चाडबाडको मौकामा ट्याक्सीको ठगी !

चाडबाडको मौकामा ट्याक्सीको ठगी !


  • अनुसा थापा, भक्तपुर

विजयादशमीको दिन । मान्यजन तथा आफन्तकहाँ टीका लगाउन जानेहरू सार्वजनिक सवारी साधनको अभावका कारण बिहानैदेखि ट्याक्सीको प्रतीक्षामा देखिन्छन् । उपत्यकाका चोकचोकमा ट्याक्सीहरू अघिपछिजस्तो यात्रु पर्खेर बसेको देखिँदैनथ्यो । ट्याक्सी नपाएर आफ्नो गन्तब्य स्थल पुग्न ट्याक्सी कुरेर बसेका पनि त्यत्तिकै थिए ।

टीका लगाउन जाने हरेकको हातमा झोला झुण्डिरहेको थियो । कतिले त आफ्ना स-साना बालबच्चा समेत च्यापिरहेका थिए । भक्तपुरको सुर्यविनायकमा बिहान एउटा पनि ट्याक्सी देखिएको थिएन । सुर्यविनायक बस्ने कृष्ण महर्जन टीका लगाउनको लागि मैतीदेवी जान ट्याक्सी खोज्दै थिए । उनको साथमा श्रीमती र तीन जना छोराछोरी पनि थिए । उनी हिँड्न नपरोस् भनेर ट्याक्सी पर्खेर बसेका थिए, बल्लतल्ल एउटा ट्याक्सी भेटे । तर एउटा ट्याक्सी आउँदा तीन जना ट्याक्सीतिर दौडिए । ट्याक्सी चालकले सुर्यविनायकबाट मैतीदेवी जान सिधै दुई हजार मागे ।

दुई हजार बढी भयो मिटरमा जाउँ भनेर महर्जनले ट्याक्सीचालकलाई फकाउन अनेकौँ कोशिस गरे । मिटरमा हिँड्न ट्याक्सीचालक तयार भएनन् । महर्जनले ट्याक्सीको विरोधमा उजुरी गर्न ट्राफिक प्रहरी खोजे । उनी ट्राफिक पुलिस बोलाउन जाँदा अर्को यात्रु हजार रुपिँया तिरेर बालकोटतर्फ लागिहाले । उनले ट्याक्सीको नम्बरसमेत टिप्न भ्याएनन् । सुर्यविनायकबाट मैतीदेवी कति किलोमिटर होला ? त्यस्तै आठ-नौ किमि त होला ! तर भाडा मागिन्छ दुई हजार !!

आज ट्याक्सीलाई यात्रु बोकेर फुर्सद छैन । ट्याक्सीचालकहरू यतिबेला मालामाल भएका छन् । एक ट्याक्सीचालकले बिहान ६ देखि मध्यान्ह ४ बजेसम्ममा आठ हजार रुपैयाँ कमाएको जानकारी दिए । मिटर नचलाई यात्रुको बाध्यताको गलत फाइदा उठाएर त्यत्तिका कमाइ गरेको स्पष्टै छ । ट्याक्सी चालकहरूले आफ्नो निजी सम्पत्ति हो भन्दै आफूखुशी गरेर मिटरमा यात्रु नबोकेको गुनासो सर्वसाधारणले गरेका छन् ।

ट्राफिक प्रहरी महाशाखाले पनि यस्तो बेला अनुगमनमा खासै चासो दिइको छैन भने ट्याक्सीचालकले पनि मनलाग्दो भाडा असुलेका छन् । ट्याक्सीमा जडान गरिएको मिटर त देखाउनको लागि मात्र भएको छ । फितलो अनुगमनको कारण पनि आज ट्याक्सी चालकले दादागिरी देखाएको सर्वसाधारण बताउँछन् । दशैँभरि यातायात व्यवस्था विभाग र ट्राफिक महाशाखाले रत्तिभर पनि अनुगमन गरेनन् । के सरकारले पनि चाडबाड भनेर ट्याक्सी व्यवसायीलाई छाडा छोडेको हो ? अन्यथा चाडबाडको बेलामा जनता यसरी ठगिनुपर्ने थिएन । यस्तो बेलामा इमानपूर्वक अनुगमन कार्यलाई तीव्रता दिनुपर्ने थियो । वास्तवमै टीकाको दिन ट्याक्सी चढ्ने यात्रु धेरै ठगिएका छन् ।

