फलामे रड घोपिएर चितवन निकुञ्जमा पोथी गैँडाको मृत्यु

फलामे रड घोपिएर चितवन निकुञ्जमा पोथी गैँडाको मृत्यु


चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ । सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले फलामको रड घोपिएको अवस्थामा उक्त गैँडा मृत फेला परेको जानकारी दिए । धानबाली खाने क्रममा स्थानीयवासीले रड घोपेपछि मरेको अनुमान गरिएको उल्लेख गर्दै बराललले यस विषयमा थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिए । गैँडाको कोखमा रड घोपिएको कारण भित्री चोट लागेर आइतबार राति सो गैँडा मरेको भए पनि सोमबार मृत भेटिएको उनको भनाइ छ ।

‘हामीले ट्रयापिङ गर्दा जिउंँदै थियो, मध्याह्नतिर झाडीमा मृत फेला पर्‍यो’, उनको भनाइ छ। गैँडा मृत फेला परे पनि गैँडाको खाग र खुर भने सुरक्षित रहेको बरालले बताए ।

चालु आर्थिक वर्ष २०७८/७९ मा मात्रै विभिन्न कारणले आठवटा गैँडा मरिसकेका छन् । राष्ट्रिय गैँडा गणना विसं २०७७ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन् ।