चक्रब्यूहमा राजनीति : अन्तिम दिन गन्दै बाह्य एजेन्सीका भारदारहरू !

चक्रब्यूहमा राजनीति : अन्तिम दिन गन्दै बाह्य एजेन्सीका भारदारहरू !


सात पुस्तासम्मका लागि जोहो गरिदिनेहरूले दोश्रो पुस्तासामु आफूलाई निरीह सावित गर्नु नपरोस् !

  • राजेन्द्रप्रसाद पाठक

रणभूमिमा रचना गरिने ब्यूहहरूमध्ये चक्रब्यूह अत्यन्तै कठिन सैन्यब्यूह मानिन्छ । महाभारतको युद्धमा कौरवपक्षले रचना गरेको चक्रब्यूहमा अर्जुनपुत्र अभिमन्यु मारिएका थिए । आमाको गर्भमै रहँदा बाबुद्वारा सुनाइएको ब्यूहको कथा आधा मात्र सुन्न भ्याएको अवस्थामा आमा निदाएकीले ब्यूह प्रवेशसम्मको मात्र ज्ञान हासिल गरेका अभिमन्युले आफ्नो वीरताको घमण्डसहित सैन्यब्यूहमा त प्रवेश गरे तर चक्रब्यूहबाट निस्कनका लागि आवश्यक ज्ञानको अभावका कारण अनाहकमा ज्यान गुमाउनु परेको कथा पूर्वीय राजनीतिक दर्शनमा महारत हासिल गरेको शास्त्र महाभारतको कथामा हामी सबैले पढे-सुनेको हो । यस्तै अवस्था यतिबेला देशको राजनीतिमा जस्ताको तस्तै झल्किरहेको आभास हुन्छ ।

नेपालका हरेक परिवर्तनमा कहीँ न कहीँ वैदेशिक शक्तिको आडविना परिवर्तन सम्भव भएको कल्पना समेत गर्न सकिँदैन । हरेक वैदेशिक शक्तिले आफ्नो स्वार्थ सिद्ध गर्ने अवसर हेरिरहेका हुन्छन् । त्यस्तो शक्तिले राजनीतिक र आर्थिक चलखेललाई प्रमुख अस्त्र बनाएर स्वार्थ सिद्ध गर्ने आधार तय गरेका हुन्छन् । यस्तो प्रवेशबिन्दु कुटनैतिक माध्यम हुने गर्दछ । मानवअधिकार, शान्ति, विकास, महिलाअधिकार, न्याय, सिमान्तकृतहरूको हक-अधिकार, लैङ्गिगक, भाषिक, क्षेत्रिय अधिकारका नाममा भजाइने तत्वहरूद्वारा यस्ता गतिविधि शुरु अवस्थामा सञ्चालित हुन्छन् । अनुदान सहयोग र वैदेशिक ऋणहरू समेत यस्तै माध्यमबाट दीर्घकालीन योजना बनाएर भित्रिएका हुन्छन् । उता राजनीतिक परिवर्तनसँगै गठित व्यावस्थापिका, न्यापालिका र कार्यपालिका सञ्चालनमा चयन भएका जनप्रतिनिधि अथवा न्यायिक प्रसाशकहरूमा त्यस्ता वैदेशिक दिर्घकालिक प्रभाव जमाउने विषयमा राम्रो ज्ञान नभएका भनौँ या लोभिपापी सोचविचार भएका झुण्डहरूको बाहुल्यता भएको खण्डमा यस्तो वैदेशिक शक्ति मौलाउने समय अत्यन्तै छोटो छिटो छरितो ढङ्गबाट अगाडि बढिरहेको हुन्छ । हाम्रो देशको सन्दर्भमा समेत यस्तै देखिन आएको अनुभव सबै क्षेत्रका जानकारहरूले गरेकै अवस्था छ ।

