‘सेतु’ बन्दै माधव !

‘सेतु’ बन्दै माधव !


छिमेकी राष्ट्र चीनमा राजदूत बनाउन माधव नेपाल समूहले दाबी गरेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । विगत दुई वर्षयता माधवकुमार नेपालले चिनियासँगको सम्बन्ध निकै मजबूत बनाउनुभएको छ । इसाइप्रति अत्यन्त कठोर मानिने चीन र इसाइमैत्री व्यवहार गर्दै आउनुभएका माधव नेपालबीच कसरी सम्बन्ध कसिलो बन्न पुगेको हो, आश्चर्यको विषय बनेको छ ।

चिनियाँ विदेशमन्त्री वाङसँग माधव नेपालको राम्रो सम्बन्ध गाँसिएकै कारण तत्कालिक प्रधानमन्त्री केपी शर्मा ओली र चीन सरकारबीचको सम्बन्धमा प्रतिकुल असर परेको थियो । पछिल्लो समयमा चीन र प्रचण्डबीच सम्बन्धको सेतु पनि माधव नेपाल नै बन्नुभएको बुझिन्छ । आफ्नै बोली र व्यवहारका कारण प्रचण्डले चीनको विश्वास गुमाउनुभएको थियो । माधवको मध्यस्थतामा चीन र प्रचण्डबीच विश्वासको पुनर्बहाली प्रयास हुँदै आएको छ ।

एमसीसी प्रकरणमा प्रचण्ड र माधव नेपालको भूमिकाबाट चीन प्रशन्न भएको बताइन्छ । राप्रपाका कमल थापादेखि, मधेशकेन्द्रीत समूह र काङ्ग्रेससम्म एमसीसीको पक्षमा उभिँदा माधव र प्रचण्ड ‘दृढतापूर्वक’ एमसीसीविरुद्ध खडा हुनुलाई चीनले सकारात्मक रूपमा लिएको महसूस नेपालमा गरिएको छ । काङ्ग्रेस पार्टीसँग चीन चिसिएको सन्दर्भमा मोहन वैद्य किरण र नारायणमान बिजुक्छेले राजा र कम्युनिष्टबीच सहकार्य हुन सक्ने अभिव्यक्ति दिनु सामान्य विषय होइन । काङ्ग्रेससहितका केही समूह पश्चिमी कित्तामा उभिएपछि नेपाली राजनीति खतरनाक ध्रुवीकरणतर्फ अग्रसर भएको देखाउँछ ।

चीन, राजा र कम्युनिष्ट एकातिर हुन पुगेमा पश्चिमा र चीनको ‘प्रोक्सीवार’ नेपालमा हुने र, अन्ततः गृहयुद्धमा देश धकेलिने सम्भावना छ । वैद्य र बिजुक्छेको अभिव्यक्ति प्रचण्ड र माधव नेपालसँगको परामर्शपछि नै आएको बुझिएको छ । चीनमा आफ्नो विश्वासप्राप्त व्यक्तिलाई राजदूत चयन गर्न सक्दा गुप्त चलखेलमा सहजता हुने विश्वासमा माधव नेपाल रहनुभएको बुझिएको छ । त्यसैले चीनमा आफ्नो मानिसलाई राजदूत बनाउन माधव नेपालले विशेष जोड दिनुभएको छ । अन्य विश्वासप्राप्त व्यक्ति नभेटिए आफ्नै एउटा भाइलाई भए पनि चीनको राजदूत बनाउने मानसिकतामा माधव नेपाल रहनुभएको उहाँका निकटवर्तीहरूको भनाइ छ ।