परराष्ट्रमन्त्री खड्का र युएन उपमहासचिव खरेबीच भेटघाट

परराष्ट्रमन्त्री खड्का र युएन उपमहासचिव खरेबीच भेटघाट



संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भागलिने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रसङ्घीय शान्तिसैन्य परिचालनमा सहयोगीको भूमिका निर्वाह गर्ने जिम्मेवारी पाउनुभएका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गर्नुभएको छ ।

आज भएको भेटघाटको अवसरमा उहाँहरूबीच भएको वार्ता विश्वका द्वन्द्वग्रस्त क्षेत्रमा परिचालन हुने शान्ति सेना, विश्व शान्ति स्थापनामा शान्ति सेनामा रहेर नेपाली सेनाले गरेको योगदानका साथै नेपाल र राष्ट्रसङ्घबीच सुरक्षाको क्षेत्रमा सहयोगलाई सुदृढ पार्नेमा केन्द्रित रहेको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

आजै मन्त्री खड्काले बहराइनका आफ्ना समकक्षी अब्दुल लतीफ बिन राशिद अल ज्यानीसँग भेट गर्नुभयो । भेटमा उहाँहरूले मानव संसाधन, व्यापार, लगानी र पर्यटनको क्षेत्रमा द्विपक्षीय सहयोगबारे छलफल गर्नुभएको बताइएको छ ।