टी-२० विश्वकप : भारत र पाकिस्तानबीचको खेल बहिष्कार गर्न राजनीतिक दबाब

टी-२० विश्वकप : भारत र पाकिस्तानबीचको खेल बहिष्कार गर्न राजनीतिक दबाब


टी-२० विश्वकप क्रिकेट प्रतियोगिता २०२१ अन्तर्गत आगामी २४ अक्टुबर (कार्तिक ७ गते) भारत र पाकिस्तानबीच खेल हुँदैछ । निकै सनसनीपूर्ण हुने यो खेल हेर्न विश्वका करोडौँ क्रिकेटप्रेमी अहिले प्रतीक्षामा छन् । मैदान क्रिकेटको भए पनि युद्धभन्दा कम हुँदैन भारत र पाकिस्तानबीचको भीडन्त । तर राजनीतिक खिचातानीका कारण यस्तो महत्वपूर्ण खेल हुने कुरामा आशंका पैदा गरिदिएको छ ।

राजनीतिक विवादका कारण लामो समयदेखि भारत र पाकिस्तानले एकआपसमा क्रिकेट खेलेका छैनन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) अन्तर्गतका अफिसियल खेलबाहेक अन्य टी–२०, एकदिवसीय र टेष्ट म्याच यी दुई राष्ट्रबीच सञ्चालन हुन सकेका छैनन् ।

यस्तो स्थितिमा लामो समयपछि यही कार्तिक ७ गते भारत र पाकिस्तान टी–२० विश्वकप क्रिकेटमा भीडन्त हुने आईसीसीको तालिकामा उल्लेख छ । तर विडम्बना ! यतिबेला जम्मु कश्मीरमा आतङ्वादी घटना बढ्नु र निर्दोष व्यक्तिले ज्यान गुमाएका कारण पाकिस्तानविरुद्ध रोष प्रकट गरिन थालेको छ । यी आतङ्कवादी घटनामा पाकिस्तानको प्रत्यक्ष संलग्नता रहेको भन्दै टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्धको खेल बहिस्कार गर्न राजनीतिक दबाब दिन थालिएको छ ।

भारतीय जनता पार्टीका केन्द्रीय मन्त्री गिरिराज सिंहदेखि एआईएमआईएमका प्रमुख असदुद्दीन ओवेसीले जस्ता वरिष्ठ नेताहरुले टी–२० विश्वकप क्रिकेटमा भारतको पाकिस्तानसँग हुने खेल रद्द गर्नुपर्ने माग सरकारसमक्ष राखेका छन् । अहिलेसम्म भारतीय क्रिकेट कन्ट्रोल वोर्ड (बीसीसीआई)ले यो बारेमा कुनै प्रतिक्रिया भने दिएको छैन ।

वरिष्ठ नेता ओवेसीले टी–२० क्रिकेटमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई खेल्ने अनुमति दिएकोमा आलोचना गरेका छन् । उनले पाकिस्तान काश्मिरमा भारतीय जनताको जीवनसँग टी–२० खेल्दै उनीहरुको जिन्दगीमाथि खेलिरहेको भन्दै पाकिस्तानसँग कसरी क्रिकेट खेल्न सकिन्छ भनेर प्रश्न गरेका छन् । त्यस्तै, केन्द्रीय मन्त्री गिरिराजले जब सम्बन्ध नै राम्रो छैन भने कसरी खेल खेल्न सकिन्छ भन्ने प्रश्न गर्दै यसमा पुनर्विचार गर्नुपर्ने जिकिर गरेका छन् ।

त्यस्तै, बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले कश्मीरमा भएको हत्या दुःखद र निन्दनीय भएको बताएका छन् । जहाँसम्म भारत र पाकिस्तानको खेलको सवाल छ, त्यो आईसीसीको अन्तर्राष्ट्रिय सम्झौताअनुरुप हुन्छ । यसमा पाकिस्तान मात्र नभै कुनै पनि देशसँग अस्वीकार गर्न नसकिने, खेल्नुपर्ने बाध्यता नै रहने उनको तर्क छ ।

त्यस्तै पाकिस्तानी क्रिकेट वोर्ड (पीसीबी) अध्यक्ष रमिज राजाले राजनीति र क्रिकेटलाई जतिसक्दो टाढा राख्यो त्यति राम्रो हुने बताएका छन् । आफूले भारत र पाकिस्तानबीच हुने टी–२०, एकदिवसीय र टेष्ट क्रिकेट पनि चाँडै सञ्चालन हुनुपर्नेमा बीसीआईका अध्यक्ष सौरभ गांगुलीसँगको भेटमा बताएको उनले जानकारी दिएका छन् ।