‘पुरातनवादी सोचले अबको एनआरएनए चल्न नसक्ने’

‘पुरातनवादी सोचले अबको एनआरएनए चल्न नसक्ने’


  • सनत आचार्य (युरोप प्रतिनिधि, बेल्जियम)

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रका संयोजक राजन त्रिपाठीले संघले केन्द्रमा तर्जुमा गरी संचालन गर्ने प्रत्येक कार्यक्रमका बारेमा समितिमा ज्यादाभन्दा ज्यादा छलफल हुनुपर्ने आवश्यकता औंल्याउनुभएको छ । संघले कुनै पनि कार्यक्रम निर्माण गर्दा कार्यक्रमको छनौटदेखि कार्यान्वयन हुँदै अनुगमन मूल्याङ्कन पद्धति विकास गर्नुपर्ने र ती पद्धतिहरूले नै संघलाई जीवन्तता दिने तर्क गर्नुभयो ।

घटना र विचारसँगको भेटमा एनआरएन अभियन्ता त्रिपाठीले योजना निर्माणका विभिन्न चरणमा संघ अझै पारदर्शी नभएको औंल्याउँदै यसका लागि आफूले सधैँ पहल गरिरहेको र कालान्तरमा आफूले उठाएका आवाजहरूले संघलाई सही बाटोमा हिँड्न सहयोग पुर्याउने जिकिर गर्नुभयो ।

संघको आसन्न निर्वाचनमा केन्द्रीय कोषाध्यक्ष पदका लागि उम्मेदवारीसमेत दिनुभएका त्रिपाठीले आफूले संघभित्र देखिएका विकारको अन्त्य, समयानुकुल परिवर्तन, स्वार्थरहित समावेशी साझा एनआरएनए निर्माण जस्ता एजेण्डामा हरदम कम्मर कसेर लागिपरेको र लागिरहने प्रतिबद्धता जनाउनुभयो ।

त्रिपाठीले संघभित्र आर्थिक पारदर्शिता, मितव्ययिता, संघको आत्मनिर्भरता, अनुशासन स्थापित गर्न आफूले सक्दो प्रयास गर्ने र यसकै लागि आफूले फरक कोणबाट उम्मेदवारी दिएको उल्लेख गर्नुभयो ।

संघले विगतमा गरेका कतिपय परियोजनाहरूमा सहभागिता र पारदर्शी नभएको आरोप लगाउँदै त्यस्ता परियोजनाहरू आर्थिक रूपले निकै महँगो भएको र यदि समयमै सबै कुराको विश्लेषण गरेर परियोजना कार्यान्वयन गरेको भए त्यस्ता परियोजनाहरू नेपालका अन्य स्थानहरूमा पनि सञ्चालन गर्न सकिने उहाँले औंल्याउनुभयो ।

त्यस्तै, अभियन्ता त्रिपाठीले अबको एनआरएनए पुरातन सोचबाट चल्न नसक्ने भएकोले यस्तो सोच बदलेर दोश्रो पुस्ताका युवा र महिलाहरूलाई जोड्नु आवश्यक रहेको सुझाव दिनुभयो ।

केन्द्रीय समितिको कोषाध्यक्षमा उम्मेदवारीसँगै त्रिपाठीले युरोपका नर्बे, डेनमार्क, बेल्जियम, स्पेन, पोर्चुगल, स्पेन, फ्रान्स, जर्मनीलगायत देशमा गइ प्रत्यक्ष रूपले गैरआवासीय नेपाली संघका पदाधिकारी तथा डेलिगेट्सहरूसँग छलफल तथा अन्तरक्रिया आयोजना गरी आफ्नो प्रचारप्रसार अभियानलाई तीव्रता दिएको उहाँका निर्वाचन–सहयोगी रामजीवी पन्तले जानकारी दिनुभयो ।