सात समुन्द्र पारी पनि सुध्रिन नसकेका हामी !

सात समुन्द्र पारी पनि सुध्रिन नसकेका हामी !


नेपालीलाई नेपालको माटोसुहाउँदो शिक्षाको जरुरी छ । मौलिक परम्परालाई जोगाउँदै आधुनिक विकासअनुसारको बौद्धिक उत्पादन गर्न, त्यहीअनुसारको प्रगतिशील विकास गर्न सकेको खण्डमा आर्थिक, सामाजिक क्रान्ति गर्न कुनै हत्याहिंसाको राजनीति रोज्नै पर्दैन ।
  • काशी पौडेल ‘आयुष’

कथित अग्रगामी आन्दोलन र ब्यवस्था परिवर्तनको नाममा भएको बहुदलीय व्यवस्थाको आगमनपछि सरकारी स्वामित्वका उद्योगधन्दा कौडीको भागमा निजीकरण गरियो । कलकारखाना बन्द भएसँगै बेरोजगार बनेका नेपालीहरू माओवादी हत्याहिंसा, चन्दा आतङ्क, लुटपाटको कारण बेचैनी, अशान्ति असुरक्षित हुँदै गए । देशको राजनीति उथलपुथलको अवस्थालाई ध्यानमा राख्दै ज्यान जोगाउन साथै केही घरको आर्थिक स्थिति उकास्न अमूल्य जीवनको प्रवाह नगरी देश छाड्न विवश हुनुपऱ्यो । म्यानपावर कम्पनीमार्फत दलालले तोकेको निश्चित रकम तिरेर हातमा एक थान हरियो पासपोर्ट बोकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रदेशको लागि रवाना हुनुको विकल्प आमनेपालीमा रहेन । त्यही बाध्यता शान्ति स्थापना भएर देशमा गणतन्त्र आउँदा पनि राजनीतिक खिचातानी र अस्थिरताले गर्दा अहिले बिस्तारै-बिस्तारै वैदेशिक रोजगारीका लागि देश छाड्ने एउटा लहर नै चलिरहेको छ । यही लहरलाई पछ्याउँदै भनौँ वा घरायसी बाध्यताले, आम भुइँमान्छेले जस्तै म पनि परदेशी हुन बाध्य थिएँ । देशको राजनीतिक अवस्था र दलिय स्वार्थका कारण अवाक बनेको म केही शान्तिको स्वास फेर्न र दुई/चार पैसा कमाएर बिहे गर्दा लागेको ऋण उकास्न परदेशिनु नै उचित लागेर मनमा उमङ्ग र महत्त्वाकांक्षा पाल्दै जहाज चढेको थिएँ । तर, परदेशको भूमिमा नेपालीको अवस्था र व्यवहारले मेरो मन झनै ब्यथित बन्न पुग्यो । विमानदेखि ओर्लेर जाँचबुझको लागि पालो पर्खिंदा शुरुमै अपहेलित भएकोले एउटा कमजोर नेपाली हुनुको पीडामा मन भतभती पोल्यो ।

देशको अर्थब्यवस्था र राजनीतिक अवस्था नाजुक भयो भने एउटा नागरिक आफ्नो देशमा मात्र हैन, प्रदेशको भूमिमा पनि अपहेलित हुनुपर्दोरहेछ भन्ने यहाँ आएर स्वयमले अनुभव गर्ने अवसर जुऱ्यो । देशको ब्यवस्था सम्झेर आक्रोशित हुनु, कुन्ठा र इख साध्नु शिवाय मसँग त्यहाँ पोख्ने वा गर्न सक्ने केही थिएन । देशमा भएको द्वन्द्व र नाजुक अर्थब्यवस्थाको कारण स्वदेशमा समेत एउटा असल नागरिकको अनुभूति गर्न नसकेको म विदेशी भूमिमा घृणित र अपहेलित हुनु स्वाभाविक नै होला सायद ! यस्तै कुरा मनमा खेलाएर आफूलाई केही शान्त पार्दै गन्तब्यका पाइला अघि बढाउँदै कर्मथलो (कम्पनीसम्म) पुगेँ । जब कम्पनीको भूमि टेकेँ, त्यहाँका नेपाली दाजुभाइ, दिदीबहिनीको व्यबहार, तिनका दैनिकी तथा उनीहरूको कार्यशैली, जागिर र समयमा तलब नपाउँदाको पीडा देख्दा मनमा निराशाको कालो बादल झन्–झन् मडारिँदै आयो । तर मसँग चुपचापले आफ्नो कर्म स्वीकार गर्नुको विकल्प नै थिएन ।

