निर्वाचन क्षेत्रमा जनतासँग छलफल गरिरहेका बेलायती सांसदको हत्या

निर्वाचन क्षेत्रमा जनतासँग छलफल गरिरहेका बेलायती सांसदको हत्या



बेलायतका एक सांसदको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । कन्जरभेटिभ सांसद सर डेभिड एम्सको बेलायतस्थित एसेक्समा चक्कु आक्रमणबाट मृत्यु भएको हो ।

स्थानीय एक चर्चमा भएको उक्त घटनापछि प्रहरीले एक सङ्कास्पद अभियुक्तलाई नियन्त्रणमा लिएको छ । प्रहरीले अभियुक्तबाट एक धारिलो चक्कु बरामद गरेको छ भने यस मामलामा ती एक जनाबाहेक अन्य कसैको खोजी गरिरहनु आवश्यक नरहेको जनाएको छ ।

घटनाको बेला साउथेन्ड वेस्टका सांसद सर डेभिड आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूसँग अन्तर्क्रियात्मक भेटघाट गरिरहेका थिए । बीबीसीले जनाएअनुसार यस्तो अवसरमा जो-कोही सर्वसाधारण मानिसले आफ्ना सांसदलाई नजिकबाट भेट्न सक्छन् ।

सांसद सर डेभिडमाथि चक्कु प्रहार भएको घटनाबारे जानकारी प्राप्त हुनेवित्तिकै प्रहरी घटनास्थलमा पुगेका भए पनि प्रहरी पुग्नुअघि नै उनको घटनास्थलमै मृत्यु भइसकेको थियो ।

४० वर्षसम्म संसद् सदस्य रहेका ६९ वर्षीय सांसद डेभिड एम्स पाँच सन्तानका पिता थिए । उनी पहिलो पटक १९८३ मा बैसिल्डनबाट सांसद चुनिएर आएका थिए ।

१९९२ मा आफ्नो सिट जोगाउन सफल भएपछि पार्टीभित्र उनको प्रतिष्ठा निकै चुलिन पुग्यो । सन् १९९७ मा उनले आफ्नो क्षेत्रनजिकको साउथेन्ड वेस्टबाट चुनाव लडे र विजयी बने ।

सांसद सर डेभिड एम्स गर्भपतनविरुद्ध अभियान चलाउने र जनावरहरूको मुद्दामा खुलेर बोल्ने नेताका रूपमा परिचित थिए ।

पछिल्लो पाँच बर्षमा बेलायतमा सांसदको हत्या भएको यो दोस्रो पटक हो । यसअघि २०१६ मा लेवर पार्टीका सांसद जो कोक्सको वेस्ट यार्कशायरमा हत्या भएको थियो, जहाँ उनी पनि ‘कन्स्टिच्युएन्सी सर्जरी’ (निर्वाचन क्षेत्रको चिरफार) कार्यक्रममै सहभागी थिए ।

Photo Courtesy:BBC