नेकपा (एस)बाट मन्त्रिमण्डलमा खतिवडाले नेतृत्व गर्ने, कांग्रेसले पनि मन्त्रीको नाम टुंगो लगायो

नेकपा (एस)बाट मन्त्रिमण्डलमा खतिवडाले नेतृत्व गर्ने, कांग्रेसले पनि मन्त्रीको नाम टुंगो लगायो



नेकपा (एस) ले आफ्नो पार्टीका तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको नाम चयन गरेको छ । विरोध खतिवडाको नेतृत्वमा गठबनधन सरकारमा सहभागी हुन लागेको सो दलले खतिवडाका अलावा प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्री र राज्यमन्त्रीमा भवानी खापुङको नाम तय गरेको छ । खतिवडालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइने तय गरिए पनि बाँकी कुन मन्त्रालय कसलाई दिने भन्ने सो दलले अझै निर्क्योल गरिनसकेको बताइएको छ ।

नेकपा एसको भागमा स्वास्थ्य तथा जनसंख्या, पर्यटन तथा नागरिक उड्डयन, शहरी विकास र श्रम तथा रोजगार मन्त्रालय परेको छ ।

यसैबीच, नेपाली कांग्रेसले पनि आफ्ना थप पाँच जना मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेसका वरिष्ठ नेता रामचद्र पौडेल र कृष्ण सिटौला पक्षले मन्त्रीको नाम सिफारिस गर्न नसक्दा मन्त्रीको सूची तयार हुन सकेको थिएन ।

पौडेल पक्षबाट मिनेन्द्र रिजाल रक्षामन्त्री र दिलेन्द्र बडू कानुन न्याय तथा संसदीय मामिलामन्त्री बन्ने निश्चित भएको बुझिएको छ । यस्तै, सिटौला समूहबाट सिफारिस भएका उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी मिल्ने भएको छ । बताइएअनुसार हाल कानुन मन्त्रालय सम्हालिरहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयमा सारिने भएको छ । यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले उमा रेग्मीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने भएका छन् भने सत्तारुढ गठबन्धनको सहमतिमा नेपालगञ्जका पुराना कांग्रेस नेता गजेन्द्र हमाललाई पनि मन्त्री बनाइने सम्भावना रहेको बुझिएको छ ।

नेपाली कांग्रेसका तर्फबाट गृहमा बालकृष्ण खाण, परराष्ट्रमा नारायण खड्का र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ पहिले नै जिम्मेवारीमा छन् । तर अब स्वास्थ्य मन्त्रालय नेकपा (एस)को भागमा परेकोले उमेश श्रेष्ठको पद धरापमा परेको छ ।

आज ४ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम राखिएको जनाइएको छ ।