दुबई मरुभूमिबीचको एउटा नयाँ र नमुना शहर ! विश्वभरीबाट भ्रमण गर्न होस् वा ब्यापार-व्यावसाय गर्न, होडबाजी गर्दै ओइरो लाग्ने मानिसहरूको एउटा गन्तव्यको ज्वलन्त उदाहरण हो भन्दा अतिशयोक्ति नहोला ! अनि नेपाल जस्ता न्युन आयस्रोत भएका देशका नागरिकहरूको वैदेशिक रोजगारीमा पुग्ने केन्द्र हो भन्दा सान्दर्भिक होला । त्यही वैदेशिक रोजगारको एउटा असल गन्तव्य ठानेर नै म यहाँ आएको थिएँ । नेपालमा हुँदा दुबईको बारेमा जति सुनिन्छ त्यो भन्दा निकै फरक पाएँ । मुस्लिम धर्मसापेक्ष, कठोर कानुन, सरकारको आदेशभन्दा दायाँबायाँ कुनै गैरकानुनी क्रियाकलाप गर्न पुर्णतया बन्देज छ । आश्चर्यको कुरा यो देशमा गणतन्त्र, लोकतन्त्र भनेको के हो किन चाहिन्छ ? कोही कसैलाई सरोकार नै छैन । राज-शासनद्वारा संचालित एउटा सानो राज्य रहेछ । ठ्याक्कै भन्नुपर्दा नेपालमा भएको पञ्चायतकालीन प्रणाली जस्तै महसुस गरेँ मैले !! लाग्छ, एउटा कुशल अभिनेताले मन बचन कर्म लगाएर राष्ट्रसेवामा समर्पित हुने हो भने देश विकास गर्न कुनै वाद वा तन्त्रको जरुरी पर्दैन रहेछ । दलरहित राजाकै शासनमा आर्थिक समृद्धिले छ्लाङ मार्दै विश्वको सम्पन्न मुलुक बन्न सकिँदो रहेछ भन्ने उत्कृष्ट उदाहरण यहीँ देख्न भोग्न पाइयो । कोही कसैले गैरसंवैधानिक गतिविधि गर्न नपाइने ! नागरिकले कहिल्यै सरकारको विरोध नगर्ने । जनता देशभक्त भएर सरकारसँगै अगाडि बढ्ने । धार्मिक सहिष्णुता र प्राचीन इतिहास जोगाउँदै, आधुनिक विकासलाई अँगालेर पर्यटक आकर्षण गर्न हरसम्भव लागिपरेको छ । अनेकौँ यस्ता उदाहरण पलपल अनुभव गर्न सकिन्छ ।

यहाँको शाशन पद्धति र यहाँको ब्यबस्थापन सबै देखेर नेपाल सम्झिएँ । खास नेपालमा पनि एउटा जंगी राजा हुन्थे वा दुई दल मात्र रहेर सरकार चलाउँथे भने साँच्चिकै नेपाल पनि युरोप अमेरिका, सिङ्गापुर, दुबई जस्तै एउटा आर्थिक रूपले सम्पन्न देश बन्थ्यो । म मेरै देशमा अरुलाई रोजगारी दिएर बसेको हुन्थेँ होला, नकि आज यो मरुभूमिमा खुन पसिना बगाउँदै दुबईको बस्तुस्थिति नियाल्दै आफ्नो दैनिकी चलाएकोअवस्थामा हुन्थे“ !

