सत्ता गठबन्धनका दलहरुबीच सरकारलाई ‘छिट्टै पूर्णता दिने’ सहमति !

सत्ता गठबन्धनका दलहरुबीच सरकारलाई ‘छिट्टै पूर्णता दिने’ सहमति !



सत्तारुढ दलीय गठबन्धनको आइतबार बसेको बैठकले सरकारलाई छिट्टै पूर्णता दिने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताबीचको बैठकले मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने, गठबन्धनलाई प्रदेशस्तरसम्म सुदृढ बनाउँदै लैजानेलगायत विषयमा सहमति जनाएको बैठकमा सहभागी नेताले जानकारी दिएका छन् ।

जनता समाजवादी पार्टी नेपालका नेता महिन्द्रराय यादवले बताएअनुसार बैठकमा दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउने, सरकारका कामको समीक्षा, समसामयिक राजनीतिलगायत विषयमा पनि छलफल भएको र छलफल भएका विषयमा आवश्यक निर्णय गर्ने जिम्मा शीर्ष नेतालाई दिने सहमति भएको थियो ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपा सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, नेता महिन्द्रराय यादवलगायत सहभागी थिए ।

file photo