अल्पसङ्ख्यक हिन्दूको संरक्षण नगरे परिणाम राम्रो नहुने चेतावनी

अल्पसङ्ख्यक हिन्दूको संरक्षण नगरे परिणाम राम्रो नहुने चेतावनी



हिन्दूमाथि भइरहेको आक्रमणको विरोध गर्दै प्रर्दशन

  • एचएस सिंह, राजविराज

बंगलादेशमा अल्पसंख्यक हिन्दूमाथि भइरहेको आक्रमणको विरोधमा हिन्दू युवाहरूले सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन् ।

विश्व हिन्दू युवा संघ सप्तरीको आयोजनामा आइतबार हिन्दू युवाहरूले प्रदर्शन गर्नुका साथै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको पुत्लादहनसमेत गरेका छन् ।

बंगलादेशमा हिन्दूमाथि निरन्तर आक्रमण तथा हिन्दूहरूको आस्थाको केन्द्रको रूपमा रहेको मठ-मन्दिरमा तोडफोड तथा आगजानी भइरहे पनि आरोपितहरूलाई कारवाही नगरेको भन्दै बगलादेशकी प्रधानमन्त्रीको पुत्लादहन गरेको विश्व हिन्दू युवा संघ सप्तरीका अध्यक्ष दीपेश देव जोशीले जानकारी दिए ।

हिन्दूमाथि भएको घटनाप्रति आक्रोशित संघका युवाहरूले हसिनाविरुद्ध प्रर्दशन गर्दै बंगलादेशी हिन्दूलाई न्याय तथा दोषी मुस्लिमलाई कडा कारवाही गर्नुपर्ने माग गर्दै निकालेको विरोधजुलुसले नगर परिक्रमा गरेको थियो ।

राजविराजस्थित शिवमन्दिरको प्राङ्गणबाट निस्केको विरोधजुलुस नगर परिक्रमा गरी दशनचोक पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनमा सहभागीहरूले हिन्दूमाथिको दमन बन्द गर, बंगलादेशी सरकार मुर्दावाद, शेख हसिना मुर्दावाद, मुस्लिम आयोग खारेज गर, इस्लामिक आतङ्क बन्द गर, जय श्रीराम जस्ता नारा लगाएका थिए ।

हिन्दूमाथि सुनियोजित रूपमा भइरहेको आक्रमण र मठ-मन्दिरमा भइरहेको तोडफोड तथा आगजनी नियन्त्रणमा नलिए त्यसको परिमाण भयावह हुन सक्ने आक्रोशित युवाहरूले चेतावनीसमेत दिएका छन् ।

कोणसभामा बोल्दै विश्व हिन्दू युवा संघका केन्द्रिय सदस्य अर्जुनप्रसाद साहले बंगलादेशमा रहेको ९ प्रतिशत हिन्दू तथा उनीहरूको आस्थाको केन्द्र रहेको मठमन्दिरमा तोडफोड, आगजनी जस्ता घटना नरोकिए त्यसको परिमाण नराम्रो हुने चेतावनी दिए । उनले भने- ‘हामीले मानवताविरुद्ध भइरहेको अमानवीय कार्यको विरोध गरेका हौँ, चाहे विश्वको कुनै पनि देशमा रहेका किन नहुन्, अल्पसङ्ख्यकको पक्षमा आवाज उठाउँछौँ । यदि शेख हसिनाले पनि बंगलादेशमा रहेको अल्पसङ्ख्यक हिन्दूलाई संरक्षण नगरे त्यसको परिणाम राम्रो हुनेछैन ।’