‘सहायक-श्रीमान’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा

‘सहायक-श्रीमान’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा



दाजुभाइले एउटै श्रीमती बिहे गर्ने प्रथामा आधारित फिल्म

नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म सहायक श्रीमान (को–हजबेन्ड) अमेरिका र युरोपका प्रतिष्ठित चलचित्र महोत्सवमा छनोट भएको छ । युरोपको जर्मनीस्थित १८औँ टेगेन्सी इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबल, स्लोभाकियाको २९औँ इन्टरनेशनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा सो चलचित्र छनोट भएको हो । दुवै देशमा यही असोज २७ देखि ३१ गतेसम्म हुने चलचित्र महोत्सवमा सो हलभित्र २९ गते प्रदर्शन हुने चलचित्रका निर्देशक गणेश पाण्डेले जानकारी दिए ।

निर्देशक पाण्डेका अनुसार यही असोज १५ देखि सुरु भई कात्तिक ७ गतेसम्म अमेरिकाको वासिङ्टन राज्यस्थित सियाटलमा सञ्चालन हुने तस्बिर साउथ एसियन फिल्म फेस्टिबलमा पनि सो चलचित्र प्रदर्शन हुँदैछ । नेपालको डकुमेन्ट्री फिल्म अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट हुनु नेपाल र नेपालीका लागि पनि गर्वको कुरा भएको उनको भनाइ छ ।

विश्वका विभिन्न देशमा छनोट भइरहेको यो चलचित्र गत वर्ष रसियामा आयोजित १९औँ अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा प्रथम पुरस्कार ‘ग्राण्ड प्रिक्स अवार्ड’ जितेको थियो भने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पनि उत्कृष्ट फिल्म अवार्डसहित एक हजार अमेरिकी डलर जित्न सफल भएको थियो । काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव (किम्फ)मा रिलिज गरिएको ‘सहायक श्रीमान’ बहुपति प्रथामा आधारित छ । पैँतिस मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो ।

घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् । हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ ।