‘फोहोर व्यवस्थापन प्राथमिकताको विषय नै बनेन’

‘फोहोर व्यवस्थापन प्राथमिकताको विषय नै बनेन’



शिक्षा, स्वास्थ्य, ब्यापार, रोजगार एवम् यातायातका हिसाबले झापाको विर्तामोड सुविधासम्पन्न मानिन्छ । भारत तथा तेस्रो मुलुकसँगको ब्यापारिक सम्बन्ध, आवासका लागि सुरक्षित स्थल मानिने बिर्तामोडको साइनो पूर्वी पहाडसँग पनि त्यतिकै महत्वपूर्ण छ । पहाडमा उत्पादित कृृषिजन्य सामग्रीको बिक्री तथा भण्डारण केन्द्र र पहाडको आवश्यकता आपूर्तिस्थलका रूपमा रहेको विर्तामोड पूर्वक्षेत्रकै आकर्षक केन्द्र एवम् हरेक मानिसको रोजाइको स्थल पनि बनिरहेकै छ । पूर्वकै आकर्षक केन्द्रका रूपमा रहेको विर्तामोड सुविधा सम्पन्न भए पनि बढ्दो जनघनत्वसँगै उत्पादित फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न नसक्दा शहर बेलाबेलै दुर्गन्धित बन्छ । शहरमा फैलिएको दुर्गन्धले प्रत्येक मानिसको स्वास्थ्यमा चुनौती पनि थपिरहेको छ । शहर सफा हुन सकेन भने त्यो शहरको सौन्दर्य र त्यहाँ बसोबास गर्नेको स्वास्थ्य अवस्था पनि राम्रो रहन सक्दैन । आवरणको राम्रोले वास्तविकता छेक्दैन । राज्यको पुनःसंरचनापछि स्थानीयतहको निर्वाचन भएको पाँच वर्ष पुग्नै लागेको छ । जनप्रतिनिधि निर्वाचित भएर आएको यो अवधिमा पनि फोहोर व्यवस्थापनको दीर्घकालीन व्यवस्थापन किन हुन सकेन ? यसै विषयमा विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालसँग रेजिना गौतमले गरेको कुराकानीको प्रमुख अंश :

० विर्तामोडमा फोहोर व्यवस्थापनका लागि के पहल हुँदैछ ?
– गत भदौमा राष्ट्रिय राजनीतिमा मान्यताप्राप्त यहाँ क्रियाशील दलका प्रतिनिधिसहितको एउटा समिति बनेको छ । उक्त समितिले ल्याण्डफिल्डका लागि कता-कता जमिन हेर्ने काम गरे पनि ठोस काम हुन सकेको छैन । व्यवस्थापनको सवालमा अहिले यस्तो काम भयो भन्ने बेला अझै भइनसकेको स्वीकार गर्नैपर्छ ।

० समितिले १० दिनभित्र सिफारिस गर्ने भन्ने हल्ला थियो जग्गा सिफारिस भयो त ?
– खासमा भन्ने हो भने यहाँ फोहोर व्यवस्थापन प्राथमिकताको विषय बन्न सकेकै छैन । यो तत्काल समाधान गर्नुपर्ने समस्या हो, तर विसर्जनस्थलको अभावले सडक किनारामा फोहोर थुप्रिँदै आएको छ । केही ठाउँमा ल्याण्डफिलका लागि जग्गा हेरे पनि ती क्षेत्रमा अवरोध देखिएको छ । विर्सजनस्थल उपलब्धताका लागि नगरपालिकाले असोज २ गते १५ दिनको म्याद राखेर सार्वजनिक सूचना पनि गरेका छौँ । खोज अध्ययन तथा सिफारिस समिति नामक उक्त समिति गठन भएपछि एकपटक बैठक बस्यो । नगरमा गठित वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक तथा वडा नंं. ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलासहित अरु जनप्रतिनिधिहरू पनि कांग्रेसको १४औँ महाधिवेशनमा व्यस्त हुनुहुन्थ्यो । अब त्यो सकिएको छ । अब समितिले पनि केही काम पक्कै गर्ला । हामी नगरपालिकाका तर्फबाट पनि प्रयास गरिरहेका छौँ । गठित समितिका सम्बन्धमा यति नै दिन भन्ने समय तोकिएको थिएन ।

० विर्तामोडमा दैनिक कति फोहोर उत्पादन हुन्छ ?
– नियमित फोहोर नउठेका कारण यत्ति नै भन्न सक्ने अवस्था त छैन । फाल्ने ठाउँ अभावमा नियमित फोहोर उठाउन सकिँदैन । विर्तामोड क्षेत्रमा दैनिक कति फोहोर उत्पादन हुन्छ भन्ने चाहिँ अनुमानकै भरमा भन्नुपर्ने हुन्छ । सरदरमा दैनिक १० ट्रयाक्टर जति होला ।

