माओवादी केन्द्रले पार्टीका विभिन्न ३२ विभागको जिम्मेवारी क-कसलाई सुम्पियो ?

माओवादी केन्द्रले पार्टीका विभिन्न ३२ विभागको जिम्मेवारी क-कसलाई सुम्पियो ?



बिहीबार बसेको नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले पार्टीका विभिन्न विभाग र प्रतिष्ठानको प्रमुखको टुङ्गो लगाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ३२ विभाग र एक प्रतिष्ठानको नेतृत्व टुङ्गो लगाएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।

प्रवक्ता महराका अनुसार अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुनलाई दिइएको छ भने उद्योग विभागमा वामदेव क्षेत्री, उपभोक्ता हित तथा आपूर्ति विभागका प्रमुखमा मातृकाप्रसाद यादव, कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, कोष तथा आर्थिक व्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय र खानेपानी तथा सरसफाइ विभागको प्रमुखमा बिना मगरलाई ल्याइएको छ ।

यस्तै जलस्रोत, सिँचाइ तथा ऊर्जा विभागमा लीलामणि पोखरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, कानुन, न्याय तथा मानवअधिकार विभागमा मुक्ति प्रधान, पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभागमा झक्कुप्रसाद सुवेदी, प्रचारप्रसार तथा प्रकाशन विभागमा कृष्णबहादुर महरा, प्रादेशिक मामिला विभागको प्रमुखमा परशुराम तामाङ रहेका छन् ।

स्कुल विभागमा प्रमुख गिरिराजमणि पोखरेल तोकिएका छन् भने स्कुल विभागको इन्चार्जमा अध्यक्ष प्रचण्ड स्वयम् रहेका छन् । पुस्तकालय तथा अभिलेख विभागमा नारायणप्रसाद शर्मा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागमा हरि अधिकारी, युवा तथा खेलकुद विभागमा गणेशमान पुन, राजकीय मामिला तथा सुशासन विभागमा रेखा शर्मा, वन तथा वातावरण विभागमा शक्ति बस्नेत, विज्ञान तथा प्रविधि विभाग गणेश साह र विदेश मामिला विभागमा नारायणकाजी श्रेष्ठ रहेका छन् ।

यस्तै शिक्षा तथा मानव स्रोत विभागमा मायाप्रसाद शर्मा, श्रम तथा रोजगार विभागमा रामेश्वर राय यादव, सङ्गठन विभागमा जनार्दन शर्मा, सङ्घीय संसदीय विभागमा देवप्रसाद गुरुङ, समाज कल्याण विभागमा सत्या पहाडी, सहकारी तथा गरिबी निवारण विभागमा धर्मदत्त देवकोटा, सहरी विभागमा देवेन्द्र पौडेल, सामान्य प्रशासन विभाग टेकबहादुर बस्नेत, साहित्य, कला तथा संस्कृति विभागमा गोपाल ठाकुर, स्थानीय तथा विकास विभागमा उर्मिला अर्याल र स्वास्थ्य तथा जनसङ्ख्या विभागमा कल्पना धमलालाई संयोजक तोकिएको प्रवक्ता महराले जानकारी दिए ।

माओवादी केन्द्रका सबै विभागमा बढीमा ३५ जना सदस्य रहने छन् । बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको पनि गठन गरेको छ । प्रतिष्ठान अध्यक्षको जिम्मेवारी रामचन्द्र झालाई तोकिएको छ । विपद् व्यवस्थापन विभाग गठन गर्न बाँकी रहेको महराले जानकारी दिएका छन् । बैठकले डिलाराम आचार्यको संयोजकत्वमा १७५ सदस्यीय सम्पर्क समितिसमेत गठन गरेको छ । राजधानीमा रहेका विभिन्न प्रदेशका पार्टी सदस्यलाई सङ्गठित गर्ने उद्देश्यले सम्पर्क कमिटीको गठन गरिएको जानकारी दिइएको छ ।