ट्याक्सीचालकले जति माग्यो यात्रुले त्यति नै तिरेर यात्रा गरेको छन् । यात्रु अरु बेला पनि ठगिएका थिए तर आज अलिक बढी नै ठगिए । सबैलाई टीका लगाउन जानुपर्छ भन्ने स्थितिलाई मध्यनजर गरेर ट्याक्सी व्यवसायी यात्रुलाई सुविधा दिनेतर्फ होइन ठग्न नै उद्यत् देखिए ।

दशैँ मान्न आ-आफ्ना घरगाउँ पुगेकाहरू अब उपत्यका फर्किन थाल्नेछन् । राजधानी उत्रिएपछि उनीहरूलाई आफ्नो कोठा फर्किन पनि ट्याक्सीकै आवश्यकता पर्छ । ट्याक्सी व्यवसायीले फेरि पनि उनीहरूलाई ठग्नेछन् । ट्याक्सी व्यवसायीले मिटरमा यात्रु बोक्दैनन्, जनता ठग्छन् ।

यसरी ट्याक्सी व्यवसायीदेखि जनता एकदमै पीडित भएका छन्, तर सरकारले अझै पनि यो महसूस गरेको छैन । यातायात व्यवस्था विभाग र यातायात मन्त्रालयको ठूलो कमजोरी छ । यी दुई निकाय नयाँ ट्याक्सीको दर्ता पनि खोल्न तयार छैनन् भने जनतालाई सेवा नदिने, ठगी गर्ने ट्याक्सी व्यवसायीलाई कारबाही गर्न सक्ने आँट यिनीहरूमा छैन । ट्याक्सी व्यवसायीहरू खुल्ला रुपमा लेबी उठाएर महासंघका नेताहरूलाई नयाँ ट्याक्सीको दर्ता रोक्न लगाउँछन्, सम्बन्धित निकायलाई यसको जानकारी छ तर आँखा चिम्लिएर बसेको छ । सरकारले नयाँ ट्याक्सीको दर्ता खोल्दा अहिले भएका ट्याक्सी व्यवसायीलाई घाटा लाग्ने भएर उनीहरुले सरकारलाई आफ्नो हात लिएका छन् । नयाँ ट्याक्सीको दर्ता खोल्दा अहिले भएका ट्याक्सीको मूल्य घट्छ । त्यो अवस्थामा अहिले सञ्चालनमा रहेका ट्याक्सीको दैनिक आम्दानी पनि स्वाट्टै घट्छ ।

राजधानी उपत्यकामा मर्दा र पर्दा जतिबेला पनि ट्याक्सी नै चाहिन्छ । किनकि सार्वजनिक यातायातको भर नै हुँदैन । यत्रो जनसंख्या भएको ठाउँमा ट्याक्सीको जम्मा संख्या ६ नौ हजार । ट्याक्सीमा करिव तीन दशकदेखि सिण्डिकेट कायमै छ । ट्याक्सी व्यवसायीहरू जसरी हुन्छ नयाँ ट्याक्सीको दर्ता रोक्ने तयारीमा बसेका छन् । आफु त जनतालाई सेवा दिन तयार छैनन्, पैसा भने आफ्नो हिसाबले लिन्छन्, तर सेवासुविधा भने शुन्यबराबर छ । यात्रुले पैसा तिरेअनुसारको फ्यासिलिटी पनि हुनुपऱ्यो । महँगो भाडा लिएर जनता ठगेका छन् अनि तिनीहरूलाई यसले पनि अपुग भएको छ ।

अहिले भएको भाडाभन्दा सस्तोमा ट्याक्सी किनेर चलाउँछु, राज्यलाई राजस्व तिर्छु, आफ्नै देशमा स्वरोजगार बन्छु, मिटरमा यात्रु बोक्छु, प्रत्येक किमि २५ मा यात्रुलाई यात्रा गराउँछु भन्दा पनि त्यस्तालाई रोकिएको छ, जनताले पाएको छैनन् । यसको कारण के भन्दा ट्याक्सी व्यवसायी र यातायात व्यवस्था विभागको गहिरो सम्बन्ध !

अहिले यात्रु ट्याक्सीमा गएर चढ्नेबित्तिकै चौध रुपियाँ तिर्नुपर्छ, न त ट्याक्सी पेट्रोल खर्च भएको हुन्छ न त कुनै सेवाको भागिदार यात्रु भएका हुन्छन् । ट्याक्सी व्यवसायीको ठगी र दादागिरीमा अब जनताले पनि गम्भीरतापूर्वक आवाज उठाउने कि ?