भनाइ र भोगाइमा आकाश जमिनको अन्तर हुन्छ भने जस्तै, दुबईको आर्थिक विकासलाई हेरेर नेपाली राजनीतिक दलका नेताले पनि नेपाललाई संसारकै सप्पन्न देश बनाउँछन् भनेर सोच्नु एउटा कोरा कल्पना मात्र हुन्छ । पुरानो संरचनालाई संरक्षण र आधुनिकतालाई आत्मसात गर्दै विकासले छलाङ मारेको आधुनिक दुबई शहरदेखि अलिक पर पुरानो सभ्यताको शहर छ । मीनाबजार (बरदुबई) पारि देरादुबई ! त्यही मीनाबजारको छेउमा नेपाली पार्क, लभडाँडो छ । हरेक शुक्रबार भेटघाट गर्दै एकअर्काको दुःखसुख साटासाट गर्ने स्थान । आपद बिपत्तिमा एकअर्कालाई साथ–सहयोग गर्दै विभिन्न सभा गोष्ठी र सामुहिक भेला हुने थलो भन्दा अत्युक्ति नहोला । दुई दशकअगाडि सबै नेपाली एकै हौँ भन्ने भावना सबैमा देख्न सकिन्थ्यो रे यहाँ । नेपालीहरूको भाइचारा, बन्धुत्वको एकता देखेर नै होला अरु देशका मान्छेले पनि नेपालीलाई सम्मान गर्थे, इज्जत दिन्थे रे ! अचेल पनि यहाँ हरेक शुक्रबार हजारौँ नेपाली जम्मा हुन्छन् । तर नेपालीत्वको भावना मौलाउनुको सट्टा विलीन हुँदै गएको प्रष्टै अनुभव गर्न सकिन्छ । स्वदेशमा जस्तै राजनीतिक संगठन खोल्ने कार्य निकै मौलाएको छ । विभिन्न जातजाति, समुदाय, राजनीतिक आस्थाका गुटबन्दी र जिल्लाबासीका नाममा सङ्घ–संगठन खोल्ने, जातजाति, थर स्थानविशेषका मान्छे जम्मा भएर पैसा उठाउने कार्य तीव्र्र गतिमा बढेको पाइन्छ । केही सङ्घ संस्थाले देशको हितमा काम नगरेका हैनन् तर पैसाको निम्ति एकले अर्कोलाई ठग्ने, ढाँट्ने र छल्ने प्रवृत्ति मौलाउँदो छ । नेपाली भाइचाराको सम्बन्ध प्रगाढ बनाउने भन्दा पनि ब्यक्तिगत स्वार्थमा निहित कार्यक्रम बढी हुने गरेको देख्न सकिन्छ । जम्मा भएको पैसा कुम्लाएर फरार भएका केही घटना यदाकदा बाहिरिए पनि कानुनी झन्झटको कारण प्रशासनसम्म पुग्दैनन् ।

हिजोआज नेपालीले एक-अर्कालाई भेटेर देश विकासको कुरा गर्ने साथीभाइसँग दुःख–सुखका वार्तालाप गर्ने भन्दा पनि रक्सी बियर माछा–मासु बेच्ने र प्रेमिल जोडीले प्रेम गर्ने स्थानमा परिणत भएको छ । टिकटक बनाएर मनोरञ्जन लिने जमात त छँदैछ । साँझको समयमा लभडाँडातिर देखिने प्रेमिल जोडीहरूको चर्तीकला हेर्दा लाग्छ, जस्तोसुकै कठोर कानुन भए पनि अवैध क्रियाकलाप गर्न नेपालीलाई छेकवार छैन । एकअर्काको जोडीसँग मायाप्रेम गर्ने, महिनाभर काम गरि आएको तलब बुझेकै दिन मदिरा र युवतीका लागि खर्चिने, मध्यपानले मातेर अर्थचेत हुँदै लगाएको कपडामै दिसापिसाब गर्ने, एकआपसमा काटमार गर्नेहरू पनि भेटिन्छन् । यस्तै लज्जापूर्ण घृणित कार्यले गर्दा जो-कोही नेपाली बदनाम हुँदै गइरहेको छन् । यहाँ एनआरएनमा आवद्ध ब्यक्तिकै मिलेमतोमा केही स्वार्थी ब्याक्तिहरूले हुन्डी कारोबार, सुन तस्करी गर्ने, विभिन्न इलेक्ट्रोनिक सामानको अवैध कारोबार गर्ने कार्य पनि दिनरात मौलाएको छ । अझै दुःखलाग्दो कुरा त के भने नेपालीहरूलाई भिजिट भिसामा बोलाउने र काम लगाइदिएबापत एक महिनाको तलब असुली गर्ने । साथै पैसा लिएर आफू भाग्ने गरेको घटना पनि बग्रेल्ती हुने गर्छ । अलपत्र परेका केही नेपालीले वर दुबईस्थित नेपाली पार्कको सडकपेटीमै भोकभोकै रात बिताएको घटनाले पनि नेपालीहरू निकै गिर्न थालेको आभास हुन्छ ।

केही अग्रजहरू सुनाउँछन्- केही दशक पहिले स्वदेशमा जस्तै प्रदेशको भुमिमा पनि एकअर्कामा समभाव–सद्भाव राख्ने, सहयोगी, मिलनसार, नैतिकता, इमानदारिता देखाउने नेपाली प्रशस्तै हुन्थे । सबै नेपाली एकै भन्दै हरेक समस्यामा एकजुट हुने नेपाली भेटिन्थे । जब देशमा जनआन्दोलनसँगै माओवादी हत्याहिंसाको क्रान्ति शुरु भयो तब गाउँ-गाउँदेखि युवाहरूलाई म्यानपावरका एजेन्टले महँगो रकम लिँदै विदेश पठाउने नाममा ठगी धन्दा चाले । लाग्छ त्यही समयदेखि देशमा हुने नेपालीमा मात्र नभइ विदेशमा हुने नेपालीमा समेत नेपालीत्वको भावना मानवीय गुण धुमिल हुँदै गयो । एकअर्कामा इर्ष्या, वैमनस्यता, ठगी धन्दा, लुटपाट, गर्ने र स्वतन्त्रताको नाममा पारिवारिक जिम्मेवारी बहन नगर्ने परम्पराको तीव्र विकास भयो । त्यसको असर अचेल प्रदेशको भूमिमा हरेक नेपालीजनले भोग्नुपरेको छ । नेपाली चेलीहरू पैसाको निम्ति अनेकौँ देशका नागरिकसँग यौनजन्य क्रियाकलाप गर्ने, एउटै युवतीका ७–८ जना केटा साथी हुनु, बङ्गाली, पाकिस्तानी र इन्डियनसँग बिहेबारी गर्दै धर्म परिवर्तन गर्नु, अवैध गर्भ बोकेर घर फर्किन विवश हुनुले नेपाली चेलीबेटीलाई नराम्रो नजरले हेर्नेहरू प्रशस्तै भेटिन्छन् । अर्कोतर्फ नेपाली युवाले रक्सी पिउँदै ‘जाँडबहादुर’ बनेर संयमता गुमाउँदा वा अवैध गतिविधिमा संलग्न हुँदा हजारौँले जेलको चिसो छिँडीमा रात बिताउन परेको छ । यी र यस्तै कारण नेपाली वीरताको गर्विलो इतिहासको छवि लगायत अन्तर्राष्ट्रिय स्तरमा राखेको सम्बन्ध पनि बदनाम हुँदै जाने होकि भन्ने विषयमा चिन्तनमनन गर्दै समीक्षा गर्नुपर्ने देखिन्छ ।

यदि सबै देशभक्त नागरिकले देशलाई सत्मार्गमा डोऱ्याउने र विकासको कायापलट गर्ने संकल्प गर्ने हो भने आधुनिक शिक्षाको नाममा बेरोजगार उत्पादन गर्ने, देशको भाषा, मानवीय धर्म अनि आफ्नो गौरवको इतिहास मेट्ने निजी अङ्ग्रेजी स्कुल/कलेजलाई बन्द गर्नुको विकल्प छैन । शैक्षिक अनुदानको नाममा युरोपेली, अमेरिकी कथा र तिनका संस्कृति घोकाएर आफ्नै देशलाई बैरी बनाउने नीतिको उचित विकल्प खोजी गर्नुपर्छ । नेपालीलाई नेपालको माटोसुहाउँदो शिक्षाको जरुरी छ । मौलिक परम्परालाई जोगाउँदै आधुनिक विकासअनुसारको बौद्धिक उत्पादन गर्न, त्यहीअनुसारको प्रगतिशील विकास गर्न सकेको खण्डमा आर्थिक, सामाजिक क्रान्ति गर्न कुनै हत्याहिंसाको राजनीति रोज्नै पर्दैन । नेपालले पनि दुबईले जस्तै लाखौँ पर्यटकलाई आकर्षण गर्न सक्छ । अब प्रत्येक नेपालीले आफ्ना सन्ततिलाई आधुनिक शिक्षाको नाममा हुने बेरोजगार, अश्लील, अर्थहीन ज्ञानबाट टाढा राखेर वनस्पति जगतभित्रका आयुर्वेदिक महत्त्व र कृषि विज्ञानका कुरा सिकाउन जरुरी छ । देशको इतिहास, धर्म संस्कृति भूगोल र नैतिकताको ज्ञान चिनाउन आवश्यक छ । जय मातृभूमि !