अब्राहम लिंकनलाई भेटेर सोधेँ- ‘मान्छे बाँच्ने प्रजातन्त्र ख्वै बाजे ?’

अब्राहम लिंकनलाई भेटेर सोधेँ- ‘मान्छे बाँच्ने प्रजातन्त्र ख्वै बाजे ?’


  • कृष्णराज शर्मा

यी बाजेलाई भेट्न म अस्ति पेन्सिलभेनिया पुगेँ । जाँदासाथ देखेँ । देख्नासाथ झम्टेँ । हल्लाएँ । अहँ.. चल्दै चलेनन्, सुन्दै सुनेनन् ! फेरि कुममा हात राखेर हल्लाउँदै कानको नजिकै मुख लगेर चिच्याएँ । ‘लिंकन बाजे ! ओ लिंकन बाजे !! ओ बाजेsss ! बेस्सरी चिच्याएपछि बल्ल टाउको मतिर फर्काए । अनि मैले सोधेँ-

सञ्चै छ बाजे ?

मन्द आक्रोशमिश्रित भावमा लिंकन बोले- सञ्चै छु । इः .. आनन्दले बसेको छु । किन ?

किन हुनु नि, तपाईंको प्रजातन्त्र (Democracy) को परिभाषा उहि पुरानै हो कि नयाँ पनि छ ? सोध्न आुको म नेपालबाट । त्यो तपाईंको पुरानो परिभाषा सबै देशमा समान किन भएन ? हाम्रो देशमा त मिल्दैमिलेन भनेर नेपालबाट सोधनी आएको आयै छ, त्यहि भएर भेट्न आएको !

झिँजो मान्दै उनले फेरि सोधे- कुन परिभाषा ?

मैले निर्धक्क बताएँ- त्यहि क्या ! संसारप्रसिद्ध… ‘जनताद्वारा जनताको लागि जनताको सरकार नै प्रजातन्त्र हो’ (…of the people, by the people, for the people.) भन्ने परिभाषा छ नि… हो, त्यहि भनेको क्या !

लिंकन अल्लि सहज हुँदै बोले- फेऱ्याछैन त्यहि हो । मैले अर्को भन्या पनि छैन । त्यहि हो.. त्यहि हो !

मैले दोहोऱ्याएर भनेँ- नयाँ परिभाषा बनाए पनि हुने । समयअनुसार फेरे पनि हुने । कस्तो अडान हो तपाईंको ? तपाईंका ‘ट्रम्प’ले पनि फेर्न खोजेका थिए रे ! समयअनुसार फेरे हुन्न र,बाज्या ! कति एउटै कुरा पछ्याएर हिँड्नु ?

(सनक्क सन्कँदै) हैट्… हुन्न । सिद्धान्त पनि आइफोन जस्तो हुन्छ र ? बर्षैपिच्छे फेर्ने ! हुन्न,फेऱ्या छैन, त्यहि हो । मैले हिजो जे भनेँ आज पनि त्यहि हो । भोलि पनि.. भविष्यमा पनि त्यहि हुन्छ प्रजातन्त्रको परिभाषा । फरक हुन्न !

मैले पनि दह्रो हुँदै बोलेँ- उसोभए, एकपटक यसको अर्थ राम्रोसँग बुझाइदेऊ त बाजे । म नेपालबाट आएको हुँ । मलाई नेपालमा प्रजातन्त्र पढाउँदा तपाईंले भनेकै वाक्यलाई प्रजातन्त्र हो भनेर गुरुहरुले पढाए । त्यहि पढेँ । अहिले प्रजातन्त्रै प्रजातन्त्र छ हाम्रो देशमा । तर खासै तपाईंको परिभाषासँग ऱ्याङठ्याङ पटक्कै मिल्दैमिल्दैन त ! के भयो-भयो ! लौन, एकपटक खुलाइदेऊ त बाज्या… सिद्धान्त त जहाँ पनि एउटै भएर लागू हुने हैन र ?

मेरो कुरामा सहमति जनाउँदै उनले भने- हो त्यहि हो । संसारभरि यौटै हुन्छ । तिमिहरुको देशमा अझै प्रजातन्त्र आएको छैन ? त्यो नेपालमा त तीस वर्ष पहिल्यै इण्डियाले प्रजातन्त्र पसाल्दिन्छु भन्थ्यो त !

