एमाले अध्यक्ष ओलीले औंल्याए ‘अर्ली इलेक्सन’को सम्भावना

एमाले अध्यक्ष ओलीले औंल्याए ‘अर्ली इलेक्सन’को सम्भावना


पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारप्रति ब्यङ्ग्य गर्दै तीन महिनामा बल्ल मन्त्रिमण्डलले पूूर्णता पाएको टिप्पणी गरेका छन् । दशैँ, दीपावली, छठ र नेपाल सम्बत्को अवसरमा बिहीबार झापाको बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष्य ओलीले भने- ‘तीन महिनामा बल्लबल्ल मन्त्रिमण्डलले पूर्णता पाएको छ, सरकार कसरी चलिरहेको छ भन्ने प्रष्टै छ । अरु के-के भएको छ, त्यो चाहिँ देखिन बाँकी छ ।’

‘अर्ली इलेक्सन’को सम्भावनासमेत रहेको दाबी गर्दै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष ओलीले आफूले नेतृत्व गरेको सरकारले विकास निर्माणमा आशालाग्दो काम गरेको दाबी गरे । प्रदेश र स्थानीय तहको सरकारलाई अब धेरै अवधि बाँकी नरहेका कारण तीव्र गतिमा विकासका कार्यलाई अघि बढाउन उनले आग्रह गरे ।

जनताको जीवनमा देखिने गरी परिवर्तन ल्याउन लोकतन्त्र स्थापना गरिएको जनाउँदै अध्यक्ष ओलीले लोकतन्त्रको माला जपेर लोकतन्त्रकै विरुद्ध गतिविधि गर्नेको कुप्रचार र भ्रम निस्तेज बनाउन कार्यकर्ता पङ्क्तिलाई आह्वान गरे । दशैँ, तिहार, छठलगायतका चाडपर्वले समाजलाई एकता र सद्भावमा उन्नका लागि मालाको काम गरेको धारणा उनले व्यक्त गरे ।

ज्ञातव्य छ, विसं २०५० देखि बडादशैँको महानवमीका दिन एमाले अध्यक्ष ओलीले गृहजिल्ला झापामा शुभकामना आदानप्रदान गर्दै आएका छन् । गत वर्ष कोभिड-१९ को कारण कार्यक्रम रोकिएको थियो । बिहीबारको कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्य, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हिरा थापा, सांसद् कोमल वली, नेकपा एमालेका प्रदेश कमिटी सचिव विनोद ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

file photo