म्याद गुज्रिएका सामग्री बेचेको पाइएपछि सेल्स बेरीलाई ५० हजार जरिवाना

म्याद गुज्रिएका सामग्री बेचेको पाइएपछि सेल्स बेरीलाई ५० हजार जरिवाना



आसन्न दशैँलगायत चाडपर्व नजिकिएसँगै गरेको बजार अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय ललितपुरले सोमबार सातदोबाटोस्थित सेल्स बेरीलाई रु ५० हजार जरिवाना तिराएको छ ।

सहायक प्रजिअ ललितकुमार बस्नेत नेतृत्वको टोलीले चाडपर्वको समयमा व्यापारीले जथाभावी मूल्य लिने र म्याद गुज्रिएका सामग्री बेच्ने समस्या बढेसँगै गरेको अनुगमनका क्रममा बोरीलाई ह्वाइट हेविटलगायत चक्लेटमा अनुचित नाफा लिएको पाएपछि सो मूल्य बराबरको रकम तिराएको जानकारी गराइएको छ ।

बस्नेत नेतृत्व टोलीले ललितपुरमा यही असोज ७ गतेदेखि पटकपटक बजार अनुगमन गरिरहेको छ । यसअघिका अनुगमनमा सो टोलीले लगनखेलदेखि पुल्चोकसम्मका केही पसललाई कूल रु एक लाख ३५ हजार ५०० तिराइसकेको बताएको छ ।

बस्नेतसँगै अनुगमनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, आन्तरिक राजस्व कार्यालय लगनखेल तथा नेपाल पत्रकार महासङ्घ ललितपुर शाखासहित महानगरीय प्रहरी परिसर जावलाखेलका प्रतिनिधि पनि सहभागी रहेका थिए ।