छ के छ, फालाफाल छ प्रजातन्त्र हाम्रो देशमा ! त्यहि इण्डियाले पसाल्दिएर त वर्षामासको बाढीजस्तै छ्यालब्याल छ प्रजातन्त्र । वर्षाको बाढीले नेपाली मरेकै थिए, उताको प्रजातन्त्रको बाढीले पनि उत्तिकै मरे नेपाली दाज्युभाइ । नेपालीहरु त दोहोरो मारमा परे क्या बाजे ! मैले त तपाईंको परिभाषा मिलेन पो भनेको बुढा ! ख्वै मेरो कुरा बुझेको ?

अनि बल्ल गम्भीर भएर बोले बुढा- ए परिभाषा ! ल सुन । जनताले बनाएको जनताको कुरा सुन्ने जनताको सरकार नै प्रजातन्त्र हो भनेको थिएँ मैले । मैले भनेजस्तो प्रजातन्त्र छैन र त्याहाँ नेपालमा ?

छ खुबै ! छँदैछैन भने पनि हुन्छ ! भएर के गर्ने ज्यानमारा छ प्रजातन्त्र । अरुअरु प्रजातन्त्र त जति पनि छ तर मान्छे वरबाट पर र परबाट घरजाँदा बाँच्ने प्रजातन्त्र छैन । यसो चाडबाड आयो कि गाडी चढ्नै सकिन्न । ‘कि भेटौँला आमालाई कि भेटौँला रामलाई’ भन्ने भजन जप्दै गाडी चढ्नु पर्छ । ढुक्कले बाँच्न हिंडडुल गर्न पाउने प्रजातन्त्र छैन क्या ! वरपर गर्दा बाँच्न पाउने प्रजातन्त्रको नयाँ परिभाषा अब लेख त्यो तिम्रो हातको डायरीमा, कुरा बुझ्यौ बुढा ?

बाजेले मैलाई सोधे- कस्तो प्रजातन्त्र छ त त्यहाँ नेपालमा ? ल भन त !

मैले बेलिविस्तार सुनाएँ- छन त छ नि, नभएको हो र ! त्यहाँ त ठ्याक्कै उल्टो छ के तिम्रा बाजे !! आठ-दश जना नेताले नेतालाई नेताको मात्रै प्रजातन्त्र भएको छ । सरकारले ठुलठुला नेताका मात्रै कुरा सुन्छन् । जनताका कुरा सुन्दैसुन्दैनन् । आफ्ना आफ्ना मान्छेका मात्र कुरा सुन्छन् । जनताका कुरै सुन्दैनन् । अस्ति दशैँअगाडी लगभग चार दर्जन नेपाली सडक दुर्घटनामा परेर ठहरै मरे । सारा देश शोकमग्न भयो । जनताका कुरा बेलैमा सुनेर सडक यातायातमा ध्यान दिएका भए त्यसरि अनाहकमा चाडको मुखमा होनहार नेपाली युवायुवतीको ज्यानजाने थियो त ! ति युवायुवतीका सपना र जन्मदिने बाउआमाका रहर जति जम्मै चकनाचूर बने । ल हेर त बाजे,यस्तो पनि प्रजातन्त्र हुन्छ ?

काठमाण्डौको बाँसबारीदेखि बुढानिलकण्ठ जाने बाटोमा खाल्डाखुल्डी पुर्देऊ भन्दै त्याहाँका सर्वसाधारणले बाटोमाथी ब्यानरै बनाएर टाँगे । सरकारमा बसेका नेताले सुन्दै सुनेनन् । ठुलाबडाहरु बस्ने क्षेत्रमा ध्यानदिन भन्दै कमल थापाले फेसबुकमार्फत बाटोमाथिका ब्यानरको फोटोसहित पोष्ट गर्दै प्रमलाई ध्यानाकर्षण गराए । जसले सुन्नपर्ने हो उनैले सुनाउँदै हिँडछन् । ख्वै त जनताका कुरासुन्ने सरकार ? ख्वै त जनताको प्रजातन्त्र ? वर्षा सकिएपछि दशैँ आउँछ । दशैँमा भत्के-बिग्रेका बाटो बनाइदेऊ भनेर जनताले कति आवाज उठाए,टेरपुच्छर लगाएन सरकारले । हरेक वर्ष यहिताल छ । नेपाली मरेको मऱ्यै छन् । ओइ बाजे, तिम्रो प्रजातन्त्रले जनता बचाउने हो कि ज्युँदै गाडीमा राख्दै भीरमा खोलामा लगेर नेपालीलाई गुल्ट्याउने हो, हँ ? ल भन त प्रजातन्त्रका आदर्श अब्राहम लिंकन बाजे, तिम्रो प्रजातन्त्रको परिभाषा यहि थियो अथवा हो त ?

