क्योकुसिन काइकानकी सुष्मी च्याम्पियन

क्योकुसिन काइकानकी सुष्मी च्याम्पियन



क्योकुसिन काइकानकी सुष्मी श्रेष्ठ तेश्रो राष्ट्रिय आईएफकेके तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा च्याम्पियन बनेकी छन् ।

इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) द्वारा आयोजित प्रतियोगिताअन्तर्गत खुला तौलसमूहको फाइनलमा सुष्मीले आईकेकेएफकी चन्दा भुजेललाई पराजित गर्दै च्याम्पियन बनेकी हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगितको पुरुष ३० केजीमुनि केन्द्रीय डोजो आईएफकेकेका प्रिन्स पुजारी पहिलो भए । उनले फाइनलमा थेचोका रमित महर्जनलाई हराए । ३५ केजीमुनि केन्द्रीय डोजो आईएफकेकेका शेख रिच्बोन्डले गुड स्टारका सुशान्त सापकोटालाई पन्छ्याउदै पहिलो स्थान हात पारे ।

४५ केजीमुनि आईकेए एयरपोर्टका अनमोल माझीले स्वर्ण जिते । उनले फाइनलमा केन्द्रीय डोजो आईएफकेकेका सुरज विकको चुनौती पन्छाए । पुरुष ५० केजीमुनि आईकेए एयरपोर्टका विजय राईले फाइनलमा आईकेए एयरपोर्टकै अभिषेक माझीलाई निराश पार्दै शीर्ष स्थान हात पारे । ६५ केजीमुनि क्योकुसिन कानका सन्तोष विश्वकर्माले स्वर्ण जिते ।

प्रतियोगितामा सातै प्रदेशका १ सय ७० खेलाडीले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।