सिनेमामा फ्लप, यूटुबमा हिट

सिनेमामा फ्लप, यूटुबमा हिट


  • राजन घिमिरे

चलचित्र खेलेको हिरो, तर खेलेजति ६ वटै फिल्म फ्लप । म त तिम्रै हुँ, तिमीसँग, ड्रिम गर्ल, ब्ल्याक, राम कहानी, पोइ पऱ्यो काले… उनले अभिनय गरेका चलचित्रहरु हुन् । सम्हालिन्छ कहिले मन र सम्झना बिर्सना अड्किएर बसेका चलचित्र हुन् उनका ।

यसरी एकपछि अर्को चलचित्र असफल हुँदा पनि आकाश श्रेष्ठलाई कतै कुनै कत्ति आत्मग्लानी छैन । चलचित्रका दर्शकहरूले मलाई किन पत्याएनन ? मेरो कामगराइ र अभिनयमा के खोट रह्यो ? यसतर्फ उनले चिन्तित भएर कहिल्यै पनि सोचेको पाइँदैन । लाग्छ, चलचित्र क्षेत्र नै उनको गन्तब्य र उद्देश्य होइन । यो विधामा निरन्तरता दिने सोच र उद्देश्यले नै उनि आएका होइनन् ? चलचित्र विधा र कर्मप्रति आकाश सिरियस देखिएका भए उनि आफूमा देखिएको कमजोरी सुधार्नतिर लाग्दथे होला । होइन भने चलचित्रको काम र उपपस्थितिले भन्दा युवतीहरुको कारण मात्र आफू चर्चामा आउँदा र बारम्बार विवादमा पर्दा पनि किन दंग हुन्थे ? एउटा अविवाहित केटो, त्यसमाथि सेलिब्रिटी – चलचित्रको कामभन्दा बारम्बार हिरोइनसंगको सम्बन्धलाई लिएर चर्चामा आउने गर्छन्, भनेपछि बुझ्नुपर्छ कि सिनेमा कर्ममा यिनको योगदान र लगाव कत्तिको रहेछ भनेर ।

सिनेमामा आकाशले गजबको काम गरे, तारिफ गर्नु पर्दछ । उनि यति राम्रा कलाकार हुन् भनेर कतै कहिले पनि सुन्न पाइएन । सुन्न र हेर्न पाइयो त केवल हिरोइनसँगको सम्बन्धबारे । त्यो पनि यूटुबमा मात्र । यूटुबरहरू पनि आकाशको यस्तै यस्तै कुराहरू मात्र खोतल्न र उनलाई यस्तै प्रश्नहरू सोध्नमा नै ब्यस्त रहे ।

यसमा दोष यूटुबरहरूको मात्र पनि छैन । आकाशले कलाकारिता र यो विधाको बारेमा कुनै खँदिलो, वजनदार र संग्रहणीय विचार पोखे पो त्यो राख्नु । यूटुबरहरूलाई जे चाहिन्छ, आकाश पनि त्यसअनुसार नै अगाडि बढीढिरहेका छन् । पछिल्लो समय त आकाश र यूटुबर एकअर्काको पर्याय नै भैसकेका छन् । युटुबरहरूमा पनि आकाशलाई उनको चलचित्रकर्मका बारेमा गहिरिएर बुझाउने, सम्झाउने र उनलाई राम्रो बाटो देखाउने हैसियत पनि नभएको पाइएको छ । डुब्न लागेको आकाशको कलाकारितालाई यूटुबेहरूले सस्तो रूपमा प्रस्तुत गरेर आकाशलाई खेलौना बनाइरहेका छन् । तर, यो कुरा आकाशले कहिले बुझ्ने ?

उनको वरिपरि झ्याम्मिने यूटुबरहरूको गलत सल्लाह र ‘तिमी गजब छौ ‘ भनेर उचालेको भरमा हिँड्दा आकाश मूलधारबाट हराउँदै छन् भने केवल यूटुबतिर मात्र जमिरहेका छन् । उनले बुझ्नुपर्छ कि चलचित्रको सफल हिरो बन्न चलचित्र नै चल्नुपर्छ चलचित्रमा नै जन्म सक्नुपर्छ न कि यूटुबमा दंग परेर टिक्न सकिन्न।

अरू हिरोहरू अनमोल केसी, प्रदीप खड्का, पुष्प खड्का, पल शाहले आज ब्राण्डेट टेलिभिजन विज्ञापनहरू खेलिरहेका छन्, तर त्यस्ता उत्पादनहरूमा आकाश पर्न नसक्नुमा उनको सस्तो उपस्थिति र व्यक्तित्वको वजन नहुनु नै कारक बन्ने गरेको छ । जे पायो त्यही यूटुबहरूमा हरेक दिन अन्तर्वार्ता आउनु अनि युवतीसँगको सम्बन्धबारेकै चर्चा मात्र छाउनु आकाशको अर्को कमजोरी हो । अब उनले आफूलाई यस्ता कुराहरूमा ‘ रिजर्भ ‘ राख्न सक्नुपर्छ । यस्तै हो भने भविष्यमा उनको क्रेज, उपस्थिति र वाहवाही सिनेमा हलहरूमा होइन यूटुबमा मात्र सीमित नरहला भन्न सकिन्न ।