मेरो कुरा सुनेर झस्के लिंकन बाजे- होइन होइन.. यस्तो त हुनै सक्दैन । यो त मेरो प्रजातन्त्रको अपमान पो भयो ! को हो त्यो प्रजातन्त्रलाई त्यस्तो भाँडतन्त्रमा लैजाने ? मलाई बताउ त !

उनको प्रश्नले म अलमल परेँ, तैपनि भोगे/जानेको बताइदिएँ- त्यै प्रजातन्त्र पसाल्दिने नै यसको नाइके हो भन्छन् क्यारे सबैले । उसैले लाए-अह्राएको मान्नेहरुकै हालीमुहाली छ भन्छन् सबैले । उनैले प्रजातन्त्रलाई यस्तो भाँडभैलो बनाए भनेर चारैतिर तीव्र आलोचना छ । ठ्याक्कै तोकेर त कसलाई भनुँ र ! अनि …

मेरो कुरा बीचैमा रोक्दै लिंकनले सोधे- के के गर्दैछन् त तिनले तिम्रो नेपाल देशमा ?

मैले त सुनेको कुरा भन्ने हो । सुनाउनेले भन्छन्- आदेशको पालना गर्दै जनताको नामा अनेक-अनेक नौटंकी देखाउँछन् । त्यस्तो नौटंकी बुझे पनि जनता उनैका पछि लाग्छन् । सडक बाटोघाटो बनाउँछन् पैसा पचाउँछन् । दुईचार महिना पनि टिक्दैन तिनले नाएका बाटोघाटो । त्यहि भएर त सडक दुर्घटना बढेकोबढ्यै छ । जताततै भ्रष्टाचारै भ्रष्टाचार छ भन्छन् । शिक्षामा उधुम लुटमार छ भन्छन् । स्वास्थ्यमा त्यस्तै भरमार लुटैलुट छ । सरकारदेखि तलैसम्म माफियाको जगजगी छ भन्छन् । जनताका छोराछोरीले न गतिलो शिक्षा पाउँछन् न उपचार नै गतिलो पाउँछन । नेताहरु विदेशमा गएर उपचार गराउँछन् । जनतालाई झुक्क्याउन प्राइभेट अस्पताल खोल्ने मालिकै विदेश गएर उपचार गराउँछन् । नेपाली युवायुवतीलाई विदेश धपाउन श्रम मन्त्रालय नामको ‘दलाल कम्पनी’ खोलेर विदेश धपाउँछन् । यस्तै-यस्तै अनगिन्ति काम गरेका छन् बाजे, भनिसाध्यै छैन कति भनुँ ! जनतामारा काम बाहेक केहि छैन बाजे तिम्रो प्रजातन्त्रमा ! प्रजातन्त्रमा बोल्ने अनि बोलेर ठग्ने होइन विशुद्ध बाँच्न पाउने परिभाषा चहियो भनेको त हो नि अघिदेखि मैले ! छ त्यस्तो परिभाषा भने एकचोटी दिमाग चलाऊ, होइन भने म जान्छु ! मैले उनको कुमबाट हात झिक्दै भनेँ ।

लिंकन चुपचाप सुनिरहेका थिए, म जान्छु भनेपछि पखपख भन्दै उनले भने- ओहो ! मेरो प्रजातन्त्रका नाममा यत्रो मनपरी ! ल..ल म अब गम्भीर चिन्तन गर्छु । विचार गर्छु ।…

उनको उक्त भनाइपछि टोलाइरहेको म झसंग भएँ । जुरुक्क उठेँ । मूर्तीलाई नै साँच्चैको लिंकन ठानेर अनेकन कुरा गरेछु । क्याम्पस पढ्दाको रसियन कथा ‘ग्रीफ’को स्मरण भयो । ग्रीफका पात्रले आफ्ना दुःखपीडा घोडाका अगाडि सुनाएजस्तै मैले मेरो देशको पीडा स्व. अब्राहम लिंकनको मूर्तीलाई सुनाएछु । ठिक सुनाएँ कि कस्तो सुनाएँ मेरा समादरणीय मित्र एवं पाठकहरुलाई नै जिम्मामा छोडेँ ।