चित्तबुझ्दो स्पष्टिकरण नदिएको अभियोगमा राखेपका सदस्यसचिव सिलवाल बर्खास्त !

चित्तबुझ्दो स्पष्टिकरण नदिएको अभियोगमा राखेपका सदस्यसचिव सिलवाल बर्खास्त !



सरकारले मागेको स्पष्टिकरणको चित्तबुझ्दो जवाफ नदिएको आरोपमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाललाई बर्खास्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राखेप सदस्यसचिव सिलवालका साथै राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष देवराज रोकालाई बर्खास्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिए ।

यसबारे सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने कुनै जानकारी गराएका छैनन् । सोमबारको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिए पनि मन्त्री एवम् सरकारका प्रवक्ता कार्कीले राखेपका सदस्यसचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय भएको सन्दर्भबारे औपचारिक तवरमा केही बताएनन् ।

उल्लिखित तीनै जनालाई केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो । राखेप सदस्यसचिवको कार्यशैली तथा उनका कतिपय निर्णय विवादास्पद रहेका थिए । केपी ओली प्रधानमन्त्री नरहेको अवस्थामा आफू एक मिनेट पनि पदमा नबस्ने भन्ने उनको सार्वजनिक अभिव्यक्ति पनि चर्चामा रहेको थियो । बोलीअनुसारको व्यवहार प्रदर्शन गर्न नसकेको भन्दै उनको राखेपभित्रै आलोचना हुँदै आएको थियो ।