अब त हरेक टोल-गाउँका अधिकांश मानिसले पनि यस विषयमा सहजै अनुमान गर्न थालेका छन् । सञ्चारको द्रूत विकासका कारणले नै होला जस्तोसुकै खबर एकैछिनमा थाहा पाउने अवस्थाले जनताको चेतनास्तरको विकास चाँडोभन्दा चाँडो भइरहेको छ । उता हरेक व्यवस्था परिवर्तनसँगै उदाएका कथित जनप्रतिनिधिहरू समेत जनताको नाममा सत्तारोहण गरेर आफ्ना आफन्तका हितमा मात्रै तल्लिन भएको यत्रतत्र देखिएको छ ।

उता पद र प्रतिष्ठा नगदमा साट्न पाउने देखिएपछि पुस्तैनी व्यापार र जागिरमा रमाउनेहरूलाई समेत जिन्दगीमा एकपटक भए पनि राजनीतिक उच्च ओहदामा पुग्ने रहर पलाएको पाइन्छ । उच्च नेतृत्वलाई पैसा मात्र भए पुग्ने र कार्यकर्ता तहसमेत जसरी हुन्छ कमाउ धन्दामा रमाउने भएकै कारण सानातिना काम गरेर जीवन धान्ने चुनावी मतदाताहरूमा अत्यन्तै वितृष्णा जागेको कारण ती अग्रगामी भनिने दल र तिनका नेताहरू भन्दा प्रतिगामी ठहर भएका पुरातन शक्तिहरू नै ठिक भन्नेसम्मको चैतन्य पुनरावृत्ति हुन शुरु लागेको सबैले महसूस गर्न थालेका छन् । घुमिफिरी रुम्जाटार भनेजस्तो दलका नेताहरू भन्दा राजा-महाराजाहरू नै सही, अझै उनीहरूभन्दा राणातन्त्र नै सही थियो या देशका लागि आवश्यक छ भन्नेहरूको जमात बलियो हुँदै आएको छ ।

हुन पनि पञ्चायती शासकहरूले भन्दा बहुलवादी शासकहरूबाट विकास र समृद्धिको आशा जनताले गरेका थिए । समृद्धि त भयो तर देश र जनताको नभइ मुट्ठीभर नेता-कार्यकर्ता तथा उच्च तहका प्रशासकहरूको मात्रै ! यसका यथेष्ट उदाहरण हाम्रासामु छन् । जनता र देश दिनानुदिन कङ्गाल भइरहेका छन् । नेताहरू हमेसा राजनीतिक कार्यमा तल्लिन हुँदाहुँदै पनि उनीहरूको आर्थिक स्तर ठुला व्यापारी उद्योगपतिहरूको भन्दा द्रूत गतिमा बढेको छ । यता व्यापारीहरू व्यापार मात्र गरिरहेका देखिन्छन् तर तिनीहरूको राजनीतिक हैसियत एक्कासी चुलिएको देखिन्छ । यसले नेतृत्व र व्यापारी उद्योगपतिहरूको दातम्यताले नीतिगत भ्रष्टाचार मौलाएको छ । यति मात्र नभइ नीतिगत भ्रष्टाचारले सिङ्गो देशको भविष्य नै धराशयी हुँदै गइरहेको महसूस सबैतिर हुँदै गइरहेको छ ।

भोका दरिद्रलाई बाँडिएको चारो फिर्ता हुँदैन भन्ने त दाताहरूलाई थाहै होला, तर पूरा गर्न नसकिएको वचनका बारेमा भने सोच्न बाध्य हुने दिन निकट आइरहेको हुन सक्छ । सीता खाएर गीता अर्कैको गाउने परम्परामा बाँचेकाहरूलाई सकस भैरहेको महसूस जनस्तरसम्मले गरेकाले तत्काल ठुलै राजनीतिक परिवर्तन हुन सक्ने सम्भावना बढेर गएको छ ।

