१३ मंसिर २०७८, सोमबार

अरुण-४ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति प्राधिकरणलाई

  प्रकाशित मिति
८ कार्तिक २०७८, सोमबार १०:४४


अरुण नदीमा पहिचान भएको ४९० मेगावाट क्षमताको अर्धजलाशयुक्त अरुण-४ जलविद्युत् आयोजनाको सर्भेक्षण अनुमतिपत्र सरकारले नेपाल विद्युत् प्राधिकरणलाई दिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्खुवासभाको भोटखोला र मकालु गाउँपालिकामा पर्ने आयोजनाको अनुमतिपत्र प्राधिकरणलाई दिने निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले अरुण-४ आयोजनाको अनुमतिपत्र प्राधिकरणलाई दिइएको पुष्टि गर्नुभयो ।

विद्युत् विकास विभागले आयोजनाको विस्तृत डिजाइन तथा अध्ययन गरिसकेको छ । प्राधिकरणले आयोजनाको लाइसेन्सका लागि विद्युत् विभागमा गत २९ भदौमा आवेदन दिएको थियो । प्राधिकरणले आयोजनाको लाइसेन्स आज प्राप्त गरेको छ । अरुण-४ प्राधिकरणले निर्माण गर्न लागेको निर्माण गर्न लागेको १०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको विद्युत्गृहभन्दा तल्लो भागमा पर्दछ । अरुण-४ को लाइसेन्स पाएसँगै अरुण नदीमा प्राधिकरणले एक हजार ५५१ मेगावाटका दुई आयोजना एकसाथ अगाडि बढाउने छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण र अरुण-४ गरी एक हजार ५५१ मेगावाटको आयोजनाको निर्माण समानान्तररुपमा ‘जनताको जलविद्युत् कायक्रम’अन्तर्गत अगाडि बढाइने जानकारी दिनुभयो ।

‘अरुण-४को लाइसेन्स पाउनु प्राधिकरणका लागि ज्यादै खुसीको कुरा हो, माथिल्लो अरुण र अरुण-४ आयोजनालाई उच्च प्राथमिकतामा राखी निर्माण तथा लगानी मोडालिटी एक/डेढ वर्षभित्रमा टुङ्ग्याएर अगाडि बढाउँछौँ’, घिसिङले भन्नुभयो ।

आयोजनाबाट प्राप्त हुने लाभ आम नागरिकलाई पनि उपलब्ध गराउन सर्वसाधारणले पनि शेयर खरिद गरी आयोजनामा लगानी गर्न पाउने व्यवस्था गरिनेछ । विभागले अरुण-४ लाई नदीको वहावमा आधारित आयोजनाका रुपको रुपमा पहिचान गरेको थियो । माथिल्लो अरुण अर्धजलाशययुक्त मोडलमा डिजाइन गरिएकाले यसबाट प्राप्त हुने पानीको बहावलाई सदुपयोग गरी अरुण-४लाई पनि अर्धजलाशययुक्त बनाउन लागिएको हो ।

अरुण-४को बाँधस्थल भोटखोला गाउँपालिका-४ र ५ स्थित अरुण नदी तथा लेक्सेवा दोभानभन्दा करिब १३० मिटर दक्षिण तथा कपासे र गोलाबस्तीभन्दा उत्तरमा पर्दछ । बाँधमार्फत अरुण नदीको पानीलाई फर्काएर २.५५ किलोमिटर सुरुङमार्फत भूमिगत बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर)मा लगिने छ । डिसेन्डरबाट पानीलाई ६.८ किलोमिटर सुरुङमार्फत मकालु गाउँपालिका-३ स्थित सजुवाबेंसीमा भूमिगत विद्युतगृहमार्फत विद्युत् उत्पादन गरिनेछ ।

विद्युत्गृहबाट विद्युत् उत्पादन गरी ४७३.४ मिटर टेलरेस सुरुङमार्फत पानीलाई पुनः अरुण नदीमा खसालिने छ । आयोजना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ । सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट आयोजनाको विद्युतगृह र बाँध क्षेत्र क्रमशः करिब ६२ र ७७ किलोमिटर टाढा रहेका छन् । कोसी राजमार्गअन्तर्गत खाँदबारीदेखि आयोजना क्षेत्रसम्मको सडकखण्ड हाल स्तरोन्नति भइरहेको छ । बाँध क्षेत्र कोसी राजमार्गमा नै पर्दछ । विद्युत्गृह क्षेत्र पुग्ने करिब दुई किलोमटर ग्रामिण सडक गाउँपालिकाले स्तरोन्नति गरिरहेको छ ।

विभागले गरेको अध्ययनअनुसार आयोजनाको अनुमानित लागत ५५ करोड अमेरिकी डलर (करिब रु ६५ अर्ब) छ । आयोजनाबाट वार्षिक दुई अर्ब नौ करोड युनिट ऊर्जा उत्पादन हुने छ ।

  • rss



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल-भारत समन्वय समितिको बैठक भारतको पिथौरागढमा सम्पन्न भएको छ । उक्त बैठकमा नेपाल र भारतका स्थानीय प्रशासन सीमा क्षेत्रमा हुन

त्रिभुवन विमानस्थाल भन्सार कार्यालयले विदेशबाट नेपाल आउने यात्रुले तोकिएको परिमाणभन्दा बढी सुन र सूनका गहना, मोबाइल फोन, ल्यापटप तथा मदिराजन्य

कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा

थाइल्याण्डबाट उपचारार्थ चीन पुऱ्यााइएका नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार देखिएको छ । गत