बाग्मती प्रदेशद्वारा एथलेटिक्स प्रशिक्षक प्रशिक्षण शुरु

बाग्मती प्रदेशद्वारा एथलेटिक्स प्रशिक्षक प्रशिक्षण शुरु



प्रदेश खेलकुद विकास परिषद्, बाग्मती प्रदेशले राष्ट्रिय स्तरको एथलेटिक्स प्रशिक्षक प्रशिक्षण कार्यक्रमको सुरुआत गरेको छ । प्रशिक्षणका सबै कार्यक्रम दशरथ रंगशालाको ट्रयाकमा प्रयोगात्मक र एन्फाको मिडिया सेन्टरमा सैद्धान्तिक कक्षाहरू संचालन हुनेछन् ।

परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीको अध्यक्षतामा संचालन भएको उद्घाटन समारोहमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका थिए । बागमती प्रदेशले आयोजना गरेको एकहप्ते प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रदेशका १३वटै जिल्लाबाट ३२ जना सहभागी रहेका छन् ।

एथलेटिक्स संघका प्रमुख प्रशिक्षक चन्द्र गुरुङको नेतृत्वमा वरिष्ठ प्रशिक्षकहरू कान्ति महतो र धनिराम चौधरीले सहभागीहरूलाई प्रशिक्षण दिनेछन् । प्रशिक्षण कार्यक्रममा नेपाल ओलम्पिक कमिटीको सहकार्यमा एण्टि डोपिङ को समेत कक्षा संचालन गरिनेछ ।

कार्यक्रमका अध्यक्ष सूर्यलाल भण्डारीले प्रशिक्षकको समयानुकूल क्षमता विकास गर्न र सबै जिल्ला खेलकुदको समानुपातिक विकास गर्नको लागि उक्त कार्यक्रम संचालन गरेको बताए । उनले यस्तो कार्यक्रमले ग्रासरुट लेभलमा खेलाडी उत्पादन गर्न र प्रशिक्षणलाई गाउँ–गाउँमा संचालन गर्न मद्दत पुग्ने बताए ।

बागमती प्रदेशले यसै महिनामा एथलेटिक्ससहित अन्य तीन खेलको प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गर्दैछ ।