देशका सबैजसो उद्योग-कलकारखानाहरू कि बेचिएका छन् कि त सभाहलमा परिणत भएका छन् । देशका बेरोजगार युवाहरू दैनिक लाखौँको सङ्ख्यामा विदेश भासिएका छन् । अन्तमा केटाकेटी र हाडखोड बिसाएका वृद्घहरू मात्रमा सीमित देशको रूपमा नेपाल चिनिने खतरा बढेर गएको छ । देशले आफ्ना उत्पादन निर्यात गर्नुपर्नेमा काम गर्ने उमेरको युवा निर्यात गर्दैछ । एक तहका निम्ति राजनीति अत्यन्तै फाइदाजनक व्यापार सावित हुँदैछ । भोकाएका र खन्चुवा राजनीतिकर्मीहरूका कारण ती आफै कुनै न कुनै निकायका एजेन्ट सावित भएका छन् । सबैजसो एजेन्सीको रकम कुनै न कुनै माध्यमबाट हातपारेका र बाह्यशक्तिले प्रदान गरेको क्षणिक सुविधाको पैँचो तिर्न नसक्ने अवस्थामा हाम्रा देशका कथित राजनीतिकर्मीहरू पुगिसकेका छन् । व्यक्तिगत गुनको बदलामा अब देश र सार्वभौमसत्ता नै गुमाउनुपर्ने क्षणमा गुज्रिएका राजनीतिकर्मीहरू विभिन्न बहानामा जनतालाई झुक्याउन अन्तिम दुस्साहस गरिरहेका छन् । अब यो देशमा कि अत्यन्तै सामान्य जनता छन् कि त कुनै वैदेशिक एजेन्सीका भारदारहरू मात्र छन् भन्दा फरक परोइन । न यो देशमा राजनेता छन् न त सच्चा जनसेवा गर्ने राजनीतिक दल नै ! सिर्फ एजेन्सी चलाउने भारदारहरूले जनताको नाम काम र अनुहार अघि सारेर आफ्नो दलीय व्यापार चलाउने जमानाको अन्त्य भएको क्षण आइरहेको आभास हुन थालेको छ ।

सबैजसो एजेन्सीको ‘एसम्यान’ भएका एजेन्टहरूबाट आफ्नो स्वार्थ सिद्ध नहुने देखिइसकेपछिको एजेन्सीहरूको एक्सनले अबको अवस्था अन्यत्र कतै मोडिन सक्ने अन्दाज चारैतिरबाट गर्न थालिएको छ । भोका दरिद्रलाई बाँडिएको चारो फिर्ता हुँदैन भन्ने त दाताहरूलाई थाहै होला, तर पूरा गर्न नसकिएको वचनका बारेमा भने सोच्न बाध्य हुने दिन निकट आइरहेको हुन सक्छ । सीता खाएर गीता अर्कैको गाउने परम्परामा बाँचेकाहरूलाई सकस भैरहेको महसूस जनस्तरसम्मले गरेकाले तत्काल ठुलै राजनीतिक परिवर्तन हुन सक्ने सम्भावना बढेर गएको छ ।

अकुत सम्पत्ति कमाउने र सात पुस्तासम्मका लागि जोहो गरिदिनेहरूले दोश्रो पुस्ताको सामु कुनै दिन आफूलाई निरीह सावित गर्नु नपरोस् ! ‘मासु खाए छोराछोरीले पाप बोके मितले’ भनेजस्तो अवस्था तिनै कथित राजनीतिक व्यापारीहरूलाई परिसकेको परिवेशले भविष्यमा राजनीतिमा प्रवेश गर्नेहरूमा यस्तो अर्धचेतना आफ्नै लागि परम् शत्रु सावित हुन सक्छ भन्नेसम्मको जानकारी हुनु जरुरी देखिन्छ ।

जनताले चक्रब्यूहमा उभ्याएर सत्तारोहणसम्मको यात्रा तय गर्नेसम्मको अर्धचेतना हालका कथित नेतृत्वले पाए । यतिभन्दा बढी किन चाहियो भनी आफै निदाउनेहरूले कुनै दिन सत्ताबाट अवतरण गर्नैपर्ने हुन्छ । त्यसैले पूर्ण ज्ञानको अनुभूतिले मात्र सफलता पाइन्छ भन्ने चेतना र धैर्यता नहुँदाको अवस्थाले आज कथित राजनीतिकर्मीहरू जसरी अभिमन्यु चक्रब्यूहमा फसेर प्राण आहुति दिन बाध्य भए त्यस्तै परिणतितर्फ होमिँदै गरेको परिस्थितिबाट जोगिने अन्तिम प्रयास गरिरहेको आमजनता नियालिरहेका छन् । जय होस् !