नयाँ कीर्तिमानसहित नासिर विश्व च्याम्पियनसीपमा छनौट

नयाँ कीर्तिमानसहित नासिर विश्व च्याम्पियनसीपमा छनौट



नासिर याह्या हुसेन नयाँ राष्ट्रिय कीर्तिमानसहित आबुधावीमा आयोजना हुने १५औँ फिना विश्व च्याम्पियनसीप २०२१ का लागि छनोट भएका छन् ।

नेपाल पौडी सङ्घले सातदोबाटोस्थित २५ मिटरको पौडी पोखरीमा आयोजना गरेको छनोट प्रतियोगितामा नासिर २०० मिटर फ्रिस्टायलमा १ मिनट, ५७.८५ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै ५९९ फिना अङ्कका साथ विश्व च्याम्पियनसीपका लागि छनोट भएका हुन् ।

यसअघि २५ मिटर दूरीमा ओलम्पियन एलेक्सजेण्डर गादेगाद शाहको नाममा २ मिनट ००.०४ सेकेण्डको कीर्तिमान रहेको थियो । शाहले उक्त कीर्तिमान २ वर्षअघि काठमाडौंमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकुदमा भएको पौडी प्रतियोगितामा राखेका थिए । दुई पुरुष र दुई महिलाको लागि भएको छनोट प्रतियोगितामा ओलम्पियन शाह पनि छनोट भएका छन् ।

जापानमा आयोजना भएको ओलम्पिकमा सहभागि भएका दुई खेलाडी एलेक्जेण्डर शाह र गौरिका सिंह उच्च शिक्षा अध्ययनका लागि विदेशमा रहे पनि उनीहरूको निरन्तर प्रशिक्षण तथा प्रतियोगितामा सहभागिता जनाइरहेको नेपाल पौडी सङ्घले बताएको छ । फिना अङ्कको निकट समयलाई कायम राखेको आधारलाई मापदण्ड बनाइ विश्व च्याम्पियनसीपमा छनोट गर्ने निर्णय गरेकोमा शाहले उक्त मापदण्डलाई पूरा गरेका कारण छनोट हुन सफल भएको तर गौरिका भने उच्च शिक्षा अध्ययनका क्रममा रहेका कारणले सहभागी हुन नसकेको नेपाल पौडी सङ्घले जनाएको छ ।

त्यस्तै दुई महिलातर्फ अनुसिया तण्डुकार र उपास्ती महर्जनले विश्व च्याम्पियनसीपको लागि छनोट भएका छन् । अनुशियाले १०० मिटर फ्रिस्टायलमा १ मिनट २.६० सेकेण्ड समयका साथ ५१७ फिना अङ्क तथा उपास्तीले ५० मिटर ब्रेष्टस्ट्रोकमा ३६.२६ सेकेण्ड समयका साथ ४८९ फिना अङ्कका साथ छनोट हुन सफल भएका हुन् ।

सोही छनोटका क्रममै भएको पुरुष १०० मिटर बटरप्mलाइमा अनुभव सुब्बाले पनि राष्ट्रिय कीर्तिमान कायम गरे । उनले उक्त दूरी ५९.१० सेकेण्डमा पूरा गरेका थिए । यसअघि उक्त दूरीको कीर्तिमान सैयद हेम्जा शाहको नाममा १ मिनट ००.२५ सेकेण्डको रहेको थियो । शाहले उक्त कीर्तिमान नेपालगञ्जमा आयोजना भएको ८औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दौरान राखेका थिए ।