कोषाध्यक्षको सफल कार्यकालपश्चात महेशको उम्मेदवारी उपाध्यक्षमा

कोषाध्यक्षको सफल कार्यकालपश्चात महेशको उम्मेदवारी उपाध्यक्षमा


  • घटना र विचार प्रतिनिधि, काठमाडौं

गैरआवासीय नेपाली संघ (एनआरएनए) का कोषाध्यक्ष महेश श्रेष्ठले आगामी कार्यकालको लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

संघको वित्तिय सुधारमा व्यापक काम गरेर वाहवाही बटुलेका श्रेष्ठको उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णयले सकारात्मक सन्देश प्रवाहित गरेको चर्चा सम्बद्ध क्षेत्रमा शुरु भएको छ।

कोषाध्यक्षको जिम्मेवारीमा कार्यरत रहँदा उनले संघको सचिवालयमार्फत हुने सम्पूर्ण आर्थिक हिसाबकिताब पारदर्शी ढंगले सार्वजनिक गर्दै आएका थिए । हरेक तीन–तीन महिनामा श्रेष्ठले संघको आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै आएका छन्, जसले एनआरएनए वृत्तमा सकारात्मक सन्देश गएको थियो ।

महेश श्रेष्ठको कार्यकालमा भएको हिसाबकिताब अहिले पनि सर्वसाधारणले वेभसाइटमार्फत हेर्न सक्छन् । उनले दुई वर्षअघि कोषाध्यक्ष पदमा उम्मेदवारी दिँदै गर्दा संघको आर्थिक व्यवस्थापनलाई पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेअनुसार उनी आफ्नो वचनमा पक्का देखिए ।

अघिल्लो महाधिवेशनमा आर्थिक अपारदर्शीताको मुद्धा उठेपछि संघको आर्थिक प्रतिवेदन पास हुन नसकेको बेला श्रेष्ठकै पहलमा डेढ वर्षपछि पास भएको थियो । उनले कोषाध्यक्ष निर्वाचित भएपछि डीडीए प्रतिवेदन तयार पारेर पास हुन नसकेको संघको आर्थिक प्रतिवेदनलाई विशेष महाधिवेशनमार्फत पास गराएका थिए । उनको कार्यकालमा संघको आन्तरिक अडिट रिपोर्ट निकै बलियो भएको बुझिएको छ ।

सम्बद्ध सुत्रका अनुसार महेशले हरेक तीन–तीन महिनामा संघको सम्पूर्ण वित्तिय कारोबार सार्वजनिक गर्ने परिपाटी बसालेर आर्थिक प्रतिवेदनलाई चुस्ततुरुस्त बनाएका छन् ।

श्रेष्ठसँग ठूला परियोजनामा काम गरेको अनुभव छ । उनी सालीन र भद्र मानिन्छन्। आर्थिक मामिलामा निकै कडा मानिने श्रेष्ठसँग नेपाल सरकारले गठन गरेको वैदेशिक लगानी समन्वय तथा अनुगमन समितिमा सदस्य भएर काम गरेको अनुभव छ ।

उनी विगत लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय छन् । हाइड्रो, बैंकिङ, रेमिट्यान्स, आधुनिक कृषि, आईटी, इन्सुरेन्स, आयात-निर्यात, भौतिक पूर्वाधार लगायत व्यवसायिक क्षेत्रमा संलग्न श्रेष्ठको अनुभव एनआरएनएका लागि महत्वपूर्ण मानिन्छ ।

‘लामो समय एनआरएनएमा आवद्ध भए । आफ्नो उर्जा र ज्ञान बाँड्न उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । मेरो अभियानमा सबैले मलाई साथ दिनुहुन्छ भन्ने लागेको छ,’ श्रेष्ठले घटना र विचारसँग भने ।

श्रेष्ठको जन्म पर्वतको कुश्मामा भएको थियो । उनले प्रारम्भिकदेखि माध्यमिकस्तरको अध्ययन कुश्माबाटै सकेका थिए । नेपालमा हुँदा उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नाकोत्तर गरेका थिए भने जापानको ग्लोबिस विश्वविद्यालयबाट पनि उनले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । यस्तै उनले सिभिल इन्जिनियरिङमा डिप्लोमा समेत गरेका छन् ।

श्रेष्ठसँग जापानस्थित सिटी एक्सप्रेस मनि ट्रान्सफरको कार्यकारी निर्देशक (सीइओ), तोनान कम्पनीमा अध्यक्ष, सीटी एक्सप्रेस कनेक्टमा निर्देशक, सिटी ट्राभल एण्ड टुरमा निर्देशक, एभरेष्ट इन्टरनेसनल स्कुल जापानको प्रमोटर एवं सल्लाहकार, सीई ह्युमन रिसोर्सेस कम्पनी लिमिटेडको डाइरेक्टर तथा एसबिआई सिटी एक्सप्रेस ग्लोबलको निर्देशक बनेर काम गरेको अनुभव छ ।

एनआरएनएको आसन्न निर्वाचनमा यस्तो छ श्रेष्ठको प्रतिबद्धता पत्र :

