बक्सिङ संघको दबाबमा खेलाडी अनुपस्थित

बक्सिङ संघको दबाबमा खेलाडी अनुपस्थित



नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुने आईवा विश्व बक्सिङ च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्न जान लागेका खेलाडी तथा प्रशिक्षकलाई खेल पोशाकसहित बिदाई गर्ने कार्यक्रम तय गरेकोमा अन्त्यमा खेलाडीहरूको उपस्थिति रहेन । सङ्घले त्यसको लागि सम्बन्धित निकाय नेपाल बक्सिङलाई पत्राचार समेत गरिएको थियो ।

खेलाडी अनुपस्थित रहे पनि लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङले खेलाडीहरूलाई लोकतान्त्रिक खेलकुद सङ्घ सधैं खेलाडीहरूको पक्षमा रहेको र खेलाडीहरूको हक-अधिकारका लागि सदा अग्रस्थानमा रहने बताउँदै उच्च मनोबलका साथ खेल प्रदर्शन गर्दै जित हात पार्न शुभकामना ब्यक्त गरेको छ ।

सङ्घले खेलाडीहरूको मनोबल बढाउन नगदको पुरस्कारसमेत घोषणा गरेकोे छ । जसअनुसार प्रत्येक बाउट जितेबापत २५ हजार, स्वर्ण प्राप्त गरेका १ लाख ५० हजार, रजतका लागि १ लाख र कास्यपदक प्राप्त गरेमा ५० हजार प्रदान गरिने जानकारी गराएको छ ।

उनले खेलाडीहरू अनुपस्थिति रहे पनि उक्त च्याम्पियनसिपमा सहभागिता जनाउने ४ खेलाडी, प्रशिक्षकका लागि प्रदान गर्न लागिएको खेल पोशाक (ट्र्याकसुट) संघका केन्द्रिय सदस्य ओमनारायण श्रेष्ठमार्फत खेलाडीहरूलाई हस्तान्तरण गरे ।

त्यस्तै, अध्यक्ष गुरुङले बक्सिङ संघले खेल भावनाको विरुद्ध कार्य गरेको आरोप लगाउँदै सङ्घको यो कार्यको भत्सर्ना समेत गरेका थिए । यस्ता कार्यकाविरुद्ध सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्दै कार्यवाहीको लागि अग्रसर रहने बताए । उनले आफू पनि नेपाल बक्सिङ संघको पूर्व महासचिव भएको भन्दै सङ्घले खेलाडीहरूलाई राजनीतिमा मुछेको र सङ्घले विधानविपरीत कार्यहरू गरेका कारण सङ्घका पदाधिकारीहरू बीच पनि बैमनस्यता देखिएको बताए ।

कार्यक्रममा बोल्दै सङ्घका पूर्वअध्यक्ष राजीव श्रेष्ठले खेलकुद जस्तो रचनात्मक ठाउँलाई अहिलेको कार्यसमितिले घरायसी सङ्घको रूपमा सञ्चालन गरेको र सङ्घलाई खेलभावनाले अगाडि बढाउन नसकेको बताए ।

च्याम्पियनसीप कार्तिक ८ गते देखि २० गते सम्म सर्वियाको बेल्ग्रेडमा सञ्चालन हुँदैछ ।