‘राष्ट्रिय सुरक्षा-स्वार्थमा चुनौती थपिएकोले मन पोलेको छ’ : पूर्व श्री ५ ज्ञानेन्द्र

‘राष्ट्रिय सुरक्षा-स्वार्थमा चुनौती थपिएकोले मन पोलेको छ’ : पूर्व श्री ५ ज्ञानेन्द्र


पूर्व श्री ५ ज्ञानेन्द्र शाहले देशभक्ति र राष्ट्रपतिको भावना मानिसमा दमित भए पनि नामेट हुन नसक्ने, बरु योग्य समयमा समुचित तरिकाबाट त्यो प्रस्फुटित हुने धारणा राख्नुभएको छ ।

विजयादशमी २०७८ को उपलक्ष्यमा नेपाली दिदीबहिनी दाजुभाइको नाममा शुभकामना सन्देश जारी गर्दै पूर्व श्री ५ ले केही समययता जिम्मेवार एवम् देशभक्त नागरिकहरूबाट राष्ट्रको चिन्ताले व्याकुल भइ व्यक्त विचारहरूलाई आफूले राष्ट्रिय अनुराग र निष्ठा मात्र प्रकट भएको नभइ आम नेपालीमा राष्ट्रवादी चेतको सञ्चारसमेत गराएको रूपमा बुझेको बताउनुभएको छ ।

हरेक नेपालीलाई आफ्नो स्वतन्त्र विचार र आस्थाको अधिकार छ, हुन्छ र रहन्छ भन्दै उहाँले राजसंस्थाले वैचारिक आस्थाका आधारमा विभेद नगर्ने, आफूहरूको त्यस्तो मान्यता र परम्परा नरहेको पष्ट्याउनुभयो । राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधिबाहिरबाट कुनै पनि समस्याको समाधान नखोजिएको र नखोज्ने शाहवंशीय राजपद्दतिको इतिहासले स्पष्ट गरेको पूर्व श्री ५ को प्रष्टोक्ति छ ।

पूर्व श्री ५ द्वारा दशैँको उपलक्ष्यमा जारी शुभकामना सन्देश यस्तो छ

प्यारा नेपाली दिदीबहिनी तथा दाजुभाइ, विजया दशमीको पावन अवसरमा हामी देशभित्र र देशबाहिर रहे÷बसेका सम्पुर्ण नेपालीहरूमा शान्ति र सुखको लागि शुभकामना व्यक्त गर्दछौँ ।

हाम्रो समाज सनातनिक आदर्श र पुर्ख्यौली पौरखबाट पृथक छैन । तर हाम्रो राजनीति र राजकाजी चालचलन त्यसअनुरुप हुन सकेनन् । लोक कल्याणका हेतु, राजनीतिक स्वच्छता, जनप्रियता र जनआकाङ्क्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनुपर्ने हो । तर राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गुट-उपगुटमा अल्झिएको छ । कोरोनाको महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी, महँगी र अस्थिरताको भुमरीमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त ?

कुनै पनि परिवर्तनको मर्म देशसँग अन्तरसम्बन्धित हुने गर्दछ । त्यसको प्रभाव जनताले आफ्नो दैनिक जीवनमा अनुभूत गर्न सक्नु पर्दछ । दुर्भाग्यवश शिक्षा तथा स्वास्थ्यको व्यापारीकरण, विकास निर्माणका कामको प्रष्टिकरण, प्रशासनिक र राजनीतिक पेशाले सीमित व्यक्तिलाई फाइदा पुर्याउने र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निराशाको बादल छाएको छ । त्यसैगरी सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म संस्कृति सङ्कटमा पार्ने, राष्ट्रहितमा केन्द्रित रहनुपर्ने परराष्ट्र नीति असन्तुलित भइ राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौती थपिएकोले हाम्रो मन पोलेको छ ।

हरेक नेपालीलाई आफ्नो स्वतन्त्र विचार र आस्थाको अधिकार छ, हुन्छ र रहन्छ । राजसंस्था वैचारिक आस्थाका आधारमा विभेद गर्दैन, त्यो हाम्रो मान्यता पनि होइन न त परम्परा । शाहवंशीय राजपद्दतिको इतिहासले स्पष्ट गरेको छ, राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधिबाहिरबाट कुनै पनि समस्याको समाधान खोजेको छैन, खोज्दैन पनि । देशभक्ति र राष्ट्रपतिको भावना मानिसमा दमित भए पनि नामेट हुन सक्तैन, योग्य समयमा समुचित तरिकाबाट त्यो प्रस्फुटित हुने गर्दछ । केही समययता जिम्मेवार एवम् देशभक्त नागरिकहरूबाट राष्ट्रको चिन्ताले व्याकुल भइ व्यक्त विचारहरूलाई हामीले राष्ट्रिय अनुराग र निष्ठा मात्र प्रकट गरेको नभइ, आम नेपालीमा राष्ट्रवादी चेतको सञ्चारसमेत गराएको रूपमा बुझेका छौँ ।

देशको तत्कालिन परिस्थितिले हामीलाई बेग्लै जिम्मेबारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्तैन भन्ने आवोध हामीले गरेका छौँ । प्रजातान्त्रिक, प्रगतिशील या अन्य जुनसुकै विचारप्रति आस्थावान भए पनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वास हामीले लिएका छौँ । अतीतका गौरवपूर्ण विधि व्यवस्थालाई सम्झेर विद्यमानका नमिल्दा स्थितिलाई सुधार्ने सकारात्मक र देशसुहाउँदो राजनीति, राज्य व्यवस्थाका सबै कृयाशील शक्तिहरूबाट सही सोच राख्नु देश र जनताको हितमा उपयुक्त अनुभूति हो भन्ने हाम्रो धारणा छ । देशभन्दा माथि हामी कोही पनि छैनौँ ।

श्री नवदुर्गा भवानीले सबै नेपालीमा राष्ट्रिय कर्तव्य निर्वाह गर्न सक्ने सामर्थ प्रदान गरुन्, यही हाम्रो कामना छ । जय नेपाल ।