि अलग रहेको छैन । तपाईंले भन्नु भएजस्तो राजनीति परित्याग गरेको नभइ २०६२/६३ तिर शारीरिक अस्वस्थताका कारण केही समय भौतिक रूपले निस्क्रिय जस्तो देखिए पनि मानसिक तवरले म पार्टी-राजनीतिमा सक्रिय नै थिएँ । हामीकहाँ व्यक्ति कुनै पदमा भए सक्रिय देख्ने र पदीय जिम्मेवारी नभएको अवस्थामा निस्क्रिय ठन्ने प्रवृत्तिले जरो गाडेको छ । २०६४ सालदेखि म सक्रिय राजनीतिमै छु तापनि २०५८ सालदेखि नै म पदीय जिम्मेवारीमा चाहिँ रहिनँ । यस अर्थमा साथीहरूले सक्रिय छैन कि भनी जिज्ञासा राख्नु स्वभाविक भए पनि म पार्टीका गतिविधिमा म सक्रिय छु ।

० राजनीतितर्फ लाग्न कुनै खास कारणले प्रेरित हुनुभएको थियो कि ? अनि राजनीतिक रूपले उद्देश्यप्राप्तिमा तपाईं कति सफल या असफल हुनुभयो, आफैंलाई कस्तो लाग्छ ?
– मेरो बुबा काङ्ग्रेस भएकैले घरमा बसिरहेको बेला पनि २०१८ सालमा तत्कालिक सरकारले प्रहरी लगाएर घरबाटै पक्रेर लग्यो । यसैगरी, मेरो पाठशालाका गुरु ज्ञानेश्वर पण्डितलाई २०१८ सालमै सेना आएर अर्घाको मैदानमा नराम्रोसँग कुट्यो । वहाँ राजनीतिमा सक्रिय नभए पनि वहाँको दोष भन्नु नै ‘काङ्ग्रेसको नातेदार’ हुनु रहेको थियो । त्यसपश्चात तानाशाही पंञ्चायती व्यवस्थाप्रति मलाई घृणा जागेर आयो । पछि मैले थप बुझ्दै गएँ र बाल्यकालदेखि नै पञ्चायती व्यवस्था अनि कम्युनिष्ट भन्ने तत्वबाट वाक्क भइ म नेपाली काङ्ग्रेसमा प्रतिबद्ध भएको हुँ । जहाँसम्म राजनीतिक उद्देश्यमा सफल वा असफलको सवाल छ, राजनीतिमा लागेर मैले आत्मग्लानी हुने खालका कुनै कार्य नगरेको हुँदा यसको निक्र्योल गर्ने जिम्मा जनताकै पोल्टामा छोडिदिन चाहन्छु ।

० तपाईंमाथि यतिबेला धेरै समय काठमाडौंमा बस्ने, जिल्लामा कम देखापर्ने गरेको आरोप छ, यसो गर्दा सक्रिय राजनीतिमा असर पर्दैन र ?
– काठमाडौमा बसेको सत्य हो । वि.सं. २०५७ सम्म म आफ्नै पुर्ख्यौलीथलो अर्घामै बस्ने गरे पनि माओवादीले कथित जनयुद्धको नाममा अचाक्ली गरेको कारण गाउँको घरमा बस्न सक्ने अवस्था रहेन । त्यतिबेला मलाई बस्नका लागि बासको आवश्यकता थियो । ०३५ सालतिर सुर्खेतमा मैले खरिद गरेको जमिन थियो । त्यही जमिन बिक्री गरेर एउटा बास काठमाडौंमा बनाएको हो र, पछिल्लो समयमा ९० प्रतिशत जिल्लामै र १० प्रतिशत जति काठमाडौंमा बिताउने गरेको छु । तथापि, साथीहरूले मलाई पूरै जिल्लामा बसोस् भन्ने सोचका साथ काठमाडौंबासी बनेको भनी गुनासो गरेका हुन सक्छन् ।

० काङ्ग्रेसमा इमानदार नेता-कार्यकर्ताको कदर गरिँदैन भन्ने आरोपसँग कति सहमत हुनुहुन्छ ?
– काङ्ग्रेसमा मात्र नभइ नेपालको समग्र राजनीतिमा यस्तै भइरहेको छ । इमान्दार कार्यकर्ताहरू पछाडि पर्ने र अवसरवादीहरू अगाडि आउने पुरानै प्रचलन हो । बुझ्नुपर्ने कुरा भनेको यतिबेला चाटुकारहरूको बाहुल्यता भए पनि इमानदार कार्यकर्ताहरूले अवसरवादी चाटुकारको पछाडि नलागी आफ्नो सक्रियता कायम राख्नुपर्छ । पार्टीको हितमा सक्रियतापूर्वक लाग्नुपर्छ र ढिलै भए पनि इमानदार कार्यकर्ताहरूको उचित सम्मान हुने नै छ । चाटुकारहरूलाई नेताले रुचाउने प्रचलनचाहिँ नौलो होइन ।

० नेपाली काङ्ग्रेसभित्र देउवा, पौडेल र सिटौला गरि तीन धार रहेको चर्चा छ, तपाईंको विचारमा कुन धार पार्टीको लागि उपयुक्त हो ?
– नेपाली कांग्रेसमा तीन धार मात्र नभइ त्योभन्दा धेरै धार या गुटहरू रहेका छन् । मेरो धारणा भनेको जसले जनतालाई राजनीतिक आन्दोलनमा सामेल वा सक्रिय तुल्यायो त्यसले एउटा वैचारिक नेतृत्व गरेको छ । त्यस्तै खालको विचार दिने नेतृत्व आउनुपर्छ र म त्यही धारमा छु । मेरो व्यक्तिगत धारणामा अहिलेको स्थापित नेतृत्वले राम्रोसँग काम गर्न सकेको छैन र, असफल बनिसकेको कारण यसलाई परिवर्तन गरिनुपर्छ भन्ने मान्यता लिएको छु । यसको अर्थ म कुनै खास धारको पक्षमा भने छैन ।

० तपाईं अबको काङ्ग्रेस नेतृत्व कस्तो हुनुपर्छ भन्ने ठान्नुहुन्छ ? वर्तमान सभापति देउवाले पुनः नेतृत्वको चाहना राख्नुलाई कसरी लिनुभएको छ ?
– नेतृत्वका बारेमा मैले माथि पनि भनिसकेको छु र चाहना राख्नुलाई अस्वभाविक भन्न मिल्दैन । तर देउवाले कुनैबेला पार्टी फुटाएर पनि सभापति बन्नुभयो र पुनः संयुक्त भएर पनि सभापति बन्नुभएको छ । वहाँको अवधि चार वर्षको थियो र पनि चार वर्षले नपुगेर एक वर्ष थप्नुभयो, अझ त्यत्तिले पनि नपुगेर संविधानले दिएको सहुलियतको सहारामा ६ महिना थप्नुभयो । यतिबेला अवैधानिक सभापति बनिसक्दा पनि वहाँलाई हालसम्म सभापति मानिरहेका छौँ । अझै वहाँलाई कहिलेसम्म सभापति मान्नुपर्ने हो भन्ने एकप्रकारको सन्त्रास काङ्ग्रेसजनमा पैदा भएको छ । उमेर र शारीरिक-मानसिक अवस्थाका आधारमा अब निर्वाचनमा जानुपूर्व वहाँले स्वेच्छाले राजनीतिबाट अवकास लिनुभएमा उहाँले आफूलाई थप सम्मानित तुल्याउनुहुनेछ भन्ने मलाई लाग्छ ।

० पटक-पटक सर्दै आएको काङ्ग्रेस महाधिवेशनको प्रक्रिया बल्लतल्ल शुरु भएको छ र पनि कैयन जिल्लामा अझै विवाद कायम छ । यस पृष्ठभूमिमा आगामी मंसिरमा पनि १४औँ महाधिवेशन हुन नसक्ने आशङ्का समेत गरिएका छन्, के अझै महाधिवेशन नहुने सम्भावना छ ?
– महाधिवेशन ०७६ सालको फागुनमै हुनुपर्ने थियो र इच्छा भएको भए सो समयमै महाधिवेशन गर्न कुनै बाधा थिएन । त्यसपछि धेरै कार्यतालिका आए र यतिबेलासम्म पाँचपटकसम्म तालिका फेरिएको छ । कुनै वैधानिकता छैन, पार्टीको विधानलाई पालना गरिएको छैन । आशा गरौँ- महाधिवेशन होस्, तर महाधिवेशन नहुँदासम्म विश्वास गर्न सकिने अवस्थाचाहिँ रहेन ।

० काङ्ग्रेसको असन्तुष्ट पक्षबाट सभापतिमा सहमतिको उम्मेदवार चयन हुने सम्भावना कति देख्नुहुन्छ नि ?
– सम्भावना छ, सम्बन्धित सबै नेताले प्रयास गरिरहनुभएको छ । सञ्चारकर्मीहरूको भेटमा पनि मिलेर जान्छौंँ भन्नुभएको छ । त्यसैले आशा गरौँ, मिलेर जानुहुन्छ होला ।

