नवलपरासी कांग्रेसमा संस्थापन पक्ष कमजोर !

नवलपरासी कांग्रेसमा संस्थापन पक्ष कमजोर !


  • आरपी उपाध्याय, नवलपरासी

नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनअन्तर्गत पश्चिम नवलपरासीमा भएको पालिका अधिवेशनमा रामचन्द्र पौडेलको समूह बलियो देखिएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समुह जिल्लामा कमजोर भएको चुनाव परिणामले देखाएको छ ।

प्रतिनिधिसभा सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र संविधानसभा सदस्य देवकरण कलवार, विक्रम खनालसमेतले नेतृत्व गरेको दुई गुट छ । पार्टीमा कँडेल देउवा गुटका हुन् भने कलवार र खनाल पौडेल समुहमा रहेका छन् ।

जिल्लाअन्तर्गत सात स्थानीय निकायमध्ये सुनवल र बर्दघाट नगरपालिकामा कलवार र खनाल समुहका उम्मेदवार विजयी भए भने सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकामा पनि कलवार र खनाल समुहकै उम्मेदवार निर्विरोध विजयी भएका छन् ।

त्यस्तै, रामग्राम नगरपालिमा कँडेल समुहका उम्मेदवार विजयी भएका छन् भने सरावल र पाल्हिनन्दन गाउँपालिकामा पनि कँडेल समुहकै उम्मेदवार निर्वाचित भएका हुन् ।

सुनवल नगरपालिकाको सभापति पदमा सोमबहादुर रायमाझी निर्वाचित भएका छन् ।

बर्दघाट नगरपालिका सभापतिमा खनाल कलवार समुहका दामोदर जिसिको प्यानल विजय भएको छ । जिसी १९३ मतसहित विजयी हुँदा कँडेल समुहका शम्भुलाल श्रेष्ठले १३५ मत मात्र गरेका छन् । उपसभापतिमा मन्जु शर्मा चालिसेले १९१ मत र होमराज कुँवरले १८६ मतसहित विजयी भए भने श्रेष्ठ प्यानलका गणेशकुमार पौडेलले १३३ र अर्जुन क्षेत्रीले १४० मत मात्र प्राप्त गरे । सचिवमा कृष्णप्रसाद काफ्लेले १८७ र हेमबहादुर क्षेत्रीले १८५ मत सहित विजयी भएका छन् भने सुस्ता र प्रतापपुर गाउँपालिकामा खनाल समुहको प्यानल निर्विरोध निर्वाचित भएको छ ।

सुस्ता गाउँपालिकाको सभापति पदमा रविन्द्र कुमार बनियाँ निर्विरोध निर्वाचित भएका र उपसभापतिमा नारायण पाण्डे, सचिवमा नारायण भण्डारी र अनिल कुमार महतो र सहसचिवमा विधाता अहिर तथा जितेन्द्र कुमार थारु निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, प्रतापपुर गाउँपालिका सभापतिमा ज्ञानेन्द्र कुमार पंजियार निर्विरोध निर्वाचित भएका छन् । उपसभापतिमा नाथुराम क्षेत्री र राजुप्रसाद अधिकारी, सचिवमा दिनेश उपाध्याय र कमलेश कुमार गुप्ता, सहसचिवमा निवास यादव र राजु धोवि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले बताएको छ ।

यस्तै, रामग्राम नगरपालिका सभापतिमा कँडेल समुहका श्रीधर बस्याल निर्वाचित भएका छन् भने अन्य पदाधिकारीमा समेत सबै पदमा बस्याल प्यानलका उम्मेदवार विजयी भएका छन् ।

त्यस्तै पाल्हिनन्दन गाउँपालिकामामा कंडेल समुहका हरिहर चौहान सभापति सहितको पुरै प्यानल विजयी भएको छ । चौहानले ७७ मत प्राप्त गरि विजयी हुँदा खनाल समुहका गुड्डु गुप्ताले २० मत प्राप्त गरे ।

त्यसरी नै सरावल गाउँपालिकामा पनि कँडेल समुहका विनोद पाण्डेको पुरै प्यानल विजयी भएको छ।