२८ वर्षको साफ च्याम्पियनसिप इतिहासमा नेपाल पहिलो पटक उपविजेता

२८ वर्षको साफ च्याम्पियनसिप इतिहासमा नेपाल पहिलो पटक उपविजेता


आठौँ पटक उपाधि भारतको पोल्टामा


साफ च्याम्पियनसिपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ । भारतले ३–० ले फाइनल जित्दै आठौँ पटक उपाधि जितेको छ ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय स्टेडियममा शनिबार सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग तीन शुन्य गोलअन्तरले पराजित भएपछि नेपालको उपाधि जित्ने सपना पूरा हुन सकेन । जितसँगै भारतले भने आठौँ पटक साफ च्याम्पियनसिपको उपाधि जित्न सफल भयो ।

पानी परेर खेल्न असहज भएको खेलको पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए ।

फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा आक्रामक सुरुवात गरेको भारतले तीन गोल गर्‍यो । भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुल समादले एक एक गोल गरे ।

भारतले खेलको ४९औँ मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको थियो । खेलको ५०औं मिनेटमा सुरेशले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा साहलले गोल गर्दै भारतलाई ३–० को जित दिलाए ।

यससँगै नेपाल पहिलो पटक साफमा उपविजेता बनेको हो । पाँच राष्ट्र सहभागी प्रतियोगितामा भारत लिगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको थियो । नेपाल राउण्ड रोबिन लिगको दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो ।

नेपालले साफमा खेलेको चार खेलमध्ये २ खेलमा जित हात पारेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो । यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो ।

नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपाल फाइनल प्रवेश गरेको थियो । उता भारत भने २ खेलमा बराबरी र २ खेलमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो । २८ वर्षको साफ च्याम्पियनसिप इतिहासमा नेपाल पहिलोपटक फाइनल पुगेको थियो ।