गणेशमान सिंह राष्ट्रिय टेनिस कार्तिक ९ देखि

गणेशमान सिंह राष्ट्रिय टेनिस कार्तिक ९ देखि



नेपाली राजनीतिका लौहपुरुष गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह फाउण्डेशन र वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्तिक ९ देखि १६ गतेसम्म आयोजना गर्ने भएको छ ।

वीर गणेशमानको आदर्श, मुल्य, मान्यता र समग्र जीवन सन्देशलाई खेलकुदमार्फत नयाँ पुस्तासम्म पु¥याउँदै विभिन्न खेलहरूको आयोजना गर्ने उद्देश्यअनुरुप टेनिस पनि आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यस अघि एथलेटिक्स र बक्सिङ आयोजना गर्दै आएकोमा यसपटक टेनिसलाई पनि समावेश गरिएको हो ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा पुरुष एकल र युगल, महिला एकल र युगल, पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथिको एकल र युगल तथा ६५ वर्षमाथिको एकल र जुनियर तर्फ यु – ८, ९, १०, १२, १४ र खुला छात्र तथा छात्राको विधामा करिव ४ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

सातदोबाटोस्थित टेनिस कोर्टमा आयोजना हुने प्रतियोगिताको लागत करिव २० लाख रहेको आयोजकले जनाएको छ । जसमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरूले पदक, प्रमाणपत्र र ट्रफीका साथ पुरुष तथा महिला एकलतर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद ८० हजार, ४० हजार र २० हजार, युगल तर्फका शीर्ष तीनले ४० हजार, २० हजार र १० हजार, पुरुष एकल ३५ वर्षमाथिका शीर्ष तीनले नगद ४०, २० र १० हजार, युगलले २५, १५ र १० हजार, ४५ वर्षमाथि एकल तर्फका शीर्ष तीनले ३०, १५ र ५, युगलतर्फ २०, १०, १० हजार, ५५ वर्षमाथि एकलले २० हजार, १० हजार र ५ हजार तथा युगलमा १५ हजार, ७ हजार ५ सय र १० हजार, यस्तै ६५ वर्षमाथि एकलले १५ हजार, ७ हजार ५ सय र ५ हजार प्राप्त गर्ने छन् ।

यस्तै, जुनियर विधामा विजयी खेलाडीहरूलाई गिफ्ट ह्याम्परबाट पुरस्कृत गरिने आयोजकले जनाएका छ ।