० काङ्ग्रेसले माओवादीको काँध चढेर सरकारको नेतृत्व लिएकोप्रति कैयनले आलोचना गरेका छन्, काङ्ग्रेसले आफ्नो सिद्धान्त छोडेर ‘बामपन्थी काङ्ग्रेस’ बन्यो भन्ने आरोप पनि छ, तपाईंचाहिँ यी सवालमा कस्तो धारणा राख्नुहुन्छ ?
– काङ्ग्रेसले माओवादीको काँधमा चढेर सरकारमा गयो अर्थात् बामपन्थी काङ्ग्रेस बन्यो भन्ने कुरामा म सहमत छैन । व्यक्तिगत रूपमा काङ्ग्रेसले सरकारको नेतृत्व गर्नु हुँदैन भन्ने मान्छे हो किनकि १६५ मा २३ सिट जितेको काङ्ग्रेस हो र सत्तामा जाने कुनै म्यान्डेट काङ्ग्रेसलाई थिएन । कम्युनिष्टहरूले दुई तिहाई बहुमत पाएर पनि सरकार चलाउन सकेनन् अनि आफैमा विभाजित हुन पुगे । चाहेर पनि त्यतिबेला केपी ओलीको विरुद्धमा रहेका कम्युनिष्टलगायतका अन्य शक्तिहरूले सरकार बनाउन सकेनन्, उल्टै काङ्ग्रेस सभापति देउवालाई प्रधानमन्त्री बन्न आग्रह गर्न पुगे । अनि मात्र देउवाले पनि प्रधानमन्त्री हुने इच्छा दर्शाउनुभएको हो । सबैको आग्रहमा प्रधानमन्त्री बनेको हुँदा कम्युनिष्टको काँध चढेको भन्न मिल्दैन । संसद्को एउटा सदस्यको हैसियतमा देउवाजीले दाबी गर्नुभयो र १४९ सांसदले समर्थन गरेकाले अनेक आरोप लगाउन मिल्छ जस्तो लाग्दैन ।

० यतिबेला एमसीसीको विषयले सिङ्गै नेपाल तरङ्गित भएको छ । हरेक राजनीतिक दलभित्र यसबारे फरक-फरक मत रहेको देखिन्छ । चर्को विरोधका बाबजुद काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री एमसीसीको पक्षमा छन्, तर संसदबाट पास गराउन सकिरहेका छैनन् । यस मुद्दालाई तपाईंले चाहिँ कसरी लिनुभएको छ ? के एमसीसी नेपालको लागि अहितकारी नै हो त ?
– एमसीसी चर्चामा आइसकेपछि मैले त्यसको नेपाली र अङ्ग्रेजी दुवै भाषाका सम्झौतापत्र अध्ययन गरेको थिएँ । एमसीसीका बारेमा अनावश्यक हौवा फैलाइएको छ, जसरी अरुण तेस्रो योजना आउँदा सबै सिद्धिन्छ, बर्बाद हुन्छ भनेर हल्ला फिजाइँएको थियो । जबकि अरुण तेस्रो नेपाल आफैले बनाउँदै थियो, विश्वबैंक आदिको सहयोगमा । यो विरोध गराउने काम पनि कम्युनिष्टकै हो । एकतिर भारतीय विस्तारवाद भनी फलाक्ने अर्कोतिर सम्झौता पनि आफैले गराउने रवैया उनीहरूले दर्शाए । एमसीसीको बारेमा पनि अमेरिकी सेना आउँछ, यस्तो गर्छ त्यस्तो गर्छ भन्ने हौवा चलाएका छन् । सम्झौतापत्रमा त सेनाका कुरै छैन । सहयोग गरेवापत केही अमेरिकन मान्छेहरू आउन सक्छन् जुन अहिले पनि अमेरिकी सहयोगका विभिन्न निकायहरूमा आएकै छन् । सेना आउने कुरा सम्झौतामा उल्लेख पनि छैन र सात समुन्द्र टाढा रहेको अमेरिकाले चाहेर पनि यहाँसम्म सेना ल्याएर चकचकी गर्न सक्दैन । त्यसका लागि भारत र चीनले आकाशमार्ग दिनुपर्ने हुन्छ जो सम्भव देखिँदैन ।

० एमसीसीलाई नेपालको कानुनले छुन नसक्ने प्रावधान गरिएको कुरा साँचो होइन त ?
– त्यो साँचो होइन । कुनै परियोजना आउँदा हामीले आफ्नो स्वार्थमा आयोजना प्रमुख फेरिदिने गरेको कारण उनीहरूले निश्चितता खोजेका मात्र हुन् । उनीहरूले यहाँ गर्ने भनेको सडक र ट्रान्समिटर लाइन बनाउने मात्रै हो । एमसीसी योजना अमेरिकाले लादेको नभइ नेपाल आफैले मागेको परियोजना हो । यसमा कम्युनिष्टदेखि सबै सरकार संलग्न छन् । यस परियोजनाको माध्यमबाट नेपाल अगाडि बढ्ने हो कि भन्ने चिन्ता छिमेकी भारतलाई परेको छ, चाइनालाई भन्दा बढी भारतलाई पिर छ एमसीसी विषयमा ।

० अन्त्यमा, तपाईंलाई व्यक्त गर्न मन लागेको तर प्रश्नमा नसमेटिएको केही कुरा छ कि ?
– नेपाली जनताको सुख र सम्पन्नताका लागि स्थापना भएको नेपाली काग्रेसमा इमान्दारितापूर्वक लागौँ र त्यसमा समर्पित हुने नेतृत्वमा हामी व्यक्तिगत स्वार्थ छाडेरै लागौँ । म नेपाली काङ्ग्रेसमा लागेर देशलाई के दिन सकेँ भन्ने आत्मसमीक्षाका साथ अघि बढ्यौँ भने सुन्दर नेपाल निर्माण गर्न सकिन्छ भन्ने मेरो बुझाइ हो ।


प्रस्तुति : मुक्तिनाथ भुसाल