‘नेपालीका लागि नेपाली’ भन्ने मुलमन्त्रसहित बेलायतको लण्डनबाट औपचारिक रुपमा सुरु भएर १७ वर्ष अघि स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अहिले १०औँ महाधिवेशन तथा विश्व सम्मेलनको संघारमा छ । गैरआवासीय नेपाली संघभित्र वर्तमान कार्यसमितिले सुरु गरेको संस्था पुनर्संरचनाको कामले मूर्त रुप लिन थालेको छ । गैरआवासीय नेपाली संघको स्थापनापछि विदेशमा रहेका नेपालीहरुले सिकेको ज्ञान सीप र कमाईलाई नेपालको आर्थिक विकासमा लगाउन संस्थागत रुपमा विभिन्न कामहरु भइरहेका छन् । NRNA FOUNDATION, Policy Institute, १० अर्ब पुंजीको Nepal Development Fund जस्ता संरचनाहरुको निर्माण गरि संस्थाको मूल उद्देश्यहरुलाई मूर्तरुप दिने कार्यको सुरुवात गरिएको छ ।

गैरआवासीय नेपाली ऐन, संविधानमा गैरआवासीय नेपाली नागरिकताको ग्यारेन्टी लगायतका मुद्दाहरु उपलब्धि मुलक रहेका छन् । संस्थागत रुपमा गैरआवासीय नेपाली संघको दर्ता, सामूहिक लगानीको प्रारम्भ, एनआरएनए भवन, भिजन २०२० एण्ड वियोण्ड जस्ता संघको लागि दीर्घकालिन महत्व राख्ने विषयहरु संस्थागत भएका छन् । कोरोना भाइरस जस्ता विश्वव्यापी महामारीलगायत नेपालमा हुने प्राकृतिक प्रकोपको बेलामा गैरआवासीय नेपाली संघले विदेश र नेपालमा बस्ने नेपालीहरुको सहयोगार्थ विभिन्न कार्यहरु गर्दै आएको छ ।

गत महाधिवेशनदेखि मैले गैरआवासीय नेपाली संघको कोषाध्यक्षको जिम्मेवारी लिएपछि आर्थिक मितव्ययिता, आर्थिक अनुशासन, पारदर्शिता एवं आर्थिक स्थायित्वमा महत्वपूर्ण सुरुआत भएका छन् । विगत दुई वर्षमा संघभित्र भएका आर्थिक सुधारका कामप्रति सन्तोष गर्न सकिने अवस्थासम्म पुगेको देखिन्छ ।

विगत १५ वर्षअघि देखि म गैरआवासीय नेपाली संघको विभिन्न निकायहरुमा रही काम गरिसकेको एनआरएनएको एउटा जिम्मेवार सदस्यको नाताले यो अभियानलाई थप अगाडि बढाउन नेतृत्व तहमा बसेर काम गर्न सक्छु भन्ने पूर्ण विश्वास लिँदै उपाध्यक्ष पदमा उमेदवारी दिने निर्णय गरेको छु ।

गत महाधिवेशनमा जस्तै आगामी निर्वाचनमा पनि तपाईहरुको साथ, सहयोग, समर्थन र अमूल्य मतदानको लागि हार्दिक अनुरोध गर्दै निम्नानुसारको कार्यहरु पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

१) अन्तर्राष्ट्रिय श्रमबजारमा रहेका नेपाली युवाहरुले सिकेको ज्ञान सीप र पूँजीलाई स्वदेशको विकास र समृद्धिका लागि प्रयोग गर्नका लागि विशेष अभियान सुरु गरी नेपाल सरकारसँगको सहकार्यमा छुट्टै श्रम बैंकको स्थापना गर्न पहल गरिनेछ ।

२) विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीको सामूहिक र व्यक्तिगत लगानीका सम्भावनाको पहिचान गरि स–साना लगानी अभियान सञ्चालन गर्न पहल गरिनेछ । यसका लागि क्षेत्रीय स्तरका फण्डहरुको निर्माणका लागि प्रोत्साहित गरिनेछ ।

३) विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिलाई नेपालमा उपयोग गर्नका लागि सरकार एवं निजी क्षेत्रसँग सहकार्य गरिनेछ ।

४) विभिन्न प्राज्ञिक क्षेत्रमा कार्यरत विज्ञहरुको विज्ञतालाई नेपालको नीति निमार्णमा अधिकतम परिचालन गर्नका लागि सरकारसँग सहकार्य गरिनेछ ।

५) गैरआवासीय नेपाली संघले यसअघि गर्दै आएका सामाजिक तथा परोपकारी कामलाई थप पारदर्शी र प्रभावकारी रुपमा अघि बढाइने छ ।

५) सरकार र प्राइभेट सेक्टरको समन्वयमा वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका नेपालीहरुको अभिलेख तयार गरी नेपाल सरकारको सहकार्यमा रोजगारीका अवसर सिर्जना गर्न सीपमुलक तालिम प्रदान गरिनुका साथै उद्यमशिलताको विकास गरिनेछ ।

६) संघमा स्वतन्त्र, अधिकारसम्पन्न सदस्यता तथा प्रतिनिधि व्यवस्थापन आयोग र न्यायिक आयोग गठन गरी संस्थामा हुने गरेका विवाद तथा असमझदारीहरुलाई पारदर्शी एवं न्यायिक ढंगबाट समाधान गरिनेछ।

७) सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगारीका लागि आवश्यक पहल गर्नेछु । मध्यपूर्व , मलेशिया जस्ता मुलुकका श्रमिकहरुको समस्याहरुलाई समाधान गर्न गम्भीर पहल गरिनेछ ।

८) Membership Benefit Program सञ्चालन गरी संघको आम्दानी बढाइनेछ । साथै संस्थाको आर्थिक अवस्थालाई थप आत्मनिर्भर बनाउनका लागि अन्य श्रोतहरुको पनि पहिचान गरिनेछ ।