‘वुमन्स पावर लिफ्टिङ’को उपाधि नेहालाई

‘वुमन्स पावर लिफ्टिङ’को उपाधि नेहालाई


गोर्खा क्लासिक नेपालले आयोजना गरेको ‘वुमन्स पावर लिफ्टिङ च्याम्पियनसिप-२०२१’ उपाधि नेहा बानुले जित्न सफल भएकी छन् । खरा रङ्गशालास्थित बहुउद्देसीय कभर्ड हलमा शनिबार सम्पन्न प्रतियोगितामा नेहाले ६० केजी तौल समूहमा ‘स्क्वाड’ तर्फ १२८ केजी, ‘बेन्च प्रेस’मा ७० केजी र ‘डेडलिफ्ट’मा १४३ गरी कूल ३४१ केजी भार उठाएकी थिइन् ।

उनले उपाधिसँगै नगद रु ८० हजार र रु ५० हजार पर्ने आकर्षक वेल्ट पुरस्कार प्राप्त गरिन् । नेहा ६० केजी तौलमुनिको समूहमा समेत प्रथम स्थान हासिल गर्न सफल भई रु २५ हजार पुरस्कार पाउनुभएको थियो ।

यसैगरी प्रतियोगितामा ६० केजीमुनिको समूहमा पुनम तामाङ द्वितीय र ज्योति थापा तृतीय स्थान हासिल गर्न सफल हुनुभयो । प्रतियोगिताअन्तर्गत नै भएको ६० केजीभन्दा माथिको समूहमा शर्मिला शाह प्रथम भइन् भने सीमा गुरूङ द्वित्तीय र कोमल थापाले तृतीय स्थान हासिल गरिन् ।

प्रतियोगितामा ६० केजीभन्दा माथिको र ६० केजीभन्दा तल दुवै विधामा प्रथम, द्वित्तीय र तृतीय हुने खेलाडीले क्रमशः रु २५ हजार, रु १५ हजार र रु १० हजार नगद पुरस्कार प्राप्त गरेका थिए । विजयी खेलाडीलाई गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरूङ, आयोजक संस्थाका अध्यक्ष राजकुमार गुरुङ लगायतले पुरस्कार वितरण गरे ।