० फोहोर व्यवस्थापनमा स्थानीयवासी कत्तिको सचेत छन् ?
– यो मूल्याङ्कन गर्नका लागि पहिले नगरले नियमित रूपमा फोहोर उठ्ने वातावरण बनाउनु पर्‍यो अनि मात्र भन्न मिल्छ । अहिले त हामीले नै सडकमा फोहोर फाल्ने अवसर दिइरहेका छौँ । दीर्घकालीन फोहोर बिसर्जन गर्ने ठाउँ भएपछि फोहोरलाई ग्रेडिङ कसरी गर्ने ? भन्ने विषयमा जनचेतनाको पनि आवश्यकता छ ।

० मुख्य समस्या ल्याण्डफिल्डको कि फोहोर उठाउने ?
– समस्या ल्याण्डफिल्डको नै हो ।

० फोहोर उठाउनका लागि मात्र काठमाडौंको संस्थासमक्ष पुग्नुपर्ने के बाध्यता थियो र भन्ने गुनासो पनि सुनिन्छ नि !
– फोहोर व्यवस्थापनका क्षेत्रमा गरिएका विभिन्न ठाउँका अभ्यास हेर्दा सरकारी निकायबाट मात्रै भएको काम खासै प्रभावकारी देखिएका छैनन् । त्यसैले पनि निजी क्षेत्रसँगको सहकार्य गरिएको हो । जहाँसम्म काठमाडौंको संस्था भन्ने कुरा छ– हामीले चाहेर मात्र हुँदैन, सार्वजनिक खरिद ऐनअनुसार सूचना सार्वजनिक गरेर उक्त सूचनाअनुसार सूचीकृत हुन आएका संस्थाहरूबाट छान्ने हो । सोहीअनुसार सूचना सार्वजनिक गरेका थियौँ । उक्त सूचनाको म्यादभित्र पाँचवटा संस्था सूचीकृत हुन आए । तीमध्येबाट सबभन्दा कम कष्टमा जसले गर्न सक्छ । त्यसैलाई दिने हो । हामीले पनि त्यही गरेका हौँ ।

० फोहोर बिसर्जन गर्न सक्ने खालको विर्तामोड क्षेत्रमा ऐलानी जमिन कतै छैन ?
– यो नगर यस्तो नगर हो जहाँ अलि ठूलो भू–भाग भएको जंगल र खोला क्षेत्र छैन । ऐलानी जग्गा भएका ठाउँमा बस्ती (सुकुम्बासी बस्ती) छ । बुझाइ फरक भएका कारण पनि फोहोर व्यवस्थापन समस्या समाधान नभएको हो । त्यसमा पनि विर्तामोडको समस्या त अहिलेको मात्र होइन । जहाँ शहरीकरण हुन्छ त्यहाँ अवश्य पनि फोहोर बढ्छ नै । ३०औँ वर्षदेखिको यो समस्या समाधानका लागि राजनीतिक दल, विभिन्न सामाजिक संस्थाले फोहोरलाई मेजर होइन माइनर समस्याका रूपमा हेरेका छन् । फोहोरको दीर्घकालीन व्यवस्थापन मेजर विषय बन्नै सकेन ।

० बिर्तामोडले फोहोरको समस्या कहिलेसम्म भोग्नुपर्ला ?
– सबैको इच्छाशक्ति हुने हो भने तुरुन्तै हुन्छ । समस्याको समाधान गर्ने हामीले नै हो । दीर्घकालीन समाधान गर्न नसक्नु नगरको कमजोरी नै हो । हामी लागिरहेका छौँ । खोजी गरिरहेका छौँ ।

० तपाइसँग अपेक्षा राखेका नगरवासीलाई के भन्नुहुन्छ ?
– विर्तामोड नगरमा जम्मा तीनवटा काम गर्ने सोचेको थिए । पहिलो फोहोर व्यवस्थापन, ग्रिनबेल्ट र सिसी क्यामेरा जडान । ग्रिनबेल्ट सडक विभागले रोक्यो, फोहोर व्यवस्थापन सबैको मेजर विषय बन्न सकेन, बुझाइ माइनर भयो । फोहोर व्यवस्थापनका लागि अघि पनि भने कार्यालयका तर्फबाट पनि पहल भइरहेको छ, जनप्रतिनिधिहरू, राजनीतिक दल, सामाजिक संघ-संस्था सबैसँग अनुरोध गरिरहेका छौँ । फोहोर विर्सजनका लागि ठाउँ उपलब्ध गराएपछि फोहोर उठ्न सकेन भने मात्र मेरो कार्यक्षमतामाथि प्रश्न उठाउनुहोला भनेर यो नगर आउनेवित्तिकै पनि भनेको छु । अहिले पनि त्यही हो ।