नेपाली चलचित्रमा किन समेटिन्नन् दशैँको सन्दर्भ ?

नेपाली चलचित्रमा किन समेटिन्नन् दशैँको सन्दर्भ ?


  • राजन घिमिरे

नेपालीको महान् चाड दशैँको रौनकता यतिबेला भरिएको छ । दशैँको आगमनसँगै नेपालीहरुमा खुशी छाएको पाइन्छ । खासगरि मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरि मनाइने यस पर्वमा पिङ खेल्ने र चङ्गा चेटको परम्परा पनि रही आएको छ ।

नेपालीहरुले संस्कार र संस्कृतिमा महान् पर्वका रुपमा दशैँलाई महत्वका साथ मनाए पनि नेपाली चलचित्रहरुमा दशैँले उत्तिसाह्रा स्थान पाउन सकेको छैन । जबकि यहि दशैँको अवसर पारी आफ्नो चलचित्र रिलिज गर्न निर्माताबीच घम्साघम्सी नै हुने गर्छ, खासगरी कोरोना महामारीभन्दा अघिका वर्षहरुमा यही देखिँदै आएको हो ।

नेपाली समाजमा जति महत्वका साथ दशैँलाई मनाइन्छ त्यसको तुलनामा चलचित्रमा दशैँको प्रसङ्ग खासै उल्लेख हुने गरेको पाइन्न, तथापि हुँदै नभएको भने होइन । चलचित्रमा दशैँले कस्तो महत्व पाएको छ आज हामी यही प्रसङ्ग उठान गर्नेछौँ ।

विशेषगरी वैदेशिक रोजगारसम्बन्धी कथा बोकेका चलचित्रहरुमा दशैँको प्रसङ्गले केही स्थान पाएको देखिन्छ । यसपालि दशैँमा पनि छोरो घर आएन वा यसपाली पनि दशैँमा घर जान पाइएन भन्ने खालका सम्वाद हरु केही चलचित्रमा समेटिएका पाइन्छन् ।

निर्देशक नरेन्द्र थापाको चलचित्र देशदेखि विदेशमा पनि एउटा यस्तै गीत समावेश गरिएको छ । जसमा दशैँ र तिहार विदेशमै बितेको कुरा उल्लेख छ ।

चलचित्र म तिमिविना मरिहाल्छुमा पनि शान्तिसेनामा गएको सैनिक बन्धक भएकै अवस्थामा दशैँ आएको प्रसङ्गसहित घरको याद आएको गीत समावेश गरिएको छ ।

यस्तै निर्देशक शम्भु प्रधानको चलचित्र नेपाल प्यारो छ, किरण प्रधानको कस्तुरी र स्वर्गीय शिव रेग्मीको मुग्लान जस्ता चलचित्रहरुमा विदेशमा बसेका नेपालीहरुले दशैँ मनाएको र दशैँको बेला नेपाल सम्झेका प्रसङ्ग समेटिएको छ । चलचित्र मुग्लानमा एक लाहुरेले दशैँ मनाउन घर आएको बताएपछि प्रसङ्ग दशैँमा केन्द्रित हुन्छ । यहीँनेर दशैँ आयो बोलको गीत समावेश गरिएको छ । अहिले दशैँ भन्नासाथ सम्झने गीत चलचित्र मुग्लानको दशैँ आयो… नै हो । यो गीत हरेक वर्ष दशैँको अवसरमा सबैतिर घन्किने गर्छ ।

यता निर्देशक तुलसी घिमिरेको चलचित्र लहनामा भारतीय भूमिमा बस्दै आएका नेपालीहरुले मनाउँदै गरेको दशैँको दृश्य समेटिएको थियो । दार्जिलिङतिर शुटिङ्ग भइरहेकै बेला दशैँ परेकोले संयोगवश लहनामा उक्त दृष्य अट्न पुगेको हो । यस्तै, नारायण पुरीको महादेवीमा टिकाको समयमा उच्चारण गरिने दुर्गा स्तोत्र जयन्ती मंगलाकाली भद्रकाली कपालिनी राखिएको छ । यही स्तोत्र निर्देशक नीर शाहको वसन्तीमा पनि छ । निर्देशक श्याम राईको आँखा लोभी मन पापीमा विदेशमा काम गर्न गएका सन्तानहरु दशैँ जस्तो महान् चाडमा पनि व्यस्तताको कारणले आफ्ना अभिभावकहरुको हातबाट टिका थाप्न नआउने प्रसङ्ग राखिएको छ । यता प्रदीप श्रेष्ठ निर्देशित चलचित्र जीवन रेखामा भने दशैँको प्रसंग सहित एक गीत समावेश छ । जीवनरेखामा कारुणिक रुपमा यस्तो दृष्य समावेश गरिएको छ ।

यसैगरी, चलचित्र गोर्खा पल्टनको एक गीतमा कलाकारहरु टिका र जमाराका साथमा प्रस्तुत भएका छन् । दशैँको कुरा कतै उल्लेख नभए पनि टिका र जमरा लगाउनुले दशैँको परिवेश देखाउन खोजेको बुझिन्छ ।

चलचित्र परदेशीमा पनि दशैँको प्रसङ्ग उल्लेख गरिएको छ । नायक प्रशान्त तामाङ टिकाकै दिन विदेश जान लागेको दृष्य निकै कारुणिक लाग्छ । चलचित्र नतिजामा दशैको प्रसङ्ग त्यति शशक्त रुपमा देखाउन नसके पनि दशैँसम्बन्धी एउटा गीत समावेश गरिएको छ ।

चलचित्रमा प्रायः दशैँको बेला पारिवारिक सदस्यको विछोड वा अभाव हुँदाका सम्वेदनशील मर्मस्पर्सी दृश्यलाई मात्र समावेश गरिएको छ । तर, दशैँको सांस्कृतिक एवम् ऐतिहासिक महतवबारे भने चलचित्रहरु प्रायः मौन नै देखिन्छन् । ठूलो पर्दाका चलचित्रहरुमा दशैँले त्यति महत्व पाउन नसके पनि हास्य जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले दशैँ शीर्षकको एउटा टेलिफिल्म नै बनाएका थिए । जसमा दशैँका बारेमा धेरै कुराहरु महत्वका साथ उठान गरिएको छ । त्यसो त निर्माता तथा निर्देशक युवराज लामाले केही वर्षअगाडि दशैँ नामको चलचित्र निर्माण गर्ने घोषणा पनि गरेका थिए, तर उनले उक्त चलचित्र निर्माण गर्न सकेनन् ।

यसरी फाटफुट रुपमा दशैँको प्रसङ्ग समेटिए पनि नेपाली कला संस्कृतिमाथि आधारित भएर बन्ने नेपाली चलचित्रमा नेपालीहरुकै महान् पर्वको सजीव चित्रण भएको पाइँदैन, जसलाई विडम्बनाकै विषय मान्न सकिन्छ ।