शपथ खाएको बहत्तर घण्टामै मन्त्री हमालको राजीनामा

शपथ खाएको बहत्तर घण्टामै मन्त्री हमालको राजीनामा



प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’मा मन्त्री बनाइएको भन्दै ब्यापक विरोध भएपछि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । शुक्रबार मन्त्री पदको शपथ लिएका हमाल ७२ घण्टामै पदबाट राजीनामा दिन विवश भएका हुन् । चौतर्फी बढेको विरोध र आलोचना खेप्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको राजीनामा मागेका थिए । उनको राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गरेका छन् ।

मन्त्री नियुक्त हुनुअघि नै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका जेठान नाता पर्ने हमाललाई राणाकै आग्रहमा मन्त्री बनाइन लागेको विषयले सञ्चारमाध्यममा चर्चा पाएको थियो । प्रधानन्यायाधीश राणाले व्यक्तिगत तथा सर्वोच्च अदालतको तर्फबाट पनि सो समाचारको खण्डन गराएका थिए । तर, आशंकाबमोजिम मन्त्री बनाइएको भन्दै विरोधले तीव्रता लिएको थियो र , अदालतको सेटिङमा उनको नियुक्ति भएको भनी प्रचारित समाचारको सत्तागठबन्धनका नेता प्रचण्डले समेत खण्डन गरेका थिए । हमाललाई कांग्रेस कोटाबाट मन्त्री बनाइएको उनले जिकिर गरेका थिए । तर, प्रचण्ड र देउवाको तर्कको विरोधिपक्षले सुनुवाइ गरेन र, अन्ततः हमालले पदबाट राजीनामा दिनुपऱ्यो ।

आफ्नो राजीनामामा निवर्तमान मन्त्री हमालले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू म लामो समयदेखि कांग्रेसको विभिन्न पदहरुमा सक्रिया रही बाँके जिल्लाको पार्टी सभापति समेत भएर काम गरेकाले पार्टीले सोही अनुसार मुल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु, हाल विभिन्न संचारमाध्यायमहरुमा संप्रेसित समाचार तथा कानुनविद्हरुले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार संप्रेसित गरेको र यस्ता समाचारले आफ्नो बर्षोसम्म लोकतन्त्र, विधिको शाशन तथा राज्यका निकायहरुबीच शक्ति पृथकिकरणको सिद्धान्तको लागि लडेको लडाईको समेत अवमुल्ययन भएको बोध भएको छ । तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